‘आमा ज्युँदो हुँदा पहिले हामी हाम्रै भाषामा कुराकानी
गर्थ्यौँ । अहिले एक्लै बोलौँ भने सबैले पागल भयो भन्लान् । आमा खसेपछि बोल्ने
कोही छैनन्,’
व्यास ५ डिहिगाउँमा बस्दै
आएका मुलुककै एक्ला कुसुन्डा भाषी ७० वर्षीय राजामामाले भने, ‘जस्तो सुकै नियम बने पनि हामीलाई खान
दिनपर्यो । मेरो भाषा बोल्ने कोही छैनन् । त्यो पनि बचाउनुपर्यो ।’
कुसुन्डा भाषा बोल्ने मुलुकमै दोस्रो
कोही नहुँदा भाषा मर्ला कि भन्ने चिन्ताले आफूलाई सताएको उनले बताए । आमा
विष्णुमायाको करिब २७ वर्ष पहिले मृत्यु भएपछि भाषा समेत विर्संदै गएको र
संरक्षणका लागि कसैले चासो नदिएको उनले बताए । ३९ वर्षीया श्रीमती इन्द्रमायासमेत
तामाङकी छोरी भएकाले ६ वर्षीया छोरी सिमान्तालाई कुसुन्डा भाषा सिकाउने चाहना भए
पनि एक्लैले सम्भव नभएको उनले बताए । नयाँ संविधानबारे आफूलाई कुनै जानकारी नभएको
उनले बताए । संविधानको प्रारम्भिक मस्यौदा हातैमा राखिदिएपछि उनले आफू लेखपढ गर्न
नजान्ने बताए ।
‘नयाँ संविधान भनेको यो हो भनेर कसैले भनेका छैनन् । त्यसैले
मलाई केही थाहा छैन,’ उनले
मस्यौदा हेर्दै भने, ‘मेरा
लागि त कालो अक्षर भैंसी बराबर । माथिका नाइकेहरूलाई सबै कुरा थाहा होला । मलाई
केही थाहा छैन ।’ आफूले
टेलिभिजनमा समाचार समेत नहेर्ने भएकाले मुलुकका बारेमा आफू अनभिज्ञ रहेको उनले
जानकारी दिए । आफ्नो भाषालाई राज्यले संरक्षण गर्नुपर्छ भन्दै आए पनि राज्यले
वास्तै नगर्दा दु:ख लागेको र संरक्षणका गर्नुपर्यो भन्नसमेत छाडेको उनले बताए । ‘केही वर्ष पहिले विदेशीले बरु सोधखोज गरेर गए,’ उनले भने, ‘तर यहाँका नाइकेहरूलाई हाम्रो भाषाको
केको चिन्ता छ र ? उनीहरू
आउने र जानेमात्र हुन् ।’
नेपालको दाङमा रहेका कुसुन्डाहरूले
आफूलाई करिब दुई वर्ष पहिले घरमा नै आएर भेटेको र भेटमा आफूले भाषा बारे सोध्दा
उनीहरू बेखवर रहेको उनले जानकारी दिए । ‘कुसुन्डा
हुँ भन्नेलाई नै भाषाको वास्ता छैन भने अरूलाई केको वास्ता,’ उनले भने, ‘कुसुन्डा हुँ भन्नेलाई भाषा सिकाउने
मन छ । नाइकेहरूले त्यो मिलाइदिनपर्यो ।’
कुसुन्डा भाषामा चासो राखेर आफूले
सिक्ने प्रयास गरे पनि राजामामाले झर्को मान्ने गरेकाले सिक्न नसकेको श्रीमती
इन्द्रामायाले बताइन् ।
स्रोतः इ कान्तिपुर
No comments:
Post a Comment