Tuesday, August 18, 2015

प्राचीन नेपालको इतिहास

२.४ प्रचीन नेपाल
नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरू भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन । किरातकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन् । यस कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको बारेमा लिच्छविकालीन अभिलेखहरूबाट केही झलक पाइन्छ । ईश्वी संवत्को थालनीका साथै लिच्छविकाल सुरू भए पनि प्रमाणहरूका आधारमा ईश्वीको पाचौँ शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास बढी विश्वासिलो बनेको पाइन्छ ।
२.४.१ गोपालवंशी शासकहरू
नेपालका प्रथम राजाहरू गोपालवंशी थिए । गोपाल भन्नाले गाईपालक समुदाय भन्ने बुझिन्छ । काठमाडौँको पानी बाहिर फ्याँकेपछि उपत्यका बसोबास योग्य भयो । त्यसपछि दक्षिणतर्फका नीप जातिका गोपालहरू यहाँ आकर्षित भए । दक्षिणबाट आएका गोपालहरू र यहाँका प्राचीन नाग जातिबीच भीडन्त हुँदा नाग जातिहरू पराजित भई दक्षिण भेगतर्फ लागे भने नेपाल उपत्यकामा गोपालहरूको वर्चस्व कायम भयो । वंशावलीहरूमा उल्लेखित कथाअनुसार यिनीहरूको एउटा बहुह्री नाम गरेको गाईले सधैँ बाग्मतीको तिरको एक ठाउँमा गएर दूध चढाउने गर्दथिन् । सो स्थल खनी हेर्दा पशुपतिको ज्योर्तिलिङ्ग उत्पन्न भयो । टेकु दोभानमा तपस्या गरी बस्ने नेमुनीले गोपालवंशका भुक्तमान (भूमिगुप्त) लाई राजा बनाए । यिनी गोपालवंशका संस्थापक मात्र नभई नेपालका प्रथम राजा पनि भए । गोपालवंशी आठजना शासकहरू (भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जीनगुप्त) ले करीब ५०५ वर्ष ३ महिना नेपालको शासन गरे ।
२.४.२ महिषपालवंशी राजाहरू
गोपालवंशका जीन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेको कुरा गोपाल राजवंशावलीमा उल्लेख छ तर केही इतिहासकारहरूका अनुसार गाई पाल्नेलाई गोपाल भने झैं भैसी पाल्नेलाई महिषपाल वा आभिर भनिन्थ्यो । तर गोपाल र आभिर एउटै वंशका भएका र पेशागत आधारमा मात्र दुई समुदायमा विभाजित भएको मानिन्छ । कर्कपेट्रिकको वंशावलीमा आभिरहरू राजपूत उत्पत्तिका ग्वालाहरू भएका र सिम्रौनगढ र जनकपुरबीचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो सङ्ख्यामा भैंसी पाल्ने गरेकोमा पछि उपत्यका प्रवेश गरी गोपालवंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ । यस वंशका प्रथम राजा वरसिंह हुन् । गोपालवंशावलीअनुसार यस वंशका तीन शासकहरू वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना र ४१ वर्ष गरी जम्मा १६१ वर्ष २ महिना शासन गरेका थिए ।
२.४.३ किरातवंशी राजाहरू
नेपाल उपत्यकामा राज्य गर्ने लिच्छवी राजवंशभन्दाअगाडि र महिषपाल वा आभिरवंशभन्दापछाडि बीचको समयमा किराँतवंशीय राजखलकको शासन उपत्यकामा रहेको थियो भन्ने विवरण साहित्यिक श्रोतहरूमा फेला पर्दछ । गोपाल वंशावलीमा किरात राजाहरूको सूचीका साथै उनीहरूको मूलस्थान तामाकोशी र सुनकोशीबीचको भूभाग भनी बताइएको छ ।
आभिरवंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किरातवंशी राजा यलुङ वा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए । यो द्वापरयुगको अन्त्य वा कलियुगको प्रारम्भतिर छैठौं शताब्दीमा घटेको घटना मानिन्छ । नेपालमा ऐतिहासिक घटनाक्रमको सुरूवात किराती राजाहरूबाटै भएको मानिन्छ । गोपाल राजवंशावलीमा ३२, भाषा वंशावलीमा २८ र राइट वंशावलीमा २९ राजाहरूको विवरण पाइन्छ । तथापि, किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झण्डै १५०० वर्ष जति शासन चलाएको मानिन्छ । किरातँवंशी मुख्य राजाहरूको नामावली निम्नबमोजिम छ :
यलम्बर
किरात राज्यका संस्थापक यलम्बर ज्यादै वीर थिए । यिनले महिषपाल आभीर वंशका शासक भुवनसिंहलाई हराएर किरात राज्यव्यवस्था स्थापना गरेका थिए । यिनलाई कतैकतै यलुङ्ग पनि भनिएको छ । यिनकै नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको मानिन्छ ।
हुमति
यिनी छैठौँ किराती राजा थिए । यिनलाई गोपाल राजवंशावलीमा हँति भनेर उल्लेख गरिएको छ । डेनियल राइटले छपाएको वंशावलीले यिनलाई महाभारतको युद्धकालका भनी उल्लेख गरेको छ ।
जितेदास्ती
किरात राजा जितेदास्ती अर्का उल्लेखनीय शासक हुन् । यिनलाई भाषा वंशावलीहरूले सातौं क्रममा राखेका छन् भने गोपाल राजवंशावलीले केही पछिल्लो क्रममा उल्लेख गरेको छ । यिनको समयमा गौतम बुद्ध काठमाडौँ आएको चर्चा गरिएको छ । तर गौतम बुद्ध स्वयम् भने उपत्यका आएका थिएनन् । उनका चेला आनन्द मात्र नेपाल उपत्यकामा आएर बौद्ध धर्मको प्रचार गरेका थिए ।
स्थुंको
केही वंशावलीहरूले किराँत राजा स्थुंकोका समयमा मौर्य सम्राट अशोक नेपाल आएको उल्लेख गरेका छन् तर वंशावलीको भनाइ सत्य देखिदैन । अशोक लुम्बिनी, कपिलवस्तुमा मात्र आएका थिए । काठमाडौँ उपत्यकामा आएको कुरा भने प्रमाणित छैन ।

२.४.४ लिच्छविकाल
लिच्छवि शासनको स्थापना
किरातहरूपछि लिच्छवि वंशका राजाहरूले नेपालमा शासन सञ्चालन गरेको पाइन्छ । वंशावली एवं पुराणहरूमा सूर्यवंशी क्षेत्रीयहरूले किरातहरूलाई जितेर नयाँ शासन व्यवस्था कायम गरेको उल्लेख पाइन्छ । गोपाल राजवंशावलीमा अनि सूर्यवंशको प्रभावले नेपालमा किरात राजालाई जितेर लिच्छवि राजवंश चल्यो  भनी लेखिएको छ भने पशुपति पुराणमा पनि किरातहरूलाई बोलिवचनले विश्वासमा पारेर तथा युद्धमा परास्त गरेर वैशालीका स्वामी वा पतिहरूले आफ्नो शासनसत्ता कायम गरेकोभन्ने उल्लेख गरेको पाइन्छ । यसैप्रकारको सन्दर्भ हिमवत्खण्डमा पनि पाइन्छ । जसमा वैशालीका स्वामीहरूले किरातहरूलाई जितेर नेपालमा शासन सुरू गरेको उल्लेख छ । यसप्रकार नेपालमा लिच्छवि शासन व्यवस्थाको थालनी किरातीहरूको शासनपछि लगत्तै सुरू भएको देखापर्दछ । गोपालवंशावलीअनुसार अन्तिम किराती राजा खिगु’, भाषा वंशावलीअनुसार गालिज’, राइट वंशावलीअनुसार किरात राजा गस्तिलाई परास्त गरेर वा धपाएर लिच्छवि राजवंशले नेपालमा शासन सुरू गरेको देखिन्छ ।
लिच्छवि राजवंशको थालनी कुन समयदेखि भयो, यसबारे यकिन गर्न सकिएको छैन । इतिहासविद् बाबुराम आचार्यका अनुसार यहाँको किरातराज्यलाई भङ्ग गरी आफ्नो स्वतन्त्र लिच्छवि राज्य स्थापना गर्न ईस्वी संवत् २५० को आसपासतिर लिच्छविहरू समर्थ भएको देखिन्छ । लिच्छविहरू नेपालमा आउनुभन्दा अगाडि भारतको मुजफ्फरपुर नगरको बसाढ भन्ने बैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासन प्रणालीअनुसार शासन चलाउने गर्दथे । त्यो भागमा राजतन्त्रात्मक शासन प्रणाली सुदृढ हुँदै गएको र राजा अजातशत्रुबाट पराजित भई इसाको प्रथम शताब्दीतिर शरणार्थीका रूपमा लिच्छविहरू नेपाल प्रवेश गरेका थिए । बैशालीमा शासन चलाएका लिच्छविहरूले यहाँका भुरे, टाकुरे, सामन्त राजाहरूलाई हराई शासनमा कब्जा गर्ने महत्वकांक्षा प्रदर्शन गरे । तर लिच्छविहरूको सत्तामा कब्जा त्यति सरल र सहज नभई ठूलो संर्घष र रक्तपातपूर्ण घटनाबाट मात्र सम्भव भएको थियो । तत्कालीन शासक वर्गप्रति जनताको तीव्र असन्तोष व्याप्त भएको बेलामा जनभावनाको अनुकुल लिच्छविहरूले जनसंघर्षको नेतृत्व गरेका थिए । किरातहरू युद्धमा हारेर पूर्वी भेगमा विस्थापित हुन बाध्य भए भने केन्द्रमा लिच्छविहरूको राज्यसत्ता कायम हुन पुग्यो । जनहितलाई बढी स्थान दिने शासनव्यवस्था, सङ्गठित जनजीवन, उन्नत आर्थिक अवस्था, शिक्षाको स्तर, आर्कषक कला आदि कुराले गर्दा लिच्छवि काललाई नेपालको इतिहासमा स्वर्णयुग पनि मानिएको छ । हुन पनि तुलनात्मक दृष्टिले हेर्ने हो भने यो युग सर्वाङ्गिण विकासको युगको रूपमा रहेको छ ।
लिच्छवि शासनकालअन्तर्गत फेला परेको पहिलो प्रमाणित अभिलेख राजा मानदेवको सन् ४६४ को चाँगुको अभिलेख हो जसमा मानदेवभन्दाअगाडिका तीन पुस्ताको विवरण दिइएको छ । यसबाहेक लिच्छवि वंशका आठौं शताब्दीतिरका राजा जयदेवको पशुपति अभिलेखमा लिच्छवि राजाहरूको सुरूदेखिकै वंशावली लेखिएको छ । तर यस वंशावलीमा लिच्छवि राजाहरूको नामको सट्टा क्रमाङ्क मात्र लेखिएको पाइन्छ । यस वंशावलीको आधारमा स्न ४६४ मा चाँगु अभिलेख स्थापना गर्ने राजा मानदेव लिच्छवि वंशका ३९ औँ राजाको रूपमा देखिन्छन् । मानदेवअघिका राजाको सालाखाला शासन २० वर्ष मानेको खण्डमा मानदेवभन्दा ७६० वर्षअघि अर्थात २९६ ईसापूर्वमा लिच्छवि शासन नेपालमा सुरू भएको देखिन्छ ।
प्रसिद्ध लिच्छविकालीन शासकहरू
लिच्छविहरू मूलतः सूर्यवंशी मानिन्छन् । अयोध्याका सूर्यवंशी राजा दशरथका आठौं पुस्तामा लिच्छवि भन्ने व्यक्ति भएको मानिन्छ । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक र आदिपुरूष पनि मानिन्छ ।
सुपुष्प
जयदेव द्वितीयको पशुपति अभिलेखमा उत्कीर्ण वंशावलीमा लिच्छवि नाम गरेका राजापछि तेह्रौं पुस्तामा कामदेवजस्ता राम्रो रूपरङ्ग भएका राजा सुपुष्प भए भनिएको छ । कतिपयले राजा सुपुष्पलाई नै नेपालका प्रथम लिच्छवि राजाको रूपमा मान्ने गरेको पाइन्छ । वंशावलीहरूमा भने सुपुष्पलाई चौथो लिच्छवि राजाको रूपमा देखाइएको छ साथै गोपाल राजवंशावलीमा यिनलाई सुपुष्पदेव, भाषा वंशावलीमा पशुपुष्पवर्मा र राइट वंशावलीमा पशुप्रेखदेव भनेर नामाकरण गरिएको छ । गोपाल राजवंशावलीअनुसार यिनले नेपालमा वर्ण व्यवस्था कायम गर्नुका साथै पशुपतिको देवल बनाउने, त्यसमा छाना हाल्ने, सहरलाई सुन्दर बनाउने, राज्यमा मर्यादा कायम गर्ने तथा न्यायपूर्वक सारा प्रजाहरूको पालना गर्ने काम गरेका थिए । यसबाहेक राइटको वंशावलीमा यी राजाले पशुपति मन्दिरमा सुनको छाना हाल्नुका साथै गजुरसमेत थपेर अग्लो र भव्य तुल्याएको उल्लेख छ । यसैगरी राजा सुपुष्पले भूमि वा जग्गासम्बन्धी मर्यादा बाँधेको कुराको उल्लेख गोपाल राजवंशावलीमै पाइन्छ ।
मानदेव

शासन सञ्चालनमा कुशल मानदेव प्रथमको शासन कालमा आएर नेपाल राज्य अझ व्यवस्थित, विकसित र बलियो बन्यो । शास्त्र जान्ने, जनतालाई आफ्नै परिवार ठान्नेजस्ता राजगुणहरूले युक्त यी राजाले राज्यमा आर्थिक उन्नति र शान्ति व्यवस्थाद्वारा ४१ वर्ष (वि.सं. ५२१५६२ (ई.सं. ४६४५०५)) सम्म आफ्नो शासनमा स्थिरता कायम गरे । आफ्नो राज्यमा मुद्राको व्यवस्थाको अतिरिक्त कला र विद्या क्षेत्रको समेत विकास गरे । प्रथम राजदरबार मानगृहजस्तो भव्य भवन श्री नामांकश्री भोगिनीअङ्कित नेपालको प्रथम मुद्रा यिनकै कालमा तयार भएको थियो । यिनकै समयदेखि प्राचीन नेपालको इतिहास पनि बढी स्पष्ट र भरपर्दो भएकाले प्रथम प्रमाणित महाराजा यिनैलाई मानिन्छ । यिनको राज्य पूर्वमा कोशी, पश्चिममा गण्डकी (कालीगण्डकीपारी मल्लपुरी) र उत्तरमा हिमालयसम्म फैलिएको थियो । अभिलेख र स्वतन्त्र टक आदि प्रामाणिक कुराहरू मानदेवको पालादेखि पाइएका छन् । चाँगुनारायणको मानदेव नृपको अभिलेख वि.सं. ५२१ (ई.सं.४६४) भन्दा मालीगाउँमा प्राप्त जयबर्माको ई.सं. १६३ (संवत् १०७) लाई प्राप्त सर्वप्राचीन प्रामाणिक अभिलेख मानिन्छ । यसरी विक्रमको छैटौँ शताब्दीदेखि नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ ।
मानदेवपछि महीदेव, वसन्तदेव आदि राजा भए । वसन्तदेव बालक भएकाले मन्त्रीहरू रविगुप्त र क्रमलील शक्तिशाली भए । संयुक्त शासन र फेरबदल छिटो भएकाले ई.सं. ५३६ देखि ५४५ सम्म राजनीतिक अस्थिरता व्याप्त भएको पाइन्छ । यसपछि भौमगुप्त, गणदेव, गंगादेव र शिवदेवजस्ता भारदारहरूबीच शक्ति संघर्षजस्तै भयो । शिवदेवले आफ्नो भानिज अंशुवर्माको मद्दतबाट गुप्त प्रभाव बचाए पनि अंशुवर्माको प्रभुत्व बढेर शिवदेव निस्तेज बन्न पुगे । फलस्वरूप अंशुवर्मा राजा भए । मन्त्रीले राज्याधिकार लिएको यो पहिलो घटना थियो ।
अंशुवर्मा
अंशुवर्माको शासनकाल (ई.सं. ६०५६२१) मा नेपालमा खेती, पशुपालन र व्यापार मात्र हैन परराष्ट्र सम्बन्ध र रक्षा व्यवस्थाजस्ता चौतर्फी विकासका कार्यहरू भए । उनले नै कैलाशकुट भवन नामक दरबार अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले तयार गराएका थिए । परराष्ट्र नीति (तिब्बत र चीनसँग) उनकै समयमा सफलतापूर्वक सञ्चालित भए । उनको समयमा भारतमा हर्षवद्र्धन र तिब्बतमा स्रोङचङगम्पोले शक्तिशाली साम्राज्य खडा गरेका हुनाले तिब्बतसँग उनले साँठगाँठ गरे । तिब्बती राजा स्रोङचङगम्पोसँग उनले राजकुमारी भृकुटी (चिजु को विवाह गराएको कुरा चर्चित छ । उनको समयमा प्रजाले धार्मिक उदारता तथा स्वायत्त शासनसमेत प्राप्त गरेका थिए । कला तथा विद्याको समेत विकास भई जनजीवन सुसङ्गठित र उन्नत हुँदै गएको थियो । यी सब उन्नति प्रगतिको कारणबाट नेपालको इतिहासमा उनी नै सर्वप्रथम महाराजाधिराज उपाधिप्राप्त शासक बन्न पुगे । विधिवत् युवराज घोषणा गर्ने चलन पनि सर्वप्रथम यिनकै समयदेखि चल्यो । हिन्दू राजाको रूपमा उनले पशुपतिपादानुगृहीतउपाधिसमेत धारण गरेका थिए । प्रजाहित समाधानतत्पर तथा कथं मे प्रजा सुखिना भवेतजस्ता विशेषतायुक्त ठकुरी वंशका यिनले शब्द विद्या’ (व्याकरण) पनि तयार गरेको बुझिन्छ । वि.सं. ६७८ तिर उनको मृत्यु भयो ।
नरेन्द्रदेव
शासन सञ्चालनमा कुशल नरेन्द्रदेवको कार्यकालमा ईस्वीको सातौँ शताब्दीको मध्यम (ई.सं. ६४५६७९) ताका भोट (तिब्बत र चीन) सँग व्यापारिक सम्बन्ध स्थापना हुनुका अतिरिक्त नेपालका पूर्व र पश्चिम भेकका व्यापारिक बस्ती (द्रङ्ग) हरूको प्रारम्भ हुन गई नेपाल केही समयसम्म अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्यो । नरेन्द्रदेवले महाराजाधिराजको पदवी लिए र परम भट्टारकको प्रसिद्धि पनि पाएका थिए । उनले भद्राधिवास राजदरबार पनि बनाए । उनको आसनमा सिंहको आकृति भएकोले सिंहसासन प्रचलित भएको बुझिन्छ ।
जयदेव द्वितीय
जयदेव द्वितीय (ई.सं. ७१३७२३) कवि हुनुका अतिरिक्त मुलुक विस्तार गर्ने महात्वाकांक्षीसमेत भएकाले लिच्छवि शासकहरूमा उनको क्रियाकलाप पनि उल्लेखनीय रहेको छ । उनी कविराजाका अतिरिक्त परचक्रकाम’ (अर्काको देश जित्ने अभिलाषा) जस्तो उपनामले विभूषित थिए । उनको कविता पशुपति शिलालेखमा अङ्कित छ ।
लिच्छविकालका प्रमुख राजाहरू यस प्रकार थिए :

सुपुष्प, जयदेव प्रथम, हरिदत्त वर्मा, वृषदेव, शंकरदेव, धर्मदेव, मानदेव प्रथम, महिदेव, सन्तदेव, बसन्तदेव, उदयदेव, मानदेव द्वितीय, शिवदेव प्रथम, अंशुवर्मा, नरेन्द्रदेव, जयदेव द्वितीय, शिवदेव द्वितीय, जयदेव तृतीय

No comments:

Post a Comment

Pages