निजामती सेवामा नयाँ योग्यता लागु गर्ने तयारी

तपाईसँग एसएलसीको मात्र प्रमाणपत्र छ र खरिदारसरहको सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने चाँडो गर्नुस, अब एसललसी पढेर खरिदार बन्ने दिन सकिन लागेका छन् । यस्तै अधिकृतको तयारी गर्दै हुनुहुन्छ र स्नातकको मात्र प्रमाणपत्र छ भने अब क्षैक्षिक योग्यता बढाउनुपर्ने अवस्था आउने भएको छ ।
      सरकारले निजामती सेवा प्रवेशमा नयाँ योग्यता लागू गर्ने तयारी गरेसँगै यस्तो अवस्था आएको हो । अब निजामती सेवाको खरिदारसरहको पदका लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह (कक्षा १२), नायब सुब्बाका लागि स्नातक तह र शाखा अधिकृतका लागि स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र चाहिने नयाँ व्यवस्था हुन लागेको छ ।
      सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीका अनुसार नयाँ योग्यता लागू गर्ने विषयमा लेखेर पठाइसकिएको र सम्बन्धित मन्त्रालयबाट राय आएपछि लोकसेवा आयोगमा पठाइने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।
      मुलुकमा पढेलेखेका मानिस अत्यन्तै न्यून रहेका बेला निर्धारण गरिएको योग्यता समय सान्दर्भिक नभएको ठहर गर्दै यसअघि तोकिएको आधारभूत योग्यतालाई परिवर्तन गर्ने अन्तिम तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
      बजारमा जुनसुकै विषयका विषयविज्ञ जति भने पनि पाइने अवस्थामा अहिले भएको न्यूनतम शैक्षिक योग्यता समय सान्दर्भिक छैन, त्यसैले यसलाई संशोधन गर्ने तयारी गरिएको हो, प्रवक्ता अधिकारीले भन्नुभयो । हालको व्यवस्था वि.सं. २०१३ मा निजामती सेवा गठनसँगै लागू भएको हो ।
      नयाँ शैक्षिक योग्यतासम्बन्धी व्यवस्था लागू हुन केही समय लाग्नेछ । अहिले विज्ञापन भइसकेका पदको हकमा नयाँ योग्यता लागू हुन्न तर अब केही समयपछि हामी नयाँ योग्यता लागू गरेरै छाड्छौं, प्रवक्ता अधिकारीले भन्नुभयो ।
      खरिदार पदका लागि अब कम्प्युटर शिक्षा पनि अनिवार्य गर्ने योजना सरकारको छ । सूचनाप्रविधिको यो युगमा अब कम्प्यूटरको आधारभुत ज्ञान नभएको मानिसलाई जागिरमा राखेर राम्रो नतिजा ल्याउन नसकिने निष्कर्षमा सरकार पुगेको मन्त्रालयको भनाइ छ ।
      सरकारी स्वाभित्वका वित्तीय निकाय (बैङ्कहरु) तथा केही सार्वजनिक संस्थाले यसअघि नै नयाँ शैक्षिक योग्यता लागू गरेको जानकारी दिँदै मन्त्रालयले  निजामती सेवा चुस्त र प्रभावकारी बनाउन पनि नयाँ योग्यता लागू गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
      सरकारले लिएको सोच सकारात्मक छ । यसले निजामती सेवालाई सार्प (धारिलो) बनाउन मद्दत गर्छ । यो व्यवस्थाले निजामती सेवामा प्रवेश गर्ने उम्मेदवार राम्रो पढेलेखेको, अध्ययनशील र सूचनाप्रविधिमा योग्य हुनेछन्, वरिष्ठ प्रशासनविद् डा. भीमदेव भट्टले भन्नुभयो ।
      लोकसेवा आयोगका सहसचिव एवं वरिष्ठ मनोवेत्ता खगेन्द्र सुवेदीले नयाँ योग्यता लागू गरौं भनेर लामो समयदेखि आयोगले भन्दै आएको चर्चा गर्दै अहिले लिएको सरकारी कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।

      नयाँ योग्यता लागू गर्ने सरकारी तयारीप्रति केही राजनीतिक दलका नेताले असन्तुष्टि व्यक्त गरे पनि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसलाई जसरी पनि लागू गरेरै छाड्ने अडान लिएको बताइएको छ । 
स्रोतः गोरखापत्र
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages