मिति २०८२ मंसिर १० गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयगत प्रश्नोत्तर

 


आर्थिक उदारीकरण

 १.  आर्थिक उदारीकरण भनेको के हो ? आर्थिक उदारीकरणको नीतिबाट नेपालले अधिकतम लाभ लिन नसक्नुका कारण पहिचान गर्नुहोस् ।

अर्थतन्त्रमा सरकारको भूमिका र नियन्त्रणलाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिने र प्रवर्धन गर्दै जाने नीतिलाई आर्थिक उदारीकरण भनिन्छ । आर्थिक उदारीकरणले अर्थतन्त्रमा सरकारको भूमिकालाई नियमन र सहजीकरणमा सीमित राखी निजी क्षेत्रको विकास र सहभागितामार्फत निजी क्षेत्रको भूमिका विस्तार गर्न जोड दिन्छ । यस नीतिले व्यापार, लगानी, वित्त, श्रम, उद्योग, विनिमय, भन्सार प्रणालीलाई खुला र सरल बनाउँदै उत्पादन र वितरण प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी बनाउन जोड दिन्छ ।

आर्थिक उदारीकरणबाट अपेक्षाकृत लाभ लिन नसक्नुका कारण :

आर्थिक उदारीकरणको विश्वव्यापी लहरसँगै सन् १९९० पश्चात् नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिले सुरुवाती वर्षहरूमा सकारात्मक प्रभाव पारेको देखिए पनि राजनीतिक द्वन्द्व, नीतिगत अस्थिरता, ऊर्जा सङ्कट, पूर्वाधारको कमी, प्राकृतिक प्रकोप, निजी क्षेत्रको कमजोर क्षमतालगायतका कारणले अपेक्षाकृत नतिजा ल्याउन सकेको देखिँदैन । आर्थिक उदारीकरणबाट नेपालले अपेक्षाकृत लाभ लिन नसक्नुका कारणलाई देहायबमोजिम थप प्रस्ट पारी उल्लेख गरिएको छ ।

राजनीतिक द्वन्द्व र अस्थिरतासँगै नीतिगत अस्थिरता सिर्जना हुनु,

आर्थिक उदारीकरणको सवालमा राजनीतिक दलहरूबिच साझा बुझाइ निर्माण हुन नसक्नु, 

निजी क्षेत्रप्रतिको आमबुझाइ र दृष्टिकोण सकारात्मक बन्न नसक्नु, 

निजी क्षेत्रको क्षमता विकास हुन नसक्नु, मनोबल कमजोर रहनु,

निजी क्षेत्रको जोखिम मोल्ने क्षमता न्यून रहनु, तुलनात्मक रूपमा बढी सुरक्षित ठानिएको क्षेत्रमा मात्र निजी क्षेत्र आकर्षित हुनु,

लगानी सुरक्षाको प्रत्याभूति नहुँदा स्वदेशी पुँजी पलायन हुनु,

भ्रष्टाचार न्यूनीकरण, कर प्रशासन सुधार, सुशासन प्रवर्धनका पहल अपेक्षाकृत रूपमा प्रभावकारी बन्न नसक्नु,

विभिन्न समूहबाट आर्थिक सहायताको लागि दबाब आउनु तथा चन्दा आतङ्क कायम रहनु, 

उच्च गुणस्तरको सडक, यातायात, विद्युत्, डिजिटल पूर्वाधार, औद्योगिक तथा व्यापारिक पूर्वाधार विकास हुन नसक्दा उत्पादन र वितरण लागत उच्च हुनु र उत्पादित वस्तु तथा सेवा प्रतिस्पर्धी बन्न नसक्नु,

उत्पादन र वितरणका ढाँचामा नवप्रवर्तन ल्याउन नसक्नु,

औद्योगिक विकासका लागि सिपयुक्त जनशक्ति तयार हुन नसक्नुका साथै बौद्धिक पलायन नियन्त्रण नहुनु,

पुरानो प्रविधिमा निर्भरता कायम रहनु, स्वदेशमा नवीन प्रविधि विकास गर्न नसकिनु,

लगानीका लागि आवश्यक पर्ने सहुलियतपूर्ण र दिगो वित्तीय स्रोत सहज रूपमा उपलब्ध हुन नसक्नु,

भूमि, वन तथा वातावरणसम्बन्धी कानुनी र प्रक्रियागत विषय जटिल हुनु, 

आर्थिक कुटनीति प्रभावकारी बन्न नसक्नु,

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी सरकारी खर्च वृद्धि गरी आर्थिक गतिशीलता बढाउन सरकारी प्रयास प्रभावकारी बन्न नसक्नु,

अन्त्यमा अर्थतन्त्रमा निजी क्षेत्रको स्वामित्व र नियन्त्रण स्थापित गर्दै आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने मान्यता नै आर्थिक उदारीकरण हो । आर्थिक उदारीकरणलाई सफल बनाउन सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण हुन्छ । बजार संयन्त्रको संरक्षण र विकासका लागि बलियो कानुनी र नियमनकारी ढाँचा तयार गर्नुका साथै वस्तु तथा सेवाको उत्पादन, वितरण र उपभोगको लागि आवश्यक पर्ने पूर्वाधार संरचनाको विकासमा सरकारले सहजीकरण गर्नु पर्छ । स्वच्छ व्यावसायिक प्रतिस्पर्धा, नवप्रवर्तन, क्षमता विकास, विदेशी लगानीकर्तासँगको सहकार्य र सहयोग जस्ता कार्यमा निजी क्षेत्रले जोड दिनु पर्छ ।


२.  योग्यतातन्त्र भनेको के हो ? निजामती सेवालाई योग्यतातन्त्रमा आधारित बनाउनु पर्नाका कारण चर्चा गर्दै नेपालको निजामती सेवामा योग्यतातन्त्रको अभ्यास कस्तो छ ? लेखाजोखा गर्नुहोस् ।

व्यक्तिको योग्यता, क्षमता, सिप, दक्षता तथा कार्यसम्पादनको आधारमा पद, जिम्मेवारी तथा अवसर प्रदान गर्ने पद्धतिलाई योग्यतातन्त्र भनिन्छ । यस पद्धतिमा नातावाद, कृपावाद, भनसुन, व्यक्तिगत सम्बन्ध, पूर्वाग्रह, प्रभाव, दबाब जस्ता गैरयोग्यतामूलक मापदण्डलाई पद, जिम्मेवारी र अवसर प्रदान गर्ने सन्दर्भमा पूर्ण रूपमा अस्वीकार गरिन्छ । योग्यतातन्त्रलाई सक्षमको जमातले गर्ने शासनको रूपमा समेत बुझिन्छ । विधिसम्मत रूपमा सक्षमता परीक्षण गरी नियुक्त गरिएका व्यक्तिबाट राज्यका नीति कार्यान्वयन गर्दा पारदर्शिता, जवाफदेहिता, समानता जस्ता मूल्य प्रवर्धन भई नागरिक सन्तुष्टिस्तर वृद्धि हुने हुँदा सार्वजनिक प्रशासनमा योग्यतातन्त्रलाई महत्वपूर्ण सिद्धान्तको रूपमा स्वीकार गरिएको पाइन्छ ।

निजामती सेवालाई योग्यतातन्त्रमा आधारित बनाउनु पर्नाका कारण :

देहायका आधार र कारणबाट निजामती सेवालाई योग्यतातन्त्रमा आधारित बनाउन जोड दिइन्छ ।

सार्वजनिक सेवामा योग्य व्यक्ति प्रवेश गराई व्यावसायिकता प्रवर्धन गर्न,

निजामती सेवालाई सक्षम संयन्त्रको रूपमा विकास गरी राज्यको क्षमता वृद्धि गर्न,

निजामती सेवामा राजनीतिक तटस्थताको मान्यता स्थापित गर्न,

कर्मचारी प्रशासनमा निष्पक्षता कायम राख्दै सबैका लागि समान अवसर प्रदान गर्न,

कर्मचारीको मनोबल उच्च बनाई कामप्रति उत्प्रेरित गर्न,

सङ्गठनमा उपलब्ध योग्य मानव स्रोत परिचालनबाट अधिकतम लाभ हासिल गर्न,

सार्वजनिक प्रशासनमा कार्यसम्पादनमुखी संस्कृति विकास गर्न,

कर्मचारीलाई कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न अग्रसर गराउँदै नतिजाप्रतिको जवाफदेहिता वृद्धि गर्न,

कर्मचारीको व्यावसायिकता प्रवर्धन गर्दै वृत्ति विकासका लागि प्रोत्साहित गर्न,

सार्वजनिक प्रशासनमा स्थायित्व कायम गर्न,

सार्वजनिक प्रशासनमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न,

सरकारप्रतिको नागरिक विश्वास कायम राख्न ।

नेपालको निजामती सेवामा योग्यतातन्त्रको मान्यता कार्यान्वयनको लेखाजोखा :

क)  भर्ना र छनोट : निजामती सेवामा योग्य व्यक्ति छनोट गरी सिफारिस गर्ने काम लोक सेवा आयोगबाट हुने गर्छ । आयोगले कर्मचारी भर्ना र छनोटमा योग्यता, निष्पक्षता र स्वच्छतालाई जोड दिएको छ । यद्यपि लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यव्रmमले संज्ञानात्मक योग्यतालाई बढी भार प्रदान गरेको देखिन्छ । व्यक्तिको संज्ञानात्मक पक्षको अलावा अन्य पक्षलाई समेत योग्यताको आधारको रूपमा लिन पाठ्यव्रmममा सुधार गर्नु पर्छ । नेपाल जस्तो विविधतापूर्ण समाजमा सेवा गर्ने कर्मचारीतन्त्रलाई सांस्कृतिक रूपमा सक्षम कर्मचारीतन्त्रको रूपमा विकास गर्न योग्यताका आधार र मापदण्ड पुनर्परिभाषित गर्नुपर्ने दिशामा बहस हुन थालेको छ ।

ख)  पदस्थापना र सरुवा : निजामती कर्मचारीको पदस्थापना र सरुवामा सेवा, समूह सञ्चालन गर्ने मन्त्रालय वा निकायको भूमिका रहने गर्छ । उच्चपदस्थको सरुवा मन्त्रीपरिषद्ले गर्छ । कर्मचारी पदस्थापना र सरुवामा राजनीतिक हस्तक्षेप, व्यक्तिगत प्रभाव र पूर्वाग्रहका कारण उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा पदस्थापना गर्न सकिएको छैन । सरुवालाई व्यवस्थित गर्न सुधारका पहल गरिए तापनि विगतदेखि मौलाएको विकृतिले योग्यतातन्त्रको धज्जी उडाएको छ । कर्मचारी पदस्थापना र सरुवालाई विद्यमान निजामती सेवा ऐन र नियमावलीबमोजिम गर्न सकिएमा मात्रै पनि धेरै हदसम्म योग्यतातन्त्र स्थापित गर्न सकिन्छ । 

ग)  बढुवा : प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट हुने बढुवा योग्यतातन्त्रमा आधारित मानिन्छ । कार्यक्षमताको आधारमा हुने बढुवा तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवामा मूलतः ज्येष्ठ कर्मचारी बढुवा हुने सम्भावना रहन्छ । वस्तुनिष्ठ कार्यसम्पादन मूल्याङ्कनको अभावमा बढुवा र कार्यसम्पादनबिच सम्बन्ध स्थापित गर्न सकिएको छैन । साथै, सेवा समूह र उपसमूह अनुसार बढुवाका अवसर पनि फरक फरक रहेका छन् । बढुवा अवसर योग्यतातन्त्रको मान्यता अनुकूल प्रदान हुने अवस्था देखिँदैन । कार्यकुशलता मापनका लागि वस्तुगत आधारसमेत तयार छैनन् । अपवादबाहेक उच्चपदस्थको बढुवा विवादमा पर्ने गरेका छन् ।

घ)  तलब सुविधा : निजामती कर्मचारीको तलब सुविधालाई हाजिरीसँग आबद्ध गरिएको छ । खाइपाई आएको तलब सुविधा नघट्ने कानुनी प्रत्याभूति गरिएको छ । आधारभूत तलब र कार्यसम्पादनमा आधारित तलब गरी छुट्याएर हेर्न सकिएको छैन । कार्यसम्पादन मूल्याङ्कन वस्तुनिष्ठ नहुने तथा कार्यालयमा हाजिर भएकै आधारमा तलब पाउने अवस्थाले तलब सुविधाको विषय योग्यतातन्त्रमा आधारित बन्न सकेको छैन । सीमित निकायमा लागु गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधामा पनि हाजिरीलाई प्राथमिकता दिने गरिएकाले प्रभावकारी बन्न सकेको छैन । स्पष्ट कार्यविवरण, कार्यसम्पादन सूचक तथा वस्तुनिष्ठ कार्यसम्पादन मूल्याङ्कनका आधारमा तलब घटबढ गर्न सक्ने व्यवस्था गर्न सकिएमा योग्यतातन्त्रको मान्यता स्थापित हुन सक्छ ।

ङ)  कार्यसम्पादन मूल्याङ्कन : सङ्गठनमा कार्यविवरण र कार्यसम्पादन सूचकसहित जिम्मेवारी प्रदान गर्ने अभ्यास कमजोर छ । कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया वस्तुनिष्ठ र वैज्ञानिक हुन नसक्दा कर्मचारीको वास्तविक कार्यसम्पादन स्तर पहिचान हुन सकेको छैन । यसबाट कामचोर र अयोग्य व्यक्तिको कदर हुन सक्ने जोखिम बढेको छ । यस प्रकारको अभ्यासले योग्यतातन्त्रको मान्यतालाई कमजोर बनाउँछ ।

च)  तालिम र वैदेशिक अध्ययन : बढुवा प्रयोजनका लागि सेवाकालीन तालिम अनिवार्य गरिएको छ । सेवाकालीन तालिममा छनोटका निश्चित आधार निर्धारण गरिए पनि कर्मचारीको कार्यसम्पादनस्तर र तालिमबिच सम्बन्ध स्थापित गर्न सकिएको छैन । तालिमको आवश्यकता पहिचान गर्ने तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा तालिम अवसर प्रदान गर्ने काम हुन सकेको छैन । वैदेशिक अध्ययनका अवसरलाई मन्त्रालय तथा निकायगत रूपमा वितरण गर्ने अभ्यास रहेता पनि सीमित व्यक्ति पटक पटक यस्ता अवसरबाट लाभ लिएको देखिन्छ । वैदेशिक अध्ययन र भ्रमणका अवसर प्राप्त गर्न गैरयोग्यतामूलक आधारसमेत निर्धारक हुने गरेका उदाहरण भेटिन्छन् । वैदेशिक अध्ययन र तालिम प्राप्त व्यक्तिको ज्ञान र सिपलाई कार्यसम्पादनमा प्रयोग गर्ने वातावरण बन्न सकेको छैन । वैदेशिक अध्ययन तथा तालिमका स्पष्ट आधार र मापदण्ड तयार गरी लागु गर्ने तथा सरुवा र पदस्थापनालाई योग्यतामा आधारित बनाई वैदेशिक अध्ययन तथा तालिम हासिल गरेकाहरूलाई अवसर दिन सकेमा निजामती सेवामा योग्यतातन्त्रको मान्यतालाई थप बलियो गरी स्थापित गर्न सकिन्छ ।

छ)  प्रोत्साहन तथा पुरस्कार : निजामती कर्मचारीले प्राप्त गर्ने विभूषण तथा पुरस्कार वितरणलाई कार्यसम्पादन मूल्याङ्कनसँग आबद्ध गर्न सकिएको छैन । योग्यता, क्षमता, दक्षता, सिप, कार्यसम्पादन जस्ता विषयभन्दा अन्य गैरयोग्यतामूलक मापदण्डका आधारबाट पुरस्कार र प्रोत्साहन मिल्ने गरेको विगतका उदाहरण भेटाउन सकिन्छ । 

अन्त्यमा योग्यतातन्त्रको मान्यताले सक्षमलाई सार्वजनिक जिम्मेवारीलाई पु¥याइ उच्चस्तरको कार्यसम्पादन नतिजा हासिल गर्न जोड दिन्छ । नेपालको निजामती सेवामा भर्ना र छनोट प्रव्रिmयालाई योग्यतातन्त्रमा आधारित बनाइए तापनि कर्मचारी प्रशासनका अन्य कार्य योग्यतातन्त्रको मान्यता अनुरूप सञ्चालन हुन सकेका छैनन् । निजामती सेवालाई स्वच्छ, सक्षम, नतिजामूलक, उत्तरदायी र व्यावसायिक संयन्त्रको रूपमा स्थापित गर्न योग्यतातन्त्रको मान्यता अनुरूप सञ्चालन गरिनु पर्छ ।


३.  नेपालमा कम्पनी संस्थापनासम्बन्धी कानुनी व्यवस्था उल्लेख गर्दै कम्पनीको दर्ता गर्न इन्कार गर्न सकिने अवस्था जानकारी गराउनुहोस् ।

नेपालमा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कार्यलाई सरल र पारदर्शी बनाउन कम्पनी ऐन, २०६३ जारी भई कार्यान्वयनमा आएको छ । यस ऐनमा कम्पनी संस्थापनासम्बन्धी मुख्य प्रावधान यस प्रकार छन् ।

मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबद्ध भई प्रबन्धपत्रमा उल्लेख भएबमोजिम एक वा एकभन्दा बढी उद्देश्य प्राप्तिका लागि कम्पनी संस्थापना गर्न सक्ने,

पब्लिक कम्पनीको संस्थापनाका लागि कम्तीमा सात जना संस्थापक हुनुपर्ने तर कुनै पब्लिक कम्पनीले अर्को पब्लिक कम्पनी संस्थापना गर्दा सो सङ्ख्या आवश्यक नपर्ने,

मुनाफा वितरण नगर्ने कम्पनीसमेत संस्थापना गर्न सकिने,

सामान्यतया प्राइभेट कम्पनीको सेयरधनीको सङ्ख्या एक सय एकभन्दा बढी हुन नहुने,

पब्लिक कम्पनीको सेयरधनीको सङ्ख्या कम्तीमा सात जना र बढीमा जतिसुकै पनि हुन सक्ने,

केही खास कारोबार गर्न पब्लिक कम्पनी नै हुनुपर्ने,

प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुन सक्ने र पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीमा परिणत हुन सक्ने,

कम्पनी संस्थापनाका लागि आवश्यक कागजातसहित निवेदन दिनुपर्ने र सोको जाँचबुझ गरी कम्पनी दर्ता हुने ।

कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने अवस्था :

देहायको कुनै अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता गर्न इन्कार गर्न सक्छ ।

क)  प्रस्तावित कम्पनीको नाम यस अघि दर्ता भई कायम रहेको कुनै कम्पनीको नाम वा ट्रेडमार्कको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी मिल्दोजुल्दो भएमा,

ख)  प्रस्तावित कम्पनीको नाम वा उद्देश्य,

प्रचलित कानुनविपरीत भएमा वा,

सार्वजनिक हित, नैतिकता, शिष्टाचार आदि कुनै दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय देखिएमा वा,

फौजदारी आशय झल्कने देखिएमा,

ग)  खारेजी वा दामासाहीमा परेको कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी मिल्दोजुल्दो भएमा र त्यसरी खारेजी वा दामासाहीमा परेको अवधि पाँच वर्ष पूरा भइनसकेको भएमा,

घ)  ऐनबमोजिम कम्पनी संस्थापन हुनका लागि आवश्यक सर्त पूरा नगरेमा ।

अन्त्यमा मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन उद्योग, व्यापार र व्यावसायका क्षेत्रमा लगानी प्रवर्धन गर्न आवश्यक छ । यसका लागि कम्पनी संस्थापना, सञ्चालनलगायत कम्पनी प्रशासनसम्बन्धी कार्यलाई सहज र सरल बनाउँदै लैजानु पर्छ ।


४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाले अन्य पालिकासँग साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने विषयको सूची तयार गर्नुहोस् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले लागत न्यूनीकरण, स्रोतसाधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको दृष्टिले उपयुक्त देखिएमा गाउँपालिका तथा नगरपालिकाले साझेदारी वा संयुक्त व्यवस्थापनमा काम गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले गरेको व्यवस्था अनुसार त्यस्ता विषय निम्न छन् ः

बृहत् पूर्वाधार निर्माण, ठुला मेसिन तथा औजार खरिद र व्यवस्थापन,

विपत् व्यवस्थापन,

यातायातको सञ्चालन तथा व्यवस्थापन,

फोहोरमैला विसर्जन स्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन,

दमकल तथा एम्बुलेन्स सेवाको सञ्चालन,

बस्ती विकास तथा भूउपयोग योजना,

पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवर्धन र विकास,

संयुक्त उद्यम,

आधारभूत तथा माध्यमिक तहको प्राविधिक शिक्षाको सञ्चालन, प्रवर्धन र विकास,

स्थानीय बजार व्यवस्थापन र वातावरण संरक्षण,

अन्तरस्थानीय तह भगिनी सम्बन्ध,

असल अभ्यास र अनुभवको आदानप्रदान,

भौतिक तथा आर्थिक सहयोग,

स्थानीय तहले उपयुक्त ठानेका अन्य विषय ।

अन्त्यमा तहगत सरकारबिच कार्य जिम्मेवारी बाँडफाँट गर्दा आयतनको अर्थ लाभ (इकोनिमिज अफ स्केल) लाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । नेपालमा स्थानीय तहबिचको साझेदारी वा संयुक्त व्यवस्थापनमा केही कार्य भए तापनि यस मोडेल अवलम्बन गरी अपेक्षाकृत कार्यसम्पादन गर्न सकिएको छैन । सङ्घ तथा प्रदेश सरकारबाट वित्तीय प्रोत्साहन गर्ने नीति लिन सकिएमा यस्ता प्रयासलाई तीव्र पार्न सकिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा 

Share:

मिति २०८२ मंसिर १० गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर


 १.  जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?

  सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम

  मुख्य एजेन्डा : जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धता कार्यान्वयन ।

–  कोप–३० मा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (९ सदस्यीय) को नेतृत्वको टोली सहभागी भएको । 

–  नेपालद्वारा सम्मेलनमा सगरमाथा संवादको निष्कर्षका साथै जलवायुजन्य हानिनोक्सानी, कार्बन वित्त, पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डालगायत विषय प्रस्तुत गरिएको । जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषय पनि नेपालको प्राथमिक एजेन्डाका रूपमा रहेका । 

जलवायु सहनशीलता, स्वच्छ ऊर्जा र न्यायोचित रूपान्तरणसम्बन्धी नयाँ सहमतिलाई कोप–३० को महत्वपूर्ण उपलब्धि भएको बताइएको ।

–  नेपालले कोप–३० को पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते ‘लिडर समिट’ को आयोजना गरेको । 

–  पहिलो कोप सम्मेलन (कोप १) सन् १९९५ मार्च २८– अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा सम्पन्न भएको थियो । 

–  आगामी कोप ३१ सन् २०२६ मा अस्ट्रेलियाको एडिलेडमा हुने भएको ।

–  कोप २९ अजरबैजानको राजधानी वाकु (सन् २०२४ नोभेम्बर ११–२२) मा सम्पन्न भएको । 


२. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ? 

दक्षिण अफ्रिका 

मिति : सन् २०२५ नोभेम्बर २२–२३ 

अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको ।

सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका । 

जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित । 

जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएको । 

घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश । 


३.  सरकारले मुख्य सचिवमा कसलाई नियुक्त ग¥यो ?

सुमनराज अर्याल 

–  विसं २०८२ मङ्सिर ८ को मन्त्रीपरिषद् बैठकले मङ्सिर १० देखि लागु हुने गरी अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको ।

–  ५८ बर्से उमेर हदका कारण मुख्य सचिव एकनारायण अर्याल ९ मङ्सिरबाट अनिवार्य अवकाश भएका । 


४.  सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ? 

राष्ट्रिय योजना आयोग


५.  विश्व शौचालय दिवस कहिले मनाइन्छ ? 

नोभेम्बर १९ 

–  सन् २०२५ को नारा : सेनिटेसन इन अ चेन्जिङ वल्र्ड । 

–  विश्वका सबै नागरिकलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको । 

–  नेपाल विसं २०७६ असोज १३ गते खुला दिशामुक्त देश घोषणा (दक्षिण एसियामै पहिलो) भएको । 

–  नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की (२०६८ असार १०) तथा सबैभन्दा पछिल्लो अर्थात् ७७ औँ जिल्ला भोजपुर (२०७६ असोज ४) रहेका । 


६.  कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ कसलाई प्रदान गरियो ?

विजय यादव ‘निर्बिज’

–  बज्जिका भाषाको पहिलो उपान्यास ‘प्रतिमा’ का लेखक विजय यादव ‘निर्बिज’ लाई सो अवार्ड प्रदान गरिएको । सर्लाही मलङ्गवामा बज्जिका साहित्य समाज सर्लाहीले सो सम्मान प्रदान गरेकोे ।


७.  बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

४३२ मेगावाट

–  प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा विसं २०८२ मङ्सिर ३ गते बसेको बैठकले चार ठुला जलविद्युत् परियोजना (वेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरूण जलविद्युत् परियोजना, अरूण जलविद्युत् परियोजना र पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना) का सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको ।

–  अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपियाँ लागत स्वीकृत ।

–  ६६२ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मसौदा स्वीकृत ।

बैठकले नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरूण तेस्रो जलविद्युत् परियोजना प्रत्यक्ष सम्झौताको मसौदा स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिने । 

–  आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरिएको । 


८.  एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो ? 

धनकुटा (विसं २०७५)


९.  नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ? 

कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 


१०.  राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ? 

  मङ्सिर १ 

२०८२ (२१ औँ) को नारा : कफी खेती गरौँ, स्वरोजगार बनौँ । 

नेपालमा विसं २०६२ बाट कफी दिवस मनाउन सुरु गरिएको । 

विश्व कफी दिवस अक्टोबर १ मा मनाइने ।

कफीमा पाइने तत्व : क्याफिन ।

कफीको घर भनेर इथियोपियालाई चिनिने ।

कफीका लागि प्रसिद्ध जिल्ला गुल्मी हो । 

विश्वमा सबैभन्दा बढी कफी उत्पादन हुने देश ब्राजिल हो । 


११.  हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ? 

७५३


१२.  विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

५.८ प्रतिशत (सन् २०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको ।)


१३. प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ? 

दोस्रो 

विजेता : भारत 

उपविजेता : नेपाल 

आयोजक राष्ट्र : भारत र श्रीलङ्का 

खेल सञ्चालन : सन् २०२५ नोभेम्बर ११–२३ 

सहभागी राष्ट्र : नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र अमेरिका 

राउन्ड रोविन लिगको आधारमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ९ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा पाकिस्तान र अमेरिकालाई १०÷१० विकेटका साथ पराजित गरेको । नेपालकी विनिता पुनले पाकिस्तानविरुद्धको खेलमा १०७ रनको पारी खेलेकी । 


१४. ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन’ कहिले र कहाँ सम्पन्न भएको हो ? 

विसं २०८२ मङ्सिर ५–६, शैलुङ (दोलखा)

गोरखापत्र संस्थानद्वारा आयोजित सो सम्मेलन समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्पन्न भएको । 

सो सम्मेलनमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले ‘अबको पत्रकारिताले समयसापेक्ष जनजीवनलाई जोड्नु पर्ने साथै साहित्य विकासमा ऐतिहासिक महìवका स्थललाई विकसित हुने वातावरण सिर्जना हुनुपर्ने’ बताउनु भएको । 

सो सम्मेलनमा सुवासचन्द्र पौडेल, लक्ष्मी ढकाल, रञ्जना निरौला, किशोरी पहाडी, लक्की चौधरी, तारा बिएम, अमृता विकलगायतले कविता वाचन गर्नुभएको थियो । 

सम्मेलनमा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर तामाङलगायतको 

उपस्थिति रहेको । 


१५. ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ? 

एञ्जिला 

९८ औँ ओस्कार अवार्ड सन् २०२६ मार्च १५ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुने ।

मिलन चाम्स निर्देशित चलचित्र एञ्जिला राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित रहेको छ ।

९७ औँ ओस्कार अवार्डका लागि शाम्बाला चलचित्र छनोट भएको थियो । 


१६. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

विसं २०८२ साउन २६


१७. युइएफए वुमन्स् युरो २०२५ को उपाधि कसले जित्यो ?

इङ्ग्ल्यान्ड (उपविजेता : स्पेन) 


१८. आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ? 

कोशी प्रदेश (७७.२६ प्रतिशत) 


१९. मिस युनिभर्स २०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ? 

फतिमा बोस (मेक्सिको)

संस्करण : ७४ औँ 

आयोजना : थाइल्यान्ड 

विजेता : फतिमा बोस (मेक्सिको)

फस्र्ट रनरअप : प्रविनर सिंह (थाइल्यान्ड) 

सेकेन्ड रनरअप : स्टेफेनी अवसली (भेनेजुएला) 

थर्ड रनरअप : आतिसा मानालो (फिलिपिन्स) 

फोर्थ रनरअप : ओलिभिया यासे (आइभरि कोस्ट)


२०. पहलमान सिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ जेठ २४–२५, धनगढी (कैलाली)


२१. रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले सार्वजनिक गरियो ? 

सन् २०२५ नोभेम्बर 

अमेरिकाद्वारा युद्ध अन्त्य गराउन विशेष पहल गरिएको । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८ बुँदे शान्ति योजनाको मसौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान रहेको जनाइएको । 

शान्ति योजनाका प्रमुख बुँदा

रुसलाई पुनः जी–८ मा फर्काइने । 

रुसमाथि लगाइएका विभिन्न प्रतिबन्ध चरणबद्ध रूपमा हटाइने । 

रुसले छिमेकी मुलुकमा आक्रमण नगर्ने र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले थप विस्तार नगर्ने । 

अमेरिकाको मध्यस्थतामा रुस–नेटोबिच सुरक्षा तथा तनाव न्यूनीकरणसम्बन्धी संवाद हुने । 

युक्रेनले संविधानमा नेटोमा प्रवेश नगर्ने प्रावधान राख्ने ।

नेटोले भविष्यमा युक्रेनलाई सदस्यता नदिने विषय आफ्नो विधानमा समावेश गर्ने । 

नेटोले युक्रेनमा सेना तैनाथ नगर्ने । 

क्रिमिया, लुहान्स्क र डोनेट्स्कलाई रुसका रूपमा मान्यता दिइने, खेरसन र जापोरिझिया सम्पर्क रेखामा ‘स्थिर’ अवस्थामा रहने । 

रुसले सहमतिबाहेकका अन्य क्षेत्रको नियन्त्रण त्याग्ने । 

सबै पक्ष सहमत भएपछि दुवै पक्षका सेनाले निर्धारित स्थानमा पछाडि हट्नेबित्तिकै युद्धविराम लागु हुने र सम्झौता कार्यान्वयन सुरु हुने कुरा पनि शान्ति योजनामा उल्लेख गरिएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा २८८ जनाको जागिर खुल्यो

 सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ । 

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भएर २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि १८ वर्ष पुरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने छ । 



Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages