लोक सेवाका गुरु : लोकसेवा पढ्ने मन्त्र

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँचपाँच ठाउँबाट नाम निकाले । विद्यार्थीका लागि उनीहरू 'आइडियल' नै थिए । २०५८ सालतिर यी तीन आइडियललाई लोक सेवामा रुचि राख्नेहरूले टाइटल दिएका थिएलोक सेवा वर्ष पुरुषहरू ।
गृह मन्त्रालयका सहसचिव चुडामणि शर्माका लागि दिइएको यो टाइटल निक्कै फाप्यो । लोक सेवामा उनले पुर्‍याएको योगदान र सफलताले यो पुष्टि गरिसकेको छ । जुन परीक्षा दियो त्यसमै नाम निस्किन्थ्यो । उनी सधैं उत्तीर्णको टप लिस्टमा पर्थे । सुवेदी अहिले अर्थ सचिव र बस्याल ल्हासा महामाणिज्य दूत छन् ।

लोक सेवाका विद्यार्थीबीच प्रख्यात शर्माले अहिलेसम्म ४१ किताब लेखिसकेका छन् । अरू केही पाइप लाइनमा रहेको उनी बताउँछन् ।

२०२६ सालमा स्याङ्जामा जन्मेका शर्माले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेपछि पृथ्वीनाराणण क्याम्पस पोखरा पढ्दै गर्दामात्रै लोक सेवा भन्ने शब्द सुनेका थिए । उनका साथी रमेश ढकाल मुखियाको जागिरे । त्यही बेला उनले शर्मालाई भने 'सहलेखापाल खुलेको छ रे, फर्म भर्ने होइन ?'

अहिले महालेखाको निर्देशक रहेका ढकालसँग लागेर उनले आईकम दोस्रो वर्ष पढ्दै गर्दा सहलेखपालमा फर्म भरे र परीक्षा दिए ।

क्याम्पसको पढाइ सकेर शर्मा स्याङ्जास्थित घरमा त्यत्तिकै बसिरहेका थिए । त्यस बेलै हुलाकबाट उनको नाममा आएको एउटा खामले उनको भविष्यको नयाँ ढोका खोलिदियो । चिठीमा लेखिएको थियो– 'तपाईंले दिनुभएको लिखित परीक्षामा उत्तीण हुनुभएको छ । अब अन्तर्वार्ताको लागि आउनुहोला ।'

उनी अन्तर्वार्ताका लागि पोखरा हान्निए । १३१४ सय जनाबीचको प्रतिस्पर्धामा नाम निकाल्दै २०४५ सालमा सहलेखापाल भई उनी लमजुङबाट सरकारी सेवामा प्रवेश गरे ।

जागिरमा छिरेपछि नियमित अध्ययनमा भने समस्या भयो । उनी प्राइभेट भर्ना भए । उनले बिकमसँगै बिए, बिएड र बिएमा अंग्रेजी विषय लिएर प्राइभेटमा पढे । आफ्नो अध्ययनलाई निरन्तरता दिइरहे ।

स्नातक उत्तीर्ण भएपछि उनी अफिसर (अधिकृत)को तयारीमा लागे । प्रशासन, राजस्व, बैंक, प्रहरी, हुलाक, जहाँ आवेदन खुल्छ त्यहीँ फारम भर्न पुगिहाल्थे । उनको लक्ष्य थियोराम्रो सरकारी जागिर खानु । उनी भन्छन्, 'म सफलता नपाउन्जेल लागिरहेँ ।'

२०५० सालमा दिएको अफिसरको रिजल्ट २०५१ सालमा आयो । ४९ जना अधिकृत मागिएकोमा उनले चौथो नम्बरमा नाम निकाले । काठमाडौंमा भएको अन्तर्वार्तामा सफल भएपछि उनी प्रशासनतर्फ अधिकृत भई पोखरा पोस्टिङ भए । त्यस बेला उनले अन्य परीक्षामा पनि नाम निकालेका थिए । तर उनको रोजाइमा प्रशासन नै प¥यो । शाखा अधिकृतका रूपमा उनी विभिन्न जिल्ला पुगे । यो कार्य २०५८ सालसम्म रह्यो ।

२०५८ सालमा उपसचिवमा आन्तरिक र खुला विज्ञापन खुल्यो । उनी किन पछि हट्थे । प्रतिस्पर्धामा उत्रिए । उनै तीनभाइ सुवेदी, बस्याल र शर्माकै नाम निस्कियो । उनीहरूले प्रशासन र राजस्वमा खुला र आन्तरिकमा धेरै ठाउँबाट एकैपटक परीक्षा दिए । 'त्यो बेला मैले सात ठाउँबाट निकाल्दा सुवेदी र बस्यालले पाँचपाँच ठाउँबाट निकाल्नुभएको थियो,' शर्माले साथीहरूलाई सम्झँदै भने ।

शर्मालाई अरूले सुनाउँथे, 'जताततै तिमीहरूको मात्र नाम छ । तिमीहरू लोक सेवा वर्ष पुरुष नै भयौं ।' लोक सेवाको बुलेटिन होस् वा गोरखापत्रको विज्ञापनमा यी तीन होनाहारको नाम कहिल्यै छुटेन । आवेदन माग गरिएको हरेक सरकारी कोटाका लागि परीक्षा दिन्थे र सबैमा नाम पनि निकाल्थे ।

पछि राजस्वमा एक सिटको लागि खुला प्रतिस्पर्धा भयो । धेरैको प्रतिस्पर्धामा यी तीनले नाम निकाले । अन्तर्वार्तामा शर्माले नाम निकाले । त्यसपछि उनले अर्थ मन्त्रालय हुँदै विभिन्न निकायमा राजस्वको उपसचिव भई सेवा गरे ।

त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन । उनको सफलता यतिमै सीमित भएन । सफलताको सोपानमा उनी चढिरहे । २०६४ मा एक नम्बरमा सहसचिवको नाम निकालेका उनी सामान्य प्रशासन मन्त्रालय, अर्थ, महालेखा नियन्त्रण कार्यालय, गृह मन्त्रालयका साथै सुनसरी, ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदै अहिले गृह मन्त्रालयको सहसचिवमा कार्यरत छन् । आफ्नै कार्यलयमा गफिँदै उनले भने, 'म यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । अध्ययनप्रतिको लगावले नै मलाई यहाँ ल्याइपु¥याएको हो ।'


लोक सेवा पढ्ने मन्त्र

सेभेन 'सी' ( Seven 'C')


लोक सेवा पढ्न सुरु गर्दा 'सेभेन सी'लाई आधार बनाएर अध्ययन गर्नुपर्छ । यो जुन तहको भए पनि, वस्तुगत वा विषयगत जे भए पनि यही सुत्र प्रयोग गर्नुपर्छ ।

कन्टेन्ट (Content)
कन्टेन्ट भनेको पाठ्क्रम हो । पाठ्यक्रममा केके विषयवस्तु पढ्नुपर्छ, त्यसभित्र कस्ता प्रश्न सोधिन्छ; वस्तुगत, विषयगतलाई ख्याल गर्दै कन्टेन्ट ओरेन्टेन्ड भएर गहिराइसम्म जानुपर्छ ।

कन्सेप्ट (Concept)
कन्टेन्ट थाहा भएपछि यसमा रहेका विषयवस्तुको अर्थ के हो ? परिभाषा के हो ? यसको सुरुवात कसरी भयो ? रिभोलुसन कसरी भयो ? त्यसका आयाम केके हुन् ? थाहा पाउनुपर्छ ।

कोर (core)
कुनै पनि विषयवस्तु पढेपछि यसको मुख्य तत्व  के हो भन्ने जान्न जरुरी छ । जुनसुकै विषयमा मियो के हो ? त्यसलाई थाहा पाउनुपर्छ । कोर कुरा थाहा पाइयो भने बढाउने, घटाउने आफ्नै हातमा हुन्छ ।

कभरेज (Coverage)
हामीले जुन विषय पढ्छौं त्यसका विषेशता केके हुन्, सिद्धान्त नीति, सांगठानिक व्यवस्था, कानुनी व्यवस्थाजस्ता अनेक दायरा हुन सक्छन् । पढिरहेको विषयले कुनकुन क्षेत्र ओगट्छ, त्यो थाहा पाउन जरुरी छ । धेरै आयाम, प्रकार, प्रकारमा भिन्नता हुन्छन् । ती थाहा पाउनुपर्छ । परीक्षामा सोधिएका प्रश्न पाठ्यक्रमअनुसार नै आउने हुन् । पाठ्यक्रबाहिरबाट आउँछ भन्ने होइन ।

कन्टेक्ट्स (Context)
यसको अर्थ समयसन्दर्भ हो । जुन विषय छ, त्यो विषयको अहिलेको अवस्था के हो ? आजको इस्यु के हो ? यस्ता कुरा पाठ्यक्रममा हुँदैनन् । आफूलाई बलियो गरी उभ्याउन वर्तमान अवस्थाबारे पनि जानकार भइरहनुपर्छ । जस्तैः निजामती सेवा पढ्यौं भने ग्लोबलाइजेसनमा निजामती, समावेशीमा निजामती सेवा, निजामती सेवा र इगभर्नेसन, निजामती सेवा र अन्य सेवाजस्ता विषय हेर्नुपर्छ । आफ्नो मुलुको सन्दर्भमा मात्र होइन कि, विश्व परिवेशलाई नै केन्द्रमा राखेर अध्ययन गर्नुपर्छ ।

कमेन्ट (Comment) 
सबै विषयवस्तु पढिसकेपछि विद्यार्थी आफैंले त्यो विषयलाई केलाउन जान्नुपर्छ । आफैं विश्लेषण गर्न सक्नुपर्छ । समस्या, चुनौती, कमजोरी पक्ष, बलियो पक्षजस्ता कुरा सांगोपांगो केलाउन जान्नुपर्छ । सैद्धान्तिक, व्यावहारिक पक्षमा पनि अभ्यास गरिरहनुपर्छ । सम्भावनाका कुरा नियाल्नुपर्छ । विषयगत सन्दर्भमा कमेन्ट धेरै महŒवपूर्ण कुरा हो ।

कन्क्लुजन (Conclusion)
यी सबै भएपछि विषयवस्तुको सार के हो भन्ने कुरा थाहा पाउन जरुरी छ । विषयवस्तुको गुदीबारे पत्ता लगाउन सक्नुपर्छ । समस्या थाहा पाइयो तर अब समाधानका उपाय के हुन सक्छन् ? निष्कर्षमा लाग्नुपर्छ । सकारात्मक सोच राखी फोहोरलाई मोहरमा लैजानुपर्छ । समस्या होइन समाधान देख्न सक्नुपर्छ । कमजोरीलाई सबल पक्षमा लैजाने कोसिस गर्नुपर्छ । चुनौतीलाई अवसरमा ढालेर हेर्न सक्नुपर्छ । अबको समाधान या बाटो यो हुनुपर्छ भनेर भन्न सक्नुपर्छ ।

फ्रेस स्टार्ट
अध्ययन गर्न सुरु गर्दा फ्रेस स्टार्टलाई अवलम्बन गर्नुपर्छ ।

फर्ट स्टार्ट (एफ) :
फर्ट स्टार्ट भनेको पढ्न सुरु गर्नुपर्छ भन्नेमात्र होइन । पढ्न सुरु गर्दा नयाँ शैली र नवीनतम तरिकाबाट पढ्नुपर्छ भन्ने हो । नयाँ सन्दर्भ र नयाँ विधिबाट अघि बढ्ने हो । चल्तीको नयाँ शैली के छ त्यसलाई पछ्याउने ।

रुटिन स्टार्ट (आर):

जहिले पनि योजनाबद्ध हिसाबले जानुपर्छ । रुटिन बनाएर पढ्नुपर्छ । समय छ र पाठ्यक्रम हेरेर त्यसअनुरूप योजनाबद्ध हिसाबले जानुपर्छ । जटिल विषयलाई धेरै समय दिने, कतिपय कुरालाई समूहमा पढ्ने गर्नुपर्छ ।

स्पेसिफिक स्टार्ट (ई):

कुनै पनि विषयवस्तु पढ्दा साझा विषयलाई जहिले पनि घोकिरहनुपर्दैन । एकचोटि पढेपछि जता पनि काम लाग्छ । जस्तैः सामान्य ज्ञान पढियो भने खरिदार, सुब्बा, अधिकृत जता पनि काम लाग्छ । साझा कुरालाई एकपटक अध्ययन गर्ने र मुख्य विषयलाई विशेष ध्यान दिने गर्नुपर्छ ।

होलिस्टिक स्टार्ट (एच):

एकएक टपिक पढिसकेपछि सबै विषयवस्तुलाई समेटेर जानुपर्छ । साझा कुरालाई एकातिर र स्पेसिफिक कुरालाई एकातिर राखेर हेर्नुपर्छ । सबै विषयलाई एकैपटक हेर्दा कति सकिन्छ आफैं जाँच्नुपर्छ ।

वस्तुगत


वस्तुगत प्रश्नको तयारी गर्दा कुनै कुरा नछुटुन्, कुनै पनि नदोहोरिऊन् भन्ने सुत्र प्रयोग गर्नुपर्छ । कसैले पनि सबै कुरा जानेको हुँदैन । लोक सेवाले त्यस्तो खोजेको पनि हुँदैन । त्यसैले 'लेस इन अलमा ध्यान दिनुपर्छ । अर्थात् सबै विषयमा थोरैथोरै जानेको हुनैपर्छ । जस्तैः विश्वको भूगोलबाट पाँच प्रश्न आउँछ भने ब्रह्मान्ड नै जान्न सकिँदैन । मुख्य कुरालाई छान्न सक्नुपर्छ । कोर्स धेरै छ भनेर आत्तिनु हुँदैन।

वैकल्पिक विषयवस्तुमा तीन '' लाई ध्यान दिएर पढ्नुपर्छ । यो सुत्र नै सबै होइन तर अध्ययनको आधारचाहिँ हो ।

अघिकोसुरुमा कस्तो थियो ? जस्तो कि, विश्वमा पहिलो र नेपालमा पहिलो थाहा पाउने ।

अहिलेकोअहिले कस्तो छ ? अन्तिम को ? अन्तिम अवस्था के छ थाहा पाउने ।

अद्वितीयबीचमा कस्तो भयो ? बीचमा केके भयो । सामान्य थाहा पाउने ।

समसामयिक विषयलाई अलि बढी फोकस गर्ने । इतिहासका विषयवस्तुलाई हेर्ने । युनिक कुरा, आइक्युका कुरा थाहा पाउने। पढेर मात्र पनि हुँदैन । एक विधिसम्मत भाँतीका हिसाबले पढ्नुपर्छ । सम्झने हिसाबले पढ्नुपर्छ ।

विषयगत


विषयगत प्रश्नको तयारी गर्दा 'सेभेन सी'लाई नै केन्द्रविन्दु बनाएर पढ्ने हो । विषयको अर्थ के हो ? कसरी परिभाषित गरिएको छ ? आयाम केके छन् ? आरम्भ कसरी भयो ? अहिले त्यसका दायरा के कति छन् ? अहिलेको अवस्था के हो ? त्यसमा कमीकमजोरी के छन् ? त्यसमा सुधार गर्नुपर्ने कुरा के छ ? माटोमोटी यही परिवेशमा विषयगत विषयलाई अध्ययन गर्नुपर्छ ।

जहिले पनि मौलिकपनलाई प्राथमिकता दिइएको हुन्छ । सिलसिलेबार तरिकाले आफ्नै शैलीमा उत्तर दिन सक्नुपर्छ ।

गतिलो लेखका लागि 'सेभेन एस' अपनाउनुपर्छ ।
Seven 'S'
स्टक्चर (structure)
छोटो वा लामो उत्तर लेख्दा दायाँबायाँ मार्जिन छोड्ने, राम्रो शीर्षक राख्ने, सब टाइटल राख्ने, प्याराफ्रेज गर्ने, बुलेटमा राख्ने ।

स्टार्ट (Start)
लेखको सुरुवात राम्रो हुनुपर्छ । जर्नालिस्टिक तरिकाबाट, सुरुवातमा मुख्य कुरा लेख्ने गर्नुपर्छ । फस्र्ट इम्प्रेसन राम्रो हुनुपर्छ। यो कुरा पढ्ने बेलामै ध्यान दिनुपर्छ।

स्टाइल (Style)
लेखमा विभिन्न स्टाइल प्रयोग गर्नुपर्छ । जस्तैः बुलेट राख्द सफा र आकर्षक देखिन्छ । राम्रा अक्षर र शुद्धता त हुनैपर्‍यो ।

स्टाटेजी (Strategy)

प्रतिस्पर्धात्मक परीक्षा भएकाले केही स्टाटेजी पनि अपनाउनुपर्छ । जानकारीलाई बक्समा राख्ने, विभिन्न चित्र, ग्राफ बनाउने, कहिलेकाहीँ जार्गन, फ्रेजहरूलाई प्रयोग गर्ने । हाइलाइट गर्ने । लेख पनि एक किसिमको फेसन नै हो । ढाँचा मिलाएर लेख्नुपर्छ ।

स्कोप (Scope)
प्रश्नमा स्कोप लुकेको हुन्छ । प्रश्नमा के लुकेको छ त्यो थाहा पाउनुपर्छ । जस्तैः नेपालमा पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? भन्ने प्रश्नमा अहिले पत्रकारितामा प्रभावकारिता छैन र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने स्कोप लुकेको छ । हामीले जानेकै स्कोप होइन मागेको स्कोप दिनुपर्छ ।

साइज (Size)
साइज भनेको प्रश्नको उत्तर कति लेख्ने भन्ने हो । दिएको समयभित्र अंकभारका आधारमा प्रश्नको उत्तरको साइज हुुनुपर्छ । थोरै अंकलाई धेरै, धेरै अंकलाई थोरै लेखेर हुँदैन।

स्ट्रन्थ (Strength) 
लेख आशावादी हुनुपर्छ । एक्टिभभन्दा पेसिभ भ्वाइस हुनुपर्छ । अप्रत्यक्ष रूपमा बौद्धिक एप्रोज हुनुपर्छ । सकारात्मक निष्कर्ष दिनुपर्छ । तर जे जस्ता सिद्धान्त भए पनि पौडी खेल्न आफैं पोखरीमा हाम फाल्नुपर्छ।

स्रोतः नागरिक न्यूज



Share:

9 comments:

  1. If you can, try to minimize corruption. That will be a good contribution. Getting success in every exam is not a big deal indeed.

    ReplyDelete
  2. धन्न्यबाद सर।केही महिना पछि हजुरको नजिकमा रहेर उपसचिव अनि सहसचिबको तयारिमा जुट्ने सोछ छ।मेहनत मेरो मार्ग हजुरको।

    ReplyDelete
  3. Thank you sir. It's very useful....

    ReplyDelete
  4. क्या तयारी र last मा सुन्दर striker पनि ।

    ReplyDelete
  5. good Idea for all .. thank you sir

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages