बर्तमान सन्दर्भमा निजामती सेवाको विशिष्टीकरण

सरकारका नीति, योजना तथा कार्यक्रम तर्जुमामा विज्ञ सल्लाह उपलब्ध गराउने तथा सो को प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्ने पेशाविदहरुको सेवाको रूपमा रहेको स्थायी सरकारको रूपमा चिनिएको निजामती सेवाको आफ्नै स्थायित्व सम्बन्धी व्यवस्था निरन्तर रूपमा स्खलित हुँदै गएको विषय सरोकारवाला निकायहरू बिच चासोको विषय हुन सकिरहेको पाइँदैन । निजामती सेवाको स्थायित्व हरेक सरकारले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रमहरूको गुणस्तरीयता एवं तिनको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा अन्तर निर्भर तथा अन्तर सम्बन्धित रहेको हुन्छ । सरकारका नीति, योजना तथा कार्यक्रमको गुणस्तरीय तर्जुमा तथा सो को प्रभावकारी कार्यान्वयनका सन्दर्भमा हुने गरेको समसामयिक बहस तथा सो को प्रभावकारिता सम्बन्धमा उठेका प्रश्न एवं निजामती सेवाको स्थायित्वमा आएको स्खलनका बिच अन्तर सम्बन्ध रहेको विषय सहजै अनुमान गर्न सकिन्छ ।
नियमत: नेपालको निजामती सेवा विज्ञतामा आधारित स्थायी वेतनधारीहरूको समूह हो । यस सेवाभित्रका जनशक्तिको छनौट, पदस्थापन, सरुवा, बढुवा देखि अवकाश र सो पश्चातका सेवाहरू कानुनद्वारा निर्धारित/निर्देशित हुने विषय यस सेवा सम्बन्धी संवैधानिक व्यवस्थाले उल्लेख गरेको पाइन्छ । साथै निजामती सेवा ऐन तथा नियमावलीद्वारा यस सेवालाई व्यवस्थित गर्ने उद्देश्य राखिएको पाइन्छ । नेपालको संविधानको भाग ३२ धारा २८५ ले सरकारी सेवाको गठन सम्बन्धी व्यवस्था गरेको छ । यस धाराको उपधारा (१) मा नेपाल सरकारले देशको प्रशासन सञ्चालन गर्न सङ्घीय निजामती सेवा र आवश्यकता अनुसार अन्य सङ्घीय सरकारी सेवाहरूको गठन गर्न सक्नेछ । त्यस्ता सेवाहरूको गठन, सञ्चालन र सेवाका सर्त सङ्घीय ऐन बमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ। साथै सोही धाराको उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरूको गठन र सञ्चालन गर्न सक्नेछन् भन्ने व्यवस्था गरेको पाइन्छ । उपरोक्त संवैधानिक व्यवस्थाले निजामती सेवाको महत्त्व स्थापित गर्दै यस सेवालाई स्वतन्त्र, निष्पक्ष तथा व्यवशायीक सेवाका रूपमा स्थापित गरिनु पर्ने विषयलाई आत्मसाथ गरेको पाइन्छ । निजामती सेवाको व्यवशायीक चरित्रको संरक्षण तथा प्रवर्द्धनकालगि यसको स्थायित्व एवं विशिष्टीकरणको अधिक महत्त्व रहन्छ ।
नेपालको संविधानको भाग २३ मा संवैधानिक निकायका रूपमा लोक सेवा आयोगको व्यवस्था गरेको र स्वतन्त्र संवैधानिक निकाय लोक सेवा आयोगको काम कर्तव्य तथा अधिकार अन्तर्गत धारा २४३(१) मा निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ भन्ने व्यवस्था रहेको छ । सोही उपधारालाई थप स्पष्ट पार्दै यस धाराको प्रयोजनका लागि “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरू सबै सेवाको पद सम्झनु पर्छ भन्ने व्यवस्था गरिएको छ।यसको अतिरिक्त धारा २४३ को उपधारा (२) मा निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।
स्पष्टीकरण यस धाराको प्रयोजनका लागि “सङ्गठित संस्था” भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैङ्क, समिति वा सङ्घीय कानुन बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था सम्झनु पर्छ भन्ने व्यवस्था गरी समग्र सरकारी सेवाको पदको छनौट सम्बन्धी व्यवस्था निष्पक्ष र स्वतन्त्र रूपमा हुने संवैधानिक प्रत्याभूति प्रदान गरिएको पाइन्छ ।
विगतको परम्परा एवं कानुनी प्रावधान समेतका आधारमा निजामती सेवाको छनौट सम्बन्धी व्यवस्था स्वतन्त्र र निष्पक्ष रहँदै आएका कारण यस सेवामा सर्वसाधारण नागरिकको आकर्षण रहेको र क्षमतावान् यूवावर्गको प्रवेश हुँदै आएको पाइन्छ । लोक सेवा आयोगको यस प्रकारको स्वतन्त्र र निष्पक्ष छविका कारण नै वर्तमान संविधानले निजामती सेवा बाहेकका अन्य सरकारी सेवा भित्रका पदहरूको लिखित परीक्षा सञ्चालन गर्ने थप जिम्मेवारी प्रदान गरेको सहजै अनुमान गर्न सकिन्छ । उपरोक्त संवैधानिक व्यवस्था तथा सो अन्तरर्गताका सम्बन्धित कानुन एवं विद्यमान परम्परा समेतका आधारमा निजामती सेवाको भर्ना तथा छनौट प्रक्रिया पूर्णतः स्वतन्त्र र निष्पक्ष रहेकाले प्रस्तुत व्यवस्थाबाट निजामती सेवाको स्वतन्त्रता, निष्पक्षता एवं स्थायित्वमा उल्लेख्य योगदान गरेको पाइन्छ ।
निजामती सेवाको भर्ना र छनौट पछिका महत्त्वपूर्ण प्रक्रियाहरू अन्तर्गत नियुक्ति, पदस्थापना, सरुवा तथा बढुवा लगायतका कार्यहरू कानुनद्वारा कार्यकारी निकाय अन्तरगतका विभिन्न तहका सरकारको जिम्मेवारीमा राखिएको छ ।निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गर्ने उद्देश्यले जारी गरिएको निजामती सेवा ऐन २०४९ र सो अन्तरगत वनेको निजामती सेवा नियमावली २०५० नै उपरोक्त कार्यहरू सम्पादन गर्ने प्रमुख कानुनी आधारको रूपमा रहेका छन् ।
बदलिँदो राजनीतिक एवं सामाजिक परिवेश एवं नयाँ संवैधानिक व्यवस्था अनुरूप नयाँ निजामती सेवा सम्बन्धी कानुनको व्यवस्था अझै गर्न सकिएको छैन । सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक सङ्घीय संसद्मा छलफलमा रहेको बर्षौ भई सक्यो तर पनि यसले कहिले निकास पाउने हो अनुमान गर्न सकिने अवस्था देखिँदैन । सङ्घीय निजामती सेवा सम्बन्धी कानुनको यो हालत छ भने प्रदेश र स्थानीय तहका निजामती सेवा सम्बन्धी कानुन कहिले तर्जुमा भई लागू होला भन्ने विषय त कल्पना समेत गर्न नसकिने अवस्था रहेको छ । समयानुकूल कानुनको व्यवस्था गर्न नसक्दा २०४९ सालको निजामती सेवा ऐनलाई पटक पटक संशोधन गरी कामचलाउ व्यवस्था अवलम्बन गरिएको कुरा निजामती सेवा ऐन २०४९ को चार पटकको संशोधन एवं अन्य कानुनको संशोधनको माध्यमबाट यस ऐनका विभिन्न प्रावधानको ६ पटक संशोधन गरी कूल १० पटक संशोधन गरिएबाट पुष्ट्याई हुन्छ । यसै गरी निजामती सेवा नियमावली २०५० समेत १६ पटक संशोधन भएको तथ्यले उपरोक्त भनाइलाई थप पुष्ट्याई गर्दछ ।
उपर्युक्त सन्दर्भमा निजामती सेवाको सञ्चालन तथा व्यवस्थापन अन्तर्गतका भर्ना र छनौट पछिका महत्त्वपूर्ण प्रक्रियाहरू अन्तर्गत नियुक्ति, पदस्थापना, सरुवा तथा बढुवा लगायतका कार्यहरू यिनै पुराना ऐन तथा नियमावलीका आधारमा हुँदै आएका छन् जुन सधैँ अस्थिर, विवादास्पद तथा कतिपय अवस्थामा अपारदर्शी रहेको व्यापक जनगुनासो रहने गरेको छ । तथापि लोक सेवा आयोगको सिफारिस वा कानुनद्वारा निर्धारित प्रक्रियाबाट बढुवाको सिफारिस भई आएका उम्मेदवारहरुमात्र नियुक्तिको दायरामा आउनेहुदा नियुक्ति सम्बन्धी कार्य निर्विवादित नै रहेको पाइन्छ । यसका अतिरिक्त बढुवा सम्बन्धी कानुनी व्यवस्था पटक पटक संशोधन गरी अस्थिर बनाइने गरेको भएता पनि तत्कालीन समयमा कायम कानुनी व्यवस्था अनुरूप हुने बढुवा प्रक्रियामा लोक सेवा आयोगको समेत प्रत्यक्ष संलग्नता रहँदै आएको हुँदा बढुवा सम्बन्धी कानुनी व्यवस्था अस्थिर र विवादित रहेको भएता पनि सो कानुनी प्रावधानको कार्यान्वयन सन्तोष जनक नै रहेको हुँदा उपरोक्त कार्यले निजामती सेवाको स्वच्छता, निष्पक्षता एवं विशिष्टीकरण कायम गर्ने कार्यमा सहयोग नै गरेको पाइन्छ ।
समय समयमा हुने विभिन्न सेवा तथा समूहको खारेजी तथा कतिपय अवस्थामा नयाँ सेवा समूह गठन गर्ने कार्यले कुनै निश्चित सेवा वा समूह भित्रका कर्मचारीको बढुवामा अनुकूल तथा अरूकोमा प्रतिकूल प्रभाव पर्ने तथा पार्ने प्रयास हुने गरेको पाइन्छ । वर्तमान सङ्घीय निजामती सेवा विधेयक उपरको छलफलका क्रममा शिक्षा सेवा खारेज गरी प्रशासन सेवामा समावेश गर्ने गरी भएका प्रयास तथा छलफललाई पछिल्लो उदाहरणका रूपमा लिन सकिन्छ ।
नेपालको निजामती सेवा सञ्चालनको कार्यान्वयन तहको विकृति एवं विसङ्गति विषेशत: पदस्थापना तथा सरुवाका प्रक्रियाबाट हुने गरेको आम बुझाइ तथा अनुभव रहेको पाइन्छ र यस प्रकारको बुझाइलाई पुष्ट्याई गर्ने बलिया आधारहरू रहेको पाइन्छ । व्यक्तिको योग्यता, क्षमता, अनुभव तथा प्राथमिकताको साथै संस्थाको आवश्यकताका आधारमा पदस्थापना तथा सरुवा प्रणाली स्थापना तथा प्रचलन गर्न सकिएमा मात्र निजामती सेवाको स्वतन्त्रता, निष्पक्षता, दक्षता तथा विशिष्टता कायम गर्न सकिने यथार्थ नकार्न सकिँदैन । तर कर्मचारीको पदस्थापना तथा सरुवा व्यक्तिको पहूच, निहित स्वार्थ तथा दूषित मनसायबाट प्रभावित वा सञ्चालित हुँदा व्यक्तिको योग्यता, क्षमता तथा अनुभवको समुचित उपयोग हुन सक्दैन जसले समग्र निजामती सेवाको स्वतन्त्रता, निष्पक्षता, दक्षता तथा विशिष्टतामा निरन्तर स्खलन हुन गै यस सेवाप्रतिको आस्था र विश्वासको साथै सेवाले वैधता समेत गुमाउँदै जाने अवस्था सृजना हुन्छ जुन आजको यथार्थता पनि हो ।
कर्मचारीको पदस्थापना सम्बन्धमा निजामती सेवा ऐन को दफा १५ ले निजामती कर्मचारीलाई पदस्थापन गर्दा निजको शैक्षिक योग्यता तालिम र अनुभवको आधारमा गरिने व्यवस्था गरेको छ । साथै निजामती सेवा नियमावलीको नियम ३४ (क) ले ऐनको दफा ७ अनुसार खुल्ला तथा बढुवाद्वारा सिफास भएका निजामती कर्मचारीको सुरु पदस्थापना गर्दा त्यस्ता कर्मचारीलाई रिक्त पदहरूको जानकारी गराई निजहरूको रुचि तथा चाहनाको प्राथमिकताक्रम कायम गर्न लगाई सिफारिस योग्यताक्रम अनुसार रोजेको स्थानमा पदस्थापन गरिनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । उपरोक्त कानुनी प्रावधानहरू राम्रै रहेको भएता पनि यसको कार्यान्वयनको इतिहास सन्तोषजनक पाइँदैन । विगत केही वर्ष देखि नयाँ पदस्थापन गर्दा देखाइएका रिक्त पदहरूमा कर्मचारी सिफारिस भई आएको मर्यादाक्रमका आधारमा छनौटको अवसर प्रदान गरी सोही आधारमा पदस्थापना गर्ने प्रक्रिया प्रारम्भ भएको विषय प्रशंसनीय भएता पनि रिक्त पदको यथार्थ विवरण उपलब्ध नगराइने र यदाकदा उपरोक्त प्रक्रियाको पूर्ण पालना समेत नहुने गरेको समेत पाइन्छ । रिक्त पदको यथार्थ विवरण उपलब्ध गराइ प्रस्तुत कानुनी प्रक्रियाको पूर्ण पालना हुन सके यसले निजामती सेवाको स्वतन्त्रता, निष्पक्षता, दक्षता तथा विशिष्टता कायम गर्न थप सहयोग पुग्ने देखिन्छ ।
यसैगरी सरुवा सम्बन्धमा निजामती सेवा ऐन २०४९ को परिच्छेद ४ अन्तरगत दफा १८ को उपदफा (३) मा विशेषज्ञताको सेवा लिनुपर्ने पदमा रहेको र स्थानीय स्तरमा अन्यत्र कतै पनि निजको सेवा, समूह वा उप-समूहसम्बन्धी पद तथा कार्यालय नभएको निजामती कर्मचारी र विशिष्ट श्रेणी तथा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाहेक अन्य निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतया: वर्षमा एक पटक तोकिएबमोजिमको समय तालिकाअनुसार तोकिए बमोजिमको सरुवा पत्रमा अवधि तोकी सरुवा गर्नुपर्ने व्यवस्था गरेको छ । सरुवा गर्दा देहाय बमोजिम गर्ने पर्ने प्रावधान रहेको छ ।(क) “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई “घ” वा “ग” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि । (ख) “ग” वा “घ” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई “ख” वा “क” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि ।यसै गरी निजामती सेवा नियमावलीको नियम ३६ ले सरुवाको समय तालिकाको व्यवस्था गरेको र सोही समय तालिका अनुरूप सरुवा गर्नुपर्ने र सरुवा गर्ने निकायले सरुवाका आधारहरू तय गरी सोही आधारमा सरुवा गर्नुपर्ने व्यवस्था गरेको छ ।
उपरोक्त कानुनी व्यवस्था स्वयममा अस्पष्ट र अधुरो रहेको देखिन्छ । प्रथमतः विद्यमान भौगोलिक क्षेत्रको विभाजन वर्तमानको यातायात, सञ्चार एवं भौतिक विकास लगायतका सेवा सुविधाको उपलब्धतालाई मध्यनजर गरी अद्यावधिक गरिएको फाइँदैन । त्यसै गरी क वर्ग र ख वर्ग तथा ग वर्ग र घ वर्गमा व्यापक विविधता छ । यस्तो विविधता भएको क्षेत्रका सम्बन्धमा क वा ख वर्ग र ग वा घ वर्ग भन्ने विषय अत्यन्तै अमिल्दो र अव्यवहारिक देखिन्छ । यसभन्दा पनि महत्त्वपूर्ण विषय चाहिँ हालसम्म कुनै पनि सरुवामा ऐनको व्यवस्था बमोजिम वर्ग मिलाएर सरुवा गर्ने गरिएको पाइँदैन । सुगममा कार्यरत कर्मचारी पुरा सेवा अवधिभर सुगममा मात्रै रहेको र कतिपय पहूच नभएका र अन्य अनैतिक कार्य नगर्ने कर्मचारी सधैँ दुर्गम क्षेत्रमा कार्यरत रहनु परेको वा सरुवा हुँदा पनि दुर्गम क्षेत्रबाट दुर्गम क्षेत्रमानै सरुवा हुने गरेको पाइन्छ । यसका साथै निजामती सेवा नियमावलीमा भएको व्यवस्था अनुसारको सरुवा गर्ने निकायले पारदर्शी र वैज्ञानिक सरुवाको मापदण्ड निर्माण गरेको पाइँदैन । प्रत्येक सरुवा निर्णय गर्नु पूर्व स्वेच्छाचारी तथा अपारदर्शी ढङ्गबाट देखावटी मापदण्ड निर्माण गरी कानुनको आँखामा छारो हाल्ने गरिएको पाइन्छ ।
यस प्रकारका छिद्रहरू तयार गरी निहित व्यक्तिहरूको गैर कानुनी इच्छा पुरा गर्ने गरी सरुवाका प्रावधानहरू दुरुपयोग हुने गरेको आम कर्मचारीको बुझाइ रहेको छ । पेसागत सङ्गठनका रूपमा दर्ता भएका तर राजनैतिक पार्टीका भातृसंगठन जसरी क्रियाशील रहेका निजामती सेवाका सङ्घ/सङ्गठनको अर्शिवाद प्राप्त वा तिनका चल्तापुर्जा नेताहरूलाई खुसी पार्न सक्नेले रोजेको, अतिरिक्त आम्दानी हुने वा सुगम स्थानमा सरुवा हुने गरेको बुझाइ कर्मचारी वृत्तमा व्याप्त छ ।
कर्मचारी व्यवस्थापनको अर्को महत्त्वपूर्ण कार्य अवकाश सम्बन्धी व्यवस्था पनि समय समयमा अपारदर्शी एवं कुनै तार्किक एवं वैज्ञानिक आधार विना संशोधन तथा परिवर्तन हुने गरेको पाइन्छ । वस्तुनिष्ठ एवं वैज्ञानिक आधारमा विद्यमान कानुनी व्यवस्थामा आवधिक परिमार्जन हुने कुरा स्वाभाविक भएता पनि व्यवहारमा निहित स्वार्थ प्रेरित भएर व्यक्तिगत लाभहानीका आधारमा समेत परिवर्तन गर्ने गरिएको छ । पछिल्लो समय अवकाशको उमेर हद सम्बन्धमा भएको चलखेल एवं यस सम्बन्धमा निचोडमा पुग्न देखिएको कठिनाइ यसको ज्वलन्त उदाहरण हो । सेवा निवृत्त भएपश्चात् प्राप्त हुने सेवा सुविधा एवं सो को भुक्तानीका प्रक्रियामा समेतमा पूर्ण स्थिरता कायम हुन सकेको पाइँदैन । यसका साथै सेवा निवृत्ति पश्चात् पालना गर्नुपर्ने आचरण एवं बाह्य सेवा स्वीकार गर्ने सम्बन्धी मापदण्ड स्पष्ट हुन नसक्दा नेपाल सरकारको उच्च पदबाट निवृत्त हुने बित्तिकै कुनै अन्तर्राष्ट्रिय संस्था वा निजी सङ्घ संस्थाको नोकरी वा विज्ञ सेवाका नाममा विभिन्न अध्ययन अनुसन्धान सम्बन्धी कार्यमा सहभागी हुँदा त्याहा निहित स्वार्थ्यको द्वन्द्व हुनसक्ने अवस्था विद्यमान देखिन्छ । यस प्रकारका विकृति एवं सो सम्बन्धी बहस व्याप्त रहेको हामी माझ छर्लङ्ग छ ।
निजामती सेवा भित्र विशिष्टीकरणलाई प्रवर्द्धन गर्न विद्यमान निजामती सेवा ऐन भित्र सेवा समूहको विभाजनका अतिरिक्त स्वास्थ्य सेवा, संसद् सेवा लगायतका विभिन्न सरकारी सेवाको प्रबन्ध गरिएको छ । निजामती सेवा ऐनमा व्यवस्था गरी नेपाल सरकारले तपसिल बमोजिम निजामती सेवा गठन गरेको छ ।
(क) नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
(ख) नेपाल इन्जिनियरिङ सेवा
(ग) नेपाल कृषि सेवा
(घ) नेपाल न्याय सेवा
(ङ) नेपाल परराष्ट्र सेवा
(च) नेपाल प्रशासन सेवा
(छ) नेपाल लेखा परीक्षण सेवा
(ज) नेपाल वन सेवा
(झ) नेपाल विविध सेवा
(ञ) नेपाल शिक्षा सेवा
उपरोक्त सेवा भित्र पनि कामको विशिष्टता तथा आवश्यकताका आधारमा विभिन्न समूह तथा उप समूहको व्यवस्था गरिएको छ । निजामती सेवा नियमावलीको नियम ८ सँग सम्बन्धित अनुसूची ३ मा विभिन्न समूह तथा उपसमूहमा विभाजन गरिएको छ । यस अन्तरगत प्रशासन सेवा भित्र सामान्य प्रशासन, लेखा र राजश्व गरी ३ समूहमा विभाजन गरिएको छ । त्यसै गरी नेपाल वन सेवा, नेपाल इन्जिनियरिङ सेवा लगायतका सेवा अन्तरगत विभिन्न समूह तथा उपसमूह गठन गरिएको पाइन्छ ।
यस प्रकारले निजामती सेवा भित्र सेवा समूह गठन गरी कार्य विशिष्टीकरण गर्ने प्रयास गरिएको र यसबाट प्राविधिक सेवा तर्फ कार्यगत विशिष्टीकरण केही हदसम्म लागू भएको पाइएता पनि प्रशासन सेवाको कार्यक्षेत्र व्यापक एवं विविध रहेको हुँदा प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन तर्फका कर्मचारीको कार्य विशिष्टीकरण हुन सकेको छैन । भूमि प्रशासन, गृह प्रशासन, हुलाक प्रशासन, उद्योग तथा वाणिज्य व्यवस्थापन, सामान्य प्रशासन देखि सिँचाई, स्वास्थ्य र शिक्षा व्यवस्थापन सम्मका कार्य एउटै कर्मचारीबाट गराउने र एक निकायबाट बारम्बार अर्को निकायमा सरुवा गर्ने वा हुने व्यवस्थाले व्यक्तिमा सम्बन्धित विषयको उचित ज्ञान वा विज्ञता विकास हुन सकिरहेको छैन जसको प्रत्यक्ष असर ती कर्मचारीले प्रवाह गर्ने सेवामा पर्ने गरेको छ ।
समस्या समाधानका उपायहरू
यस प्रकार माथि उल्लिखित तथ्यहरूबाट नेपालको निजामती सेवामा केही नीतिगत समस्या रहेको देखिन्छ भने कतिपय कार्यान्वयन तहका समस्या रहेको देखिन्छ । नीतिगत तहमा हरेक समस्या नीतिगत तहमै सम्बोधन गरिनु पर्दछ । यसका अतिरिक्त कार्यान्वयन तहमा रहेका कतिपय समस्याहरू नीतिगत तहमा आवश्यक सुधार गरी सम्बोधन गरिनु पर्दछ भने कतिपय विषय व्यवहार सुधार तथा आत्म अनुशासन मार्फत सम्बोधन गर्न सकिन्छ । यसर्थ उचित कानुनी व्यवस्था प्रबन्ध एवं सो को इमानदार कार्यान्वयनको अवस्थालाई प्रवर्द्धन गर्दै यस भित्र रहेका कमीकमजोरीहरूलाई सम्बोधन तथा परिमार्जन गर्न जरुरी छ। मूलतः समस्या समाधानका उपायहरूलाई तपसिल बमोजिम उल्लेख गर्त सकिन्छ ।
१. नीतिगत तहमा गरिनुपर्ने सुधारहरू
सङ्घीय शासन प्रणाली अवलम्बन गरिएसँगै सोही अनुरूपको निजामती सेवा ऐन तथा नियमावली तर्जुमा गरी लागू गर्ने पर्नेमा लामो समय देखि सङ्घीय व्यवस्थापिका संसद्मा पेस भएको सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक स्वीकृत हुन सकिरहेको छैन ।यसर्थ सङ्घीय निजामती सेवा सम्बन्धी कानुन तर्जुमाको चरणमा रहेको र यसै कानुन बमोजिम प्रदेश र स्थानीय तहमा तिनका निजामती सेवा सम्बन्धी कानुन तर्जुमा गरिने हुँदा यो समय निजामती सेवा सम्बन्धी नीतिगत सुधारकालागि उपयुक्त समय हो । यसै सन्दर्भमा निजामती सेवामा स्वतन्त्रता, निष्पक्षता, दक्षता तथा विशिष्टता कायम गर्न तपसिल बमोजिम नीतिगत सुधारहरू गर्नुपर्ने देखिन्छ:
१. प्रशासन सेवाका कर्मचारीहरूले नेतृत्व लिने तथा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकारका निकायहरूलाई ती निकायहरूको कार्य प्रकृतिमा रहेको समानताका आधारमा तपसिल बमोजिमको समूह निर्माण गर्ने :
(क) सम्पूर्ण संवैधानिक निकायहरू- संवैधानिक समूह
(ख) प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय (सामान्य प्रशासन समेत) र राष्ट्रिय सतर्कता केन्द्र- सामान्य प्रशासन समूह
(ग) गृह मन्त्रालय, रक्षा मन्त्रालय -शान्ति सुरक्षा समूह
(घ) अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय- आर्थिक मामिला समूह
(ङ) शिक्षा तथा विज्ञान मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- सामाजिक सेवा समूह
(च) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सिँचाई तथा ऊर्जा मन्त्रालय – पूर्वाधार समूह
(छ) कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भूमिसुधार तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय – उत्पादनमूलक समूह
(ज) सङ्घीय व्यवस्था मन्त्रालय तथा सङ्घीय मामिला सम्बन्धी निकायहरू – सङ्घीय मामिला समूह
२. उपरोक्त समूहमा समायोजन गर्दा वरिष्ठताको मर्यादाक्रम अनुसार सम्बन्धित कर्मचारीको छनौटको प्राथमिकताका आधारमा र बढुवा वा नयाँ पदपूर्ति भई आउने कर्मचारी सिफारिसको मर्यादाक्रम अनुसार सम्बन्धित कर्मचारीको छनौटको प्राथमिकताका आधारमा समूह तथा मन्त्रालय तोकी पदस्थापना गर्ने ।
३. सम्बन्धित समूहमा समूहकृत भई सकेपश्चात् सो पदमा सोही समूह अन्तरर्गत मात्र सरुवा हुने र अन्तरमन्त्रालय सरुवा सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालय सरुवा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय (सामान्य प्रशासन समेत) गर्ने ।
४. वढुवाकालागि प्रशासन सेवा भित्रका सबै समूहको रिक्त स्थान एकमुष्ट गणना गरी सबै समूहले बढुवामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्ने।
५. सामान्य अवस्था (कुनै कारबाही गर्नुपर्ने अवस्था र स्वास्थ्य सम्बन्धी समस्या) बाहेक एक मन्त्रालयमा पाँच वर्ष नपुगी अर्को मन्त्रालयमा सरुवा नगर्ने ।सामान्यतया एक मन्त्रालयमा पाँच वर्ष सेवा अवधि पुरा भए पश्चात् सोही समूहको अर्को मन्त्रालयमा सरुवा गर्ने ।
६. बढुवा तथा अवकाशका मापदण्ड सम्बन्धी व्यवस्था लागू भएको मितिले दश वर्ष पुरा नभै परिवर्तन गर्न नपाइने र परिवर्तन गर्दा यस सम्बन्धी कानुन स्वीकृत भएको मितिबाट दुई वर्ष पछिबाट मात्र लागू गर्ने ।
७. माथि उल्लेख भए अनुसारको अन्तर मन्त्रालय सरुवा गर्दा अपनाउने मापदण्ड तयार गरी लागू गर्ने र यस्तो मापदण्ड कम्तीमा पाँच वर्ष पुरा नभै परिवर्तन गर्न नपाइने व्यवस्था गर्ने ।
८. सरकारी सेवाको पदबाट सेवा निवृत्त भएका कर्मचारीले नेपाल सरकारले तोकेको सरकारी जिम्मेवारी बाहेक पद अनुसार तल्लो तहलाई कम र माथिल्लो तहलाई बढी हुने गरी कम्तीमा एक वर्ष र अधिकतम पाँच वर्ष सम्म कुनै बाह्य नोकरी (संस्थागत परामर्श सेवा तथा अध्ययन अनुसन्धान समेत) गर्न नपाउने व्यवस्था गर्ने ।
२. कार्यान्वयन तहमा गरिनुपर्ने सुधारहरू
उपरोक्तानुसारको नीतिगत सुधार गरी सो को ईमान्दार परिपालना तथा लागू गरिनु पर्दछ । नेपालको निजामती सेवामा यस सेवालाई निर्देशित गर्ने कानुनी व्यवस्थामा नै चलखेल गर्ने र भएका कानुनी प्रावधानहरूको समेत आफू अनुकूल व्याख्या विश्लेषण गर्ने तथा कतिपय अवस्थामा भएका कानुनी व्यवस्थाको उल्लङ्घन समेत गरिँदै आएका छ ।कुनै पनि क्षेत्र व्यवस्थित गर्न सोलाई निर्देशित गर्ने प्रभावकारी कानुनी व्यवस्था गर्नु एक महत्त्वपूर्ण कार्य हो भने सो को इमानदार कार्यान्वयन गर्ने गराउन सो भन्दा महत्त्वपूर्ण कार्य हो ।यस सन्दर्भमा निजामती सेवामा स्वतन्त्रता, निष्पक्षता, दक्षता तथा विशिष्टता कायम गर्न तपसिल बमोजिम कार्यगत सुधारहरू गर्नुपर्ने देखिन्छ:
१. प्रत्येक मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सहमतिमा मन्त्रालय अन्तरगतको सरुवाको मापदण्ड स्वीकृत गरी लागू गर्ने र यस प्रकारको मापदण्ड स्वीकृत (परिमार्जन समेत) भएको कम्तीमा पाँच वर्ष नपुगी परिमार्जन वा खारेज गर्न नपाइने ।
२. अन्तर मन्त्रालय कर्मचारी सरुवा सम्बन्धी मापदण्ड प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले तयार गरी मुख्य सचिवबाट स्वीकृत गरी लागू गर्ने । यस प्रकार तयार भएको मापदण्ड कम्तीमा पाँच वर्ष पुरा नगरी परिमार्जन गर्न नपाइने ।
३. वर्तमान परिवेश अनुकूल हुने गरी यातायात, सञ्चार, शिक्षा र स्वास्थ्य सुविधा लगायतका पक्षहरूलाई मध्यनजर गरी निजामती सेवा ऐन तथा नियमावली प्रयोजनकालागि तय गरिएको भौगोलिक क्षेत्रको विभाजनलाई परिमार्जन तथा अद्यावधिक गर्ने ।
४. परिमार्जित भौगोलिक क्षेत्रका आधारमा निजामती कर्मचारीको सरुवा अनुमानयोग्य तथा पारदर्शी रूपमा गर्ने ।
५. मन्त्रालयहरूले गरेको सरुवाको आवधिक रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले अनुगमन गर्ने ।
६. सेवा समूह अन्तरगतका प्रत्येक पदको पदपूर्तिको अवस्था र रिक्त पदहरूको विवरण अद्यावधिक गरी सबै कर्मचारीले चाहेका बखत अनलाइनमार्फत हेर्न सक्ने व्यवस्था मिलाउने ।
सरकारको स्थायी तथा विज्ञ कार्यान्वयन संयन्त्रको रूपमा रहेको निजामती सेवा लगायत समग्र सरकारी सेवाको सुधार विना सुशासन कायम गरी देश विकासको अपेक्षा पुरा गर्न सकिने अवस्था देखिँदैन । निजामती सेवाको स्वतन्त्रता, निष्पक्षता, दक्षता तथा विशिष्टता कायम गर्न यस सेवा भित्र थप विशिष्टीकरण गरिनु अपरिहार्य रहेको छ ।विगतमा भएका कतिपय अध्ययन प्रतिवेदनले समेत निजामती सेवाको विशिष्टिकरणकालागि मन्त्रालयगत सेवा गठन हुनुपर्ने सम्मका सुझाव पेस गरेको पाइन्छ ।साथै कतिपय विकसित देशहरूको अध्ययन गर्दा समेत यस सेवाको विशिष्टीकरणलाई उच्च महत्त्व दिएको पाइन्छ । यसर्थ निजामती सेवाको समग्र सुधारको प्रारम्भ विन्दु माथि उल्लेख गरिए झैँ यसको विशिष्टीकरण जारी हुने प्रक्रियामा रहेको सङ्घीय निजामती सेवा ऐनबाट गर्न सकिन्छ ।
लेखक नेपाल सरकारका उपसचिव हुन्
प्रशासनबाट
Share:

लकडाउनभर घर बसेका सरकारी कर्मचारीलाई सार्वजनिक बिदा

तलब र खाइपाई आएको भत्ता नकाटिने
काठमाडौँ — सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई बिदा दिने निर्णय गरेको छ ।

सरी दिइएको बिदा कर्मचारीहरुको व्यक्तिगत बिदा कटौती नगरी सार्वजनिक बिदा सरह हुनेछ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चैत ९ गतेपछि लकडाउनका कारण सरकारी कार्यालय, निकाय र उद्योगमा दिइएको बिदा सार्वजनिक बिदामा परिणत हुनेछ।
सरकारी उद्योगका श्रमिकले पनि यही सहुलित पाउने भएका छन्। यो बिदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक बिदा कायम गर्नुपर्नेछ। यो अवधिमा उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ।
कान्तिपुरबाट साभार

Share:

केही विषयगत लाेकसेवा सामग्री

लोकसेवा सहयोगी सामग्री

१. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस्
जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने,
जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने,
लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने,
शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने
२. नेपालमा खेतीयोग्य जमिनको उत्पादकत्व घट्नुको कारणहरू के–के हुन् ? उल्लेख गर्नुहोस्
करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित तथा कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र नेपालमा एकातर्फ भौगोलिक विकटता, बसाइँ–सराइ, बढ्दो सहरीकरण आदिले खेतियोग्य जमिन घट्दै गएको छ भने अर्कोतर्फ भएको खेतियोग्य जमिनको उत्पादकत्व पनि घटिरहेको छ यसरी खेतियोग्य जमिनको उत्पदकत्व घट्नुका विभिन्न कारण छन्, जुन निम्न छन्
कृषकहरूमा खेती गर्ने आधुनिक उन्नत तरिकाको ज्ञान नहुनु,
खेतियोग्य जमिनमा सिँचाइ सुविधा नहुनु,
उन्नत बीउविजन एवम् रासायनिक मलको अभाव हुनु,
खेतियोग्य जमिनको पूर्ण उपयोग नहुनु,
कृषि सडक सञ्जालको विकास नहुनु,
कृषिमा व्यावसायीकरण हुन नसक्नु,
कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु,
व्यावसायिक कृषि विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित नहुनु,
दीर्घकालीन कृषि योजनाले अपेक्षा गरेअनुसार कृषि क्षेत्रमा लगानी बढ्न नसक्नु
३. नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस्
पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत हो रोजगारीको प्रमुख आधार क्षेत्र हो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहने पर्यटन उद्योगले नेपाललाई अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि गराउनसमेत सहयोग गर्दछ मनोरम प्राकृतिक सौन्दर्य, अतुलनीय साँस्कृतिक सम्पदा एवम् अनगिन्ती विशिष्टताका पर्यटकीय स्थलहरू रहेको नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू निम्न छन् :
सङ्ख्यात्मकको साथै गुणात्मक पर्यटनमा पनि जोड दिई पर्यटकहरूको सुरक्षाको प्रत्याभूति दिने,
नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने,
हवाई सेवालाई भरपर्दो, नियमित एवम् सुरक्षित बनाउँदै यसको क्षेत्र विस्तार गर्ने,
पर्यटन सेवा केन्द्रहरूको विस्तार गर्ने,
होटल रेस्टुराँहरूको सङ्ख्या बढाउने, होटल सेवाको नियमित अनुगमन गर्ने,
वातावरण प्रदूषणमा नियन्त्रण र सरसफाइमा जोड दिने,
कला, संस्कृतिको विकास एवम् सम्वद्र्धनमा जोड दिने,
नेपालका पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय जगत्मा व्यापक प्रचार–प्रसार गर्ने,
पर्यटकहरूमाथि हुने शोषण र ठगीलाई निर्मूल गरिनुपर्ने,
पर्यटनसम्बन्धी तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुपर्ने,
पर्यटन पूर्वाधार र पर्यटन बजार व्यवस्थित गर्नुपर्ने,
आन्तरिक पर्यटनलाई बढावा गर्ने,
शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने,
राजनीतिक कारणले हुने बन्द–हडताल, चक्काजाम, चन्दा, अस्थिरता आदिको अन्त्य गर्ने,
लगानीको वातावरण तयार गरी यस क्षेत्रमा स्वदेशी र विदेशी लगानी अभिवृद्धि गर्ने
४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ?
उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो यो स्वदेशभित्र आन्तरिक उत्पादनमा लाग्छ स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्ता वस्तुमा भन्सार कार्यालयमा अन्तःशुल्क लाग्छ वस्तु सेवा दुवैमा लाग्ने यो कर नेपालको परम्परागत राजस्व हो नेपालको राजस्व प्रशासन खासगरी आयकर, मूल्य अभिवृद्धि कर र भन्सार आधुनिक राजस्व प्रशासनमा रूपान्तरण हुन थाले पनि अन्तःशुल्क प्रशासन पुरानै ढाँचामा सञ्चालित छ अन्तःशुल्क प्रशासनका कार्यमा कम्प्युटर प्रणाली अवलम्बन गर्न नसकिएको, अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउन नसकिएको, सङ्गठन संरचनामा सुदृढीकरण गर्न नसकिएको अवस्था छ त्यसैले अन्तःशुल्कमा सुधारका पक्ष यिनै हुन सक्छन् जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउने,
अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
आन्तरिक राजस्वको आधार फराकिलो बनाउन अन्तःशुल्कको प्रयोग गर्ने,
भौतिक नियन्त्रण प्रणालीलाई स्वयम् निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्ने,
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएकाले घट्दो भन्सार राजस्वको स्थान पूर्ति गर्नसमेत यसको प्रयोग गर्नुपर्ने देखिन्छ अतः यसको व्यवस्थित परिचालन आवश्यक यसका लागि अन्तःशुल्कको दर क्षेत्रमा स्थिरता ल्याउँदै साङ्गठनिक प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ

Share:

केही बस्तुगत प्रश्नोत्तर


१. नेपाल आयल निगमले मुलुकभर युरो – ६ मापदण्डको इन्धन विक्री वितरण कहिलेदेखि सुरु गर्ने निर्णय गरेको छ ?
वि.सं. २०७६ चैत
२. अस्ट्रेलियामा सम्पन्न टी– २० महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो ?
अस्ट्रेलिया
३. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ?
चीन (सन् २०१८)
४. नेपाल सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ११
५. सरकारले सामाजिक सुरक्षा दिवस मनाउने घोषणा कहिले गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ११
६. विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ?
जापान (सन् २०१८ सेप्टेम्बर)
७. हाल निजामती सेवामा महिला प्रतिनिधित्व कति छ ?
२५.७६
८. सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?
लक्ष्मणदत्त पन्त
९. बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्रबैङ्कले कहिले गरेको हो ?
 वि.सं. २०७६ फागुन २२
१०. राष्ट्रिय कलाश्री पुरस्कार (२०७६) कसलाई प्रदान गरियो ?
 साहित्यकार गणेश रसिक (पुरस्कार राशिः रु. एक लाख)
११. देउकेटा प्रथा कहाँ छ ?
 दैलेख
१२. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
नेपाल (सन् २०२० मार्च)
१३. मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ?
नुवाकोट
१४. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा छ ?
चौथो
१५. हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवं औषधि खर्चवापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ?
रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
१६. द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
वि.सं. १६१६ भदौ २५
१७. बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तर्गत स्थापना गर्ने भएको छ ?
अर्थ मन्त्रालय (बौद्धिक सम्पत्तिसम्बन्धी एकीकृत नीतिमार्फत अर्थ मन्त्रालय अन्तर्गत रहने गरी बौद्धिक सम्पत्ति कार्यालय स्थापना गरिने भएको छ नेपालले नयाँ संविधानमार्फत बौद्धिक सम्पत्तिको अवधारणालाई संवैधानिक रूपमा नै अङ्गीकार गरेको )
१८. ‘एजेण्डा फर डेभलप्मेन्ट ’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्रसङ्घका तत्कालीन महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने सुधारसम्बन्धी क्वाइट रिभोल्युसन नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?
कोफी अन्नान
१९. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
सन् २०१६ सेप्टेम्बर १९
२०. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भिœयाउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फण्डलाई के भनी चिनिन्छ ?
हेजिङ फन्ड
२१. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वनक्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन
२२. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
चुम्बकीय क्षेत्र (शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर क्षेत्र सानो हुन्छ)
२३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
वि. सं. २००२ असोज १
२४. पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?
लमही (दाङ)
२५. चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?
वि.सं. २०७४ जेठ ४ (नाराः चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई)
२६. प्रसिद्ध भाजुपोखरी कहाँ छ ?
भक्तपुर (१२औँ शताब्दीमा निर्माण भएको)
२७. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
सन् १९९८
२८. ‘तेक्वान्दो क्विन’ का नामक चिनिने नेपाली खेलाडी को हुन् ?
संगिना बैद्य
२९. युरोपेली सङ्घको प्रधान कार्यालय कहाँ छ ?
बेल्जियमको ब्रसेल्स
३०. विश्व वन्यजन्तु कोषको प्रधान कार्यालय कहाँ छ ?
स्वीट्जरल्यान्ड

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages