२.१ नेपाल एक प्राचीन
मुलुकको रूपमा
विभिन्न धर्मशास्त्र तथा
पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ ।
करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा
पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम
नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड
वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरू भइसकेको तथ्य स्पष्ट
हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न
नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै
राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयसङ्ग्रह नामको बौद्ध
ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका
चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा
नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा
कौटिल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् । त्यस्तै
भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेक राज्य’ को रूपमा गरेका
छन् भने त्यसपछिका प्रायः सबै श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र
राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को
टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो
मुलुक अत्यन्तै प्राचीन समयदेखि नै ‘नेपाल’ नामबाट परिचित रहेको स्पष्ट
हुन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा
मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक
ग्रन्थहरूमा उल्लेख छ ।










