Monday, August 17, 2015

नेपाल नामकरणको आधार

२.१ नेपाल एक प्राचीन मुलुकको रूपमा
विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयसङ्ग्रह नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटिल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् । त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख छिमेक राज्यको रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपालनामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
२.२ नेपाल नामकरणको आधार
नेपाल नाम प्राचीनकालदेखि नै प्रचलित छ । लिच्छविकालमा विस्तारित यो नाम मल्लकालमा काठमाडौँ उपत्यका र वरपरिमात्र सीमित रह्यो । एकीकरणपश्चात् काठमाडौँ राजधानी भयो र नेपालशब्दले आजको नेपाल राष्ट्रलाई नै बुझाउन थाल्यो । नेपाल नामको बारेमा व्युत्पत्ति, विभिन्न भाषा, जाति, वंशावली र प्राचीन ग्रन्थहरूका आधारमा वर्णन गरिएको पाइन्छ :
२.२.१. भाषागत आधार
किराती भाषा
नेपालपौराणिक किराँती शब्द नेपाको साँस्कृतिक रूप हो । नेको अर्थ मध्यपाको अर्थ देशअर्थात् मध्यदेशहुन्छ । मध्यपर्वतीय खण्डमा रहेको नेपामा पछि प्रत्यय लागि नेपाल नाम रहेको हो
तिब्बती भाषा
नेपाल सरहदको उत्तरस्थित तिब्बती भाषामा नेको अर्थ घर र पालको अर्थ ऊन अर्थात ऊन हुने ठाउँको रूपमा यो क्षेत्रलाई लिइएको पाइन्छ । यस क्षेत्रमा भेडापालन बढी भएकाले पाल अर्थात् पशम, पश्मीना (ऊन) प्रशस्त प्राप्त हुनु स्वाभाविक हो । तिब्बतीहरू नेपाललाई वल्वोर मङ्गोलहरू वल्पोभन्छन् । भोटनिवासीहरू हिमालपारीको यस भूभागलाई पालदेशवा वाल्पोपनि भन्दछन् ।
नेवारी भाषा
नेवारहरूले नेपाललाई नेपामात्र भन्ने गर्दथे जो पछि नेपाल हुन गयो । नेभनेको मध्यपाभनेको देशहो । हिमाली भागमा रहेकाले यो नाम सार्थक मानिन्छ । नेपाशब्दमा (मङ्गोल समुदायबाट प्रादुर्भुत असंस्कृत भएकोले प्रत्यय लागि झ्याको झ्याल, पसःको पसल भएझै नेपाको नेपाल भएको अनुमान गरिएको छ ।
लिम्बू भाषा
लिम्बू भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ । पहाडी खण्डमा अत्यन्त ठूलो मैदानी उपत्यका भएकाले यसको नाम नेपाल रहन गएको हो ।
लेप्चा भाषा

पुरानो लेप्चा भाषामा नेको अर्थ पवित्र र पालमाने गुफा हुन्छ । यसरी नेपाले पुण्यभूमि वा धार्मिक स्थल बुझाउँछ । नेपालका तामाङहरूले पनि तीर्थलाई नेभन्दछन् । लामा धर्मग्रन्थमा नेको अर्थ पवित्र स्थानको रूपमा लगाइन्छ । खोटाङमा नेपागाउँ छ ।
संस्कृत भाषा
नीपः (पर्वतपाद) शब्दमा उपसर्ग आल (स्थान) जोडेर नेपाल भएको अनुमान छ । हिमाल र पञ्चाल जस्तै नीपः (फेदी) र आलयः (निवास) बाट पर्वत फेदीको निवासका रूपमा नेपाल नाम रहेको भाषिक व्याख्या पनि गरिएको छ । यजुर्वेदमा प्रयुक्त वैदिक शब्दमा नीपःको अर्थ उपत्यका निवासी हुन्छ । नेपाल शब्दको मूलनीपभनिन्छ । नीपःभनेको अशोक (कदंब) वृक्ष पनि हो । संस्कृतमा शिवको शैव भएझैं नेपालको नैपाल शब्द प्रयोग भेटिन्छ । पारस्परिक आख्यानमा भाषागत शाब्दिक सानिध्य र ध्वन्यात्मक संगति देखिए तापनि उपर्युक्त सन्धि शब्दार्थ ठोस र प्रमाणितचाहिँ भएका छैनन् ।
तामाङ भाषा
यस जातिका एक महापुरूष तिब्बतसँग व्यापार गर्दथे । यी तामाङ लामाकै नाइके बने । तामाङ लामा बोलीमा नेभनेको स्तन हो । पृथ्वीको स्तनस्वरूप पर्वतबाट पालित नेपालबाट व्यापार गर्ने महापुरूष पर्वतकै नाममा चिनिए र पर्वतको नामबाट नै नेपाल भनियो ।
२.२.२ जातिगत आधार
(क) नेपाल महात्म्यअनुसार नेनामको ऋषिले यहाँका जनताको लालन पालन गरेकोले यस देशको नाम नेपाल रहन गएको मानिन्छ ।
(ख) दक्षिण भारतको केरला क्षेत्रमा बस्ने मालबार जाति नेवार, सिम्रौरनगढका संस्थापक नान्यदेवको साथ यहाँ आएका थिए । यिनीहरूको आगमनपश्चात् यहाँको नाम नेपाल रहन गयो । नेपालका प्राचीन शासक गोपालवंशीहरूलाईनिपभनिन्थ्यो । उनीहरूको आलय (घर) लाई नेपाल भनियो । नीपशब्दको उल्लेख वैदिक ग्रन्थमा र पाणिनीको अष्टाध्यायिमा समेत भएको पाइन्छ ।
(ग) भोटमा नेपाललाई Balyal अथवा वाप्लो भनिन्थ्यो भने चिनिया यात्रीले निपोलो भन्ने गर्थे । किराँतहरूको प्रमुख बस्ति भएकाले बौद्ध धर्मग्रन्थहरूमा यहाँको नाम नेवाल”,र अंग्रेजीमा NIPAUL, NEPAUL, NIPAL NEPAL शब्दका साथै भारतीयहरूद्वारा नेपालशब्दको प्रयोग हुने गरेको छ ।

यस्ता विविध आधार र मान्यता भए तापनि वास्तवमा नेपाल नाम यसै कारणले हुन गएको भनी किटान गर्न भने सकिएको छैन । तथापि मौलिक सभ्यता, संस्कृति र कलाले गर्दा नेपालको स्वतन्त्र र अविछिन्न स्वरूप भने कायम रहेको कुरामा भने मतान्तर छैन ।

No comments:

Post a Comment

Pages