Showing posts with label गोरखापत्र विषयगत. Show all posts
Showing posts with label गोरखापत्र विषयगत. Show all posts

मिति २०८२ साल चैत्र १८ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयगत सामग्री

 


प्रशासनिक कार्यसञ्चालनका आधार 

१.  सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले व्यवस्था गरेबमोजिम प्रशासनिक कार्यसञ्चालनका आधारहरू प्रस्तुत गर्नुहोस् । साथै सो ऐनले प्रशासनिक निर्णय प्रक्रियालाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारण समक्ष पु¥याउने उद्देश्य लिएको छ । प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन जोड दिएको छ । त्यसका लागि प्रशासनिक कार्यसञ्चालनका आधारहरू तय गर्नुका साथै प्रशासनिक निर्णय प्रक्रियालाई समेत स्पष्ट मार्गदर्शन गरेको छ । 

प्रशासनिक कार्यसञ्चालनका आधार :

राष्ट्र र जनताको बृहत्तर हित,

समन्याय र समावेशीकरण,

कानुनको शासन,

मानव अधिकारको प्रत्याभूति,

पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता र इमानदारिता,

आर्थिक अनुशासन एवं भ्रष्टाचारमुक्त, चुस्त र जनमुखी प्रशासन,

प्रशासन संयन्त्रको तटस्थता तथा निष्पक्षता,

प्रशासनिक संयन्त्रमा र निर्णयमा सर्वसाधारणको पहुँच,

विकेन्द्रीकरण तथा अधिकारको निक्षेपण,

जनसहभागिता तथा स्थानीय स्रोतको अधिकतम उपयोग ।

सरकारी पदाधिकारीबाट हुने निर्णय प्रक्रियाका सम्बन्धमा भएका प्रमुख मार्गदर्शन यस प्रकार छन् :

क)  निश्चित कार्यविधि अवलम्बन गर्नुपर्ने :

कुनै विषयमा निर्णय गर्दा प्रचलित कानुनमा कुनै कार्यविधिको व्यवस्था भएको रहेछ भने त्यस्तो कार्यविधि अपनाउने,

कानुनमा त्यस्तो व्यवस्था नभएकोमा निर्णय गर्नुपर्ने विषयको प्रकृति हेरी उपयुक्त कार्यविधि अपनाउनुपर्ने,

ख)  निश्चित समय अवधिभित्र निर्णय गर्नुपर्ने :

प्रचलित कानुनबमोजिम कुनै निश्चित अवधिभित्र निर्णय गर्नुपर्ने रहेछ भने सोही समय अवधिभित्र निर्णय गर्ने,

स्पष्ट व्यवस्था नभएकोमा निर्णय गर्नुपर्ने विषयको प्रकृति हेरी निर्णय गर्न पाउने अधिकारीले उपयुक्त ठह¥याएको समय अवधिभित्र निर्णय गर्नुपर्ने, 

निर्णय गर्न लाग्ने समय निश्चित मापदण्डको आधारमा मन्त्रालयबाट स्वीकृत गराई पारदर्शी ढङ्गले लागु गर्ने,

आवश्यक तथ्य, सूचना वा प्रमाण उपलब्ध नभएका कारणले अवधिभित्र निर्णय गर्न नसकिने रहेछ भने निर्णय गर्न पाउने अधिकारीले त्यसको कारण खुलाई निर्णय गर्नुपर्ने,

ग)  निर्णय गर्दा पारदर्शिता कायम गर्नुपर्ने :

निर्णय गर्ने अधिकारीले कुनै विषयमा निर्णय गर्दा पारदर्शी ढङ्गबाट गर्नुपर्ने, 

निर्णय गर्नुपर्ने विषयमा आफ्ना मातहतका कर्मचारीको राय तथा परामर्शलाई ध्यान दिन सक्ने, 

निर्णय गर्नुपर्ने विषयको कारबाही एक तहबाट सुरु भई अर्को तहबाट निर्णय गर्नुपर्ने रहेछ भने प्रत्येक तहमा संलग्न रहने पदाधिकारीले आफ्नो स्पष्ट राय ठहरसहित निर्णय गर्नुपर्ने विषय निर्णय गर्ने 

अधिकारीसमक्ष पेस गर्नुपर्ने, 

निर्णय गर्ने प्रक्रियामा संलग्न रहेका प्रत्येक तहका पदाधिकारीले पेश गरेको रायमा कुनै प्रश्न उठेको देखिएमा निर्णय गर्ने अधिकारीले निर्णय गर्दा त्यस्तो प्रश्नको पनि सम्बोधन गर्नुपर्ने,

कुनै निर्णय गर्दा कानुनी वा प्राविधिक प्रश्नको पनि निरूपण गर्नुपर्ने रहेछ र त्यस्तो विषयमा कुनै कानुनविज्ञ वा प्राविधिकको राय लिन मनासिब ठानेमा त्यस्तो राय लिन सक्ने,

यसरी राय लिएकोमा त्यस्तो रायलाई समेत आधार मानी निर्णय गर्न सकिने र त्यस्तो रायलाई मान्नु नपर्ने देखेमा त्यसको कारण खुलाई निर्णय गर्नुपर्ने,

घ)  निर्णय गर्दा आधार र कारण खुलाउनुपर्ने,

प्रशासकीय अधिकारीले गरेको निर्णय कुन कुन कुरामा आधारित छ खुलाउनुपर्ने,

त्यस्तो निर्णय किन गर्नु परेको हो सोको स्पष्ट आधार र कारण खुलाई निर्णय गर्नुपर्ने,

ङ)  स्वार्थ बाझिएमा निर्णय गर्न नहुने,

निर्णय गर्नुपर्ने विषयमा प्रत्यक्ष रूपमा आफ्नो कुनै हित, सरोकार वा स्वार्थ रहेको भएमा तथा नजिकको नातेदार प्रत्यक्ष प्रभावित हुने देखिएमा वा एकासगोलको व्यक्तिको व्यवसाय, व्यापारमा प्रत्यक्ष फाइदा पुग्ने गरी स्वार्थ बाझिने भएमा आफूले निर्णय गर्न नहुने, समान पद वा एक तह माथिल्लो पदाधिकारीलाई निर्णय गर्न दिने,

छ)  सरोकारवाला तथा नागरिक समाजसँग परामर्श 

गर्न सकिने,

ज)  पदीय र पेसागत आचरण पालना गर्नुपर्ने,

झ)  आफ्नो जिम्मेवारी पन्छाउन नहुने,

ञ)  पदीय उत्तरदायित्व निर्वाह गर्नुपर्ने ।

अन्त्यमा प्रशासनिक कार्यसञ्चालन तथा निर्णय निर्माण सार्वजनिक निकायबाट सम्पादन हुने नियमित कार्य हो।प्रशासनिक निर्णय सरकारी निकायको दैनन्दिन कार्यसम्पादनदेखि जटिल नीतिगत विषयससँग समेत सम्बन्धित हुन सक्छन् । प्रशासनिक कार्यसञ्चालन तथा निर्णय निर्माणबाट नागरिक, निजी क्षेत्र, गैर सरकारी संस्था, कर्मचारी तथा अन्य सरकारी निकायलगायतका सरोकारवालालाई समेत प्रभावित हुन्छन् । सार्वजनिक प्रशासनलाई सेवाप्रदायक र सहजकर्ता संयन्त्रको रूपमा स्थापित गरेर नागरिकमा सुशासनको प्रत्याभूति दिलाउनु आजको आवश्यकता हो ।


२.  प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गर्दै प्रतिनिधि सभाको बैठकमा पालना गर्नुपर्ने नियम उल्लेख गर्नुहोस् ।

प्रतिनिधि सभाको कामकारबाहीलाई सुव्यवस्थित ढङ्गले सम्पादन गर्न सभामुखलाई परामर्श दिन गठन हुने समितिलाई कार्यव्यवस्था परामर्श समिति भनिन्छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ मा यससम्बन्धी व्यवस्था रहेको छ । प्रतिनिधि सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता, समय निर्धारण, दलीय सहमति जुटाउनेलगायत सभामुखले आवश्यक ठह¥याएको विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा पदेन सदस्यबाहेक बढीमा एक्काइस जना सदस्य रहेको कार्यव्यवस्था परामर्श समितिको गठन हुन्छ । उपसभामुख यस समितिको पदेन उपाध्यक्ष र संसदीय मामिला मन्त्री पदेन सदस्य रहने व्यवस्था छ । सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई बैठकमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्छन् । यस समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रूपमा र अन्य अवस्थामा आवश्यकता अनुसार बस्न सक्छ । समितिका मुख्य जिम्मेवारी यस प्रकार छन् :

प्रतिनिधि सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता निर्धारण गर्न सहयोग गर्ने,

बैठकमा पेस हुने विषयमाथि छलफल गर्ने समयावधि निर्धारण गर्न सहयोग गर्ने,

बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न परामर्श दिने, सभामुखले आवश्यक ठह¥याएको विषयमा सल्लाह दिने,

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबिच संवाद गरी अधिकतम सहमतिका आधारमा बैठक सञ्चालन गर्ने वातावरण तयार गर्ने,

संसदका कामकारबाहीलाई लोकतान्त्रिक र विधिसम्मत रूपमा सञ्चालन गर्न सहयोग गर्ने ।

प्रतिनिधिसभा बैठकमा पालना गर्नुपर्ने नियम :

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २० बमोजिम प्रतिनिधि सभाको बैठकमा देहायका नियमहरू पालना गर्नु पर्छ :

सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने,

सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने, 

बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने, 

सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने, 

बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने,

सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने, 

सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, 

सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने, 

सभामुखको आसनतर्फ पिठिउँ फर्काएर बस्न र उभिन नहुने, 

कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने, 

बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषयबाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने, 

बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने ।

अन्त्यमा सार्वभौमसत्ता सम्पन्न जनताबाट निर्वाचित प्रतिनिधि बहस र छलफल गरी कानुन निर्माण गर्ने स्थल भनेको संसद नै हो । यसको गरिमा र मर्यादा उच्च रहेको हुन्छ । संसद्को गरिमा कायम राख्दै संसदीय कामकारबाहीलाई व्यवस्थित ढङ्गले सम्पादन गरी प्रभावकारिता अभिवृद्धिका लागि संसद् र सभामुखबिच पुलको काम गर्ने संयन्त्रको रूपमा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ । यससँगै बैठकमा पालना गर्नुपर्ने नियमहरू, संसद् सदस्यको आचारसंहिता तथा बैठक सञ्चालनका लागि तय गरिएका कार्यविधिगत विषयले संसदीय कामकारबाहीलाई व्यवस्थित गर्न मद्दत गर्ने हुनाले यसको कार्यान्वयमा जोड दिनु पर्छ ।


३.  प्रतिनिधि सभाका सदस्यले पालना गर्नुपर्ने आचारसंहिता उल्लेख गर्दै आचारसंहिता अनुगमन संयन्त्रको बारेमा जानकारी प्रस्तुत गर्नुहोस् ।

कुनै संस्थामा आबद्ध सदस्यबाट संस्थाले अपेक्षा गरेको व्यवहार प्रदर्शन गराउने उद्देश्यले तय गरिएका नियम नै आचारसंहिता हुन् । प्रतिनिधि सभाका पदाधिकारी तथा संसद् सदस्यले संविधानबमोजिमको उत्तरदायित्व पूरा गर्न तथा निजहरूको कामकारबाहीमा सार्वजनिक विश्वास कायम गर्न प्रतिनिधि सभा नियमावली, २०७९ ले संसद् सदस्य र पदाधिकारीका लागि आचार संहिताको व्यवस्था गरेको छ । संसद् सदस्यलाई आफ्नो भूमिका र जिम्मेवारी बोध गराई सो तर्फ केन्द्रित गराउन तथा स्वार्थको द्वन्द्वबाट मुक्त गरी उनीहरूको गैरनैतिक कार्य एवं व्यवहारलाई नियन्त्रण गर्न आचरणका नियम आवश्यक मानिन्छन् ।

संसद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिताहरू :

सभाको लक्ष्य प्राप्त गर्न तथा सो उद्देश्यका लागि प्रतिनिधि सभा नियमावलीको पूर्ण पालन गर्ने,

समाजमा विद्यमान सामाजिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने,

सभाको बैठक वा आफू सदस्य भएको समितिमा उपस्थित भई यसका कामकारबाहीमा नियमित रूपमा भाग लिने तथा आफ्नो मताधिकारको प्रयोग गर्ने,

आफ्नो कर्तव्य निस्वार्थ रूपमा इमानदारीपूर्वक तथा वस्तुनिष्ठ भई उत्तरदायीपूर्ण रूपमा पालन गर्ने,

बैठकसँग सम्बन्धित हरेक कामकारबाहीमा सदस्यले सार्वजनिक उद्देश्यलाई महत्व दिने,

निजी स्वार्थ र सार्वजनिक स्वार्थका बिच द्वन्द्व हुने स्थिति भएमा स्पष्ट रूपमा सार्वजनिक स्वार्थका पक्षमा उभिने,

बैठकका कुनै कामकारबाहीमा व्यक्तिगत हितमा आर्थिक फाइदा वा शुल्क, पारिश्रमिक वा पारितोषिक लिई बोल्ने, मतदान गर्ने वा भाग लिने काम नगर्ने,

सदस्यको हैसियतमा प्राप्त भएका गोप्य सूचना तथा जानकारी बैठकको उद्देश्यको लागि मात्र प्रयोग गर्ने र आर्थिक फाइदाका लागि यसलाई कुनै अन्य व्यक्ति वा संस्थासँग लेनदेनको विषय नबनाउने,

सभा वा आफू सदस्य भएको समितिमा विचाराधीन रहेको कुनै विषयमा आफ्नो व्यक्तिगत वा निजी स्वार्थ गाँसिएको भएमा बैठक वा समितिलाई जानकारी गराई सो विषयमा छलफलमा भाग नलिने,

आचारसंहिताको अनुगमन संयन्त्र :

क)  प्रतिनिधि सभामा देहायबमोजिमको एक आचारण अनुगमन समिति रहने व्यवस्था रहेको छ ।

अ)  सभामुख – सभापति

आ)  उपसभामुख – उपसभापति

इ)  विपक्षी दलको नेता  – सदस्य

ई)  कार्यव्यवस्था परामर्श समितिको परामर्शमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा सभामुखद्वारा मनोनित १२ जना  – सदस्य

उ)  सङ्घीय संसद्को महासचिवले आचरण अनुगमन समितिको सचिव भई काम गर्ने ।

ख)  समितिको काम, कर्तव्य र अधिकार :

आचारसंहिता उल्लङ्घन गरेको भनी सार्वजनिक रूपमा उठेका प्रश्न वा कसैले समितिसमक्ष दिएको सूचनाको आधारमा आवश्यक छानबिन गर्ने,

आचरणका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धमा सम्बन्धित सदस्य तथा अन्य व्यक्तिसँग आवश्यक जानकारी लिने,

आचरणका सम्बन्धमा प्रश्न उठाउने व्यक्ति, संस्था वा सञ्चार माध्यमसँग आवश्यक जानकारी लिने,

सदस्यको आचरणका सम्बन्धमा उठेका प्रश्नको विषयमा छानबिन गर्दा सङ्कलित तथ्यबाट सम्बन्धित सदस्यले आचरणको उल्लङ्घन गरेको देखिने वा नदेखिने भन्ने सम्बन्धमा स्पष्ट निर्णय गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने ।

अन्त्यमा संसद् सदस्यको रूपमा संविधान र कानुनबमोजिम सपथ लिएपश्चात् पालना गर्नुपर्ने आचरणका नियमहरू नै संसद् सदस्यका आचारसंहिता हुन् । संसद्को गरिमा र मर्यादा कायम राख्दै सदस्यहरूको जिम्मेवारी एवं संविधान प्रतिको उत्तरदायित्व निर्वाह गराउन आचारसंहिताको महìव रहेको छ । आचारसंहिताको उल्लङ्घन संसदीय छानबिनको विषय बन्न सक्छ । यसका लागि अनुगमन संयन्त्रको समेत व्यवस्था रहेको छ । संसद सदस्यहरू स्वयं जिम्मेवार भई नियमावलीले व्यवस्था गरेका आचरणका नियम पालना गर्नुपर्ने देखिन्छ ।


४.  नेपालको प्रचलित कानुनबमोजिम कस्ता व्यक्ति शिक्षक पदमा उम्मेदवार हुन अयोग्य मानिन्छन् ? उल्लेख गर्नुहोस् । साथै शिक्षक सेवालाई समावेशी बनाउन व्यवस्था गरिएको आरक्षणसम्बन्धी प्रावधान जानकारी गराउनुहोस् ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा स्वीकृत गरेको दरबन्दीमा स्थायी शिक्षक पदपूर्तिका लागि सिफारिस गर्न शिक्षक सेवा आयोगको व्यवस्था गरिएको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ ले शिक्षक पदपूर्ति सम्बन्धमा विभिन्न नीतिगत तथा प्रव्रिmयागत व्यवस्था गरेको छ । नेपालको शिक्षा क्षेत्रमा समावेशिताको अभ्यास गर्ने सन्दर्भमा शिक्षक सेवामा आरक्षणसम्बन्धी व्यवस्था गरिएको छ । शिक्षक सेवा नियमावलीले व्यवस्था गरेबमोजिम शिक्षक पदमा उम्मेदवार हुन अयोग्य व्यक्ति तथा शिक्षक सेवामा आरक्षणसम्बन्धी नीतिगत विषय यस प्रकार 

रहेका छन् :

शिक्षक पदमा उम्मेदवार हुन अयोग्य हुने व्यक्ति :

क)  गैर नेपाली नागरिक,

ख)  १८ वर्ष उमेर नपुगेका व्यक्ति,

ग)  ४० वर्ष उमेर पूरा भएका व्यक्ति,

घ)  मगज बिग्रेको व्यक्ति,

ङ)  नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति,

च)  भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको व्यक्ति,

छ)  अध्यापन अनुमतिपत्र नलिएको व्यक्ति,

ज)  कानुनले तोकेको तालिम नलिएको व्यक्ति,

तर स्थायी नियुक्ति भई बहालवाला शिक्षकको रूपमा काम गरिरहेको शिक्षकलाई उम्मेदवार हुने बाधा नपुग्ने व्यवस्था रहेको छ ।

शिक्षक सेवामा आरक्षणसम्बन्धी व्यवस्था :

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदहरूमध्ये ४५ प्रतिशत पद छुट्याइ सो प्रतिशतलाई शत प्रतिशत मानी देहायबमोजिमका उम्मेदवारबिच छुट्ठाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिन्छ :

क)  महिला– ३३ प्रतिशत

ख)  आदिवासी/जनजाति– २७ प्रतिशत

ग)  तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा 

अल्पसङ्ख्यक मुसलमान समुदाय – २२ प्रतिशत

घ)  दलित– नौ प्रतिशत

ङ)  अपाङ्गता भएका व्यक्ति– पाँच प्रतिशत

च)  पिछडिएको समुदाय– चार प्रतिशत ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा  

Share:

मिति २०८२ साल चैत्र ४ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयत सामग्री


 सुशासनका प्रमुख तत्व

 १.  सुशासनका प्रमुख तत्व उल्लेख गरी मानव अधिकारको संरक्षण र संवर्धनमा सुशासनको महत्वबारे चर्चा गर्नुहोस् ।

सेवा प्रवाह, विपत् व्यवस्थापन, स्रोतसाधन परिचालनलगायत विविध सार्वजनिक मामिलाहरूको व्यवस्थापन जनमुखी, पारदर्शी, जवाफदेही, सहभागितामूलक एवं विधिसम्मत ढङ्गले सम्पन्न गरी नागरिकलाई शासनको सुखद अनुभूति गराउनुलाई सुशासन भनिन्छ । यो नागरिक हित केन्द्रित भई राज्यको स्रोतसाधन र अधिकारको प्रभावकारी ढङ्गले अभ्यास गर्ने शासकीय पद्धति पनि हो । मानवीय जीवनको मर्यादा, सम्मान, समानता, स्वतन्त्रता लगायतका विषय मानवका नैसर्गिक अधिकार हुन् । यी अधिकारको रक्षा र प्रचलनका लागि राज्यका निकाय क्रियाशील रहन्छन् । सुशासनको प्रमुख लक्ष्य मानव अधिकारको संरक्षण र संवर्धन गर्नु गराउनु हो । 

सुशासनका आधारभूत तत्व :

विधिको शासन,

पारदर्शिता,

जवाफदेहिता,

जनसहभागिता,

समावेशी,

सहमति उन्मुखता,

जनउत्तरदायी कार्यशैली,

दक्षता र प्रभावकारिता,

नैतिकता, सदाचार र निष्ठा ।

विश्व बैङ्कले उल्लेख गरेबमोजिम देहायका छ प्रकारका तत्वलाई पनि सुशासनका तìवका रूपमा उल्लेख गर्न सकिन्छ ः

आवाज र उत्तरदायित्व, 

राजनीतिक स्थायित्व,

सरकारको प्रभावकारिता,

नियामकीय गुणस्तर, 

विधिको शासन र 

भ्रष्टाचार नियन्त्रण ।

मानव अधिकारको संरक्षण र संवर्धनमा 

सुशासनको महत्व :

मानव अधिकारको सम्मान, संरक्षण, प्रचलन तथा संवर्धनका लागि सुशासनको महत्वलाई यस प्रकार बुझ्न सकिन्छ :

सुशासनमा राज्यका निकाय नागरिकप्रति जवाफदेही बन्नुपर्ने हुँदा मानव अधिकार उल्लङ्घनको सम्भावना न्यून रहन्छ ।

विधिको शासनमा आधारित भई राज्य सञ्चालन हुँदा नागरिक अधिकार सुरक्षित हुन्छन् । कार्यकारी निकायबाट मानव अधिकार हनन भएमा न्यायपालिकाले आदेशबाट हक प्रचलन गराउन सक्छ , शासकीय गतिविधिमा पारदर्शिता कायम हुँदा राज्यका कामकारबाहीबारे नागरिक जानकार हुने तथा आफ्ना अधिकारप्रति सचेत भई मानव अधिकारको संरक्षण र संवर्धनमा सहयोग पुग्छ ।

मानव अधिकार आयोगको स्थापना र कार्यसम्पादनका लागि अन्तर्राष्ट्रियस्तरमा स्थापित सिद्धान्त र असल अभ्यास अवलम्बन हुने हुँदा आयोगले प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्ने अवस्था रहन्छ ।

सहभागितामूलक नीति, योजना तथा निर्णय प्रक्रियाले समाजका विविधतापूर्ण पृष्ठभूमिका मानिसका आवश्यकता र प्राथमिकताको सुनुवाइ भई मानव अधिकारको अवस्था सुदृढ बन्न सक्छ ।

राज्यशक्तिको सन्तुलित र विवेकसम्मत प्रयोगबाट नागरिकका पृथक् आवश्यकता र प्राथमिकताको उच्च सम्मान र सम्बोधन भई मानव अधिकारको संरक्षण हुन सक्छ ।

स्रोतसाधन परिचालनमा दक्षता र प्रभावकारितासँगै स्रोतसाधनको महत्तम उपयोग भई नागरिकका हक अधिकार प्रचलन गराउन सहज हुन्छ ।

सुशासनमा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धन भई सार्वजनिक स्रोतको सदुपयोग हुने हुँदा मानव अधिकारको संरक्षण र संवर्धनका लागि सहज रूपमा स्रोत प्रबन्ध गर्न सकिन्छ ।

सरकार प्रभावकारी रूपमा सञ्चालित हुँदा विपत्, महामारी, युद्ध जस्ता विषम परिस्थितिमा पनि मानव अधिकार संरक्षण र प्रचलन कार्य सहज बन्छ ।

सुशासन नहुँदा कानुनको कमजोर कार्यान्वयन र सार्वजनिक सेवाको असमान वितरणका कारण कमजोर वर्गको अधिकार हनन हुने सम्भावना रहन्छ । राज्यका संयन्त्र दुरुपयोग भई मानव अधिकार उल्लङ्घन बढ्दै जाने अवस्था रहन्छ ।

अन्त्यमा सुशासन र मानव अधिकार परस्पर सम्बन्धित अवधारणा हुन् । सुशासनले नागरिकका हक अधिकार रक्षा र प्रचलन गराउन मद्दत गर्छ भने सुशासन प्राप्त गर्नु मानव अधिकारको सवाल हो । सुशासनले पारदर्शिता, जवाफदेहिता, विधिको शासन, सहभागिता, समावेशीको माध्यमबाट मानिसको मर्यादित जीवन, सम्मान, स्वतन्त्रता, समानतालगायतका आधारभूत अधिकार सुनिश्चित गर्छ । सुशासनले मात्र समाजमा रहेका सबै प्रकारका मानिसको मानव अधिकारको संरक्षण र संवर्धनको प्रत्याभूति गर्न सक्छ ।


२.  नेपालको विद्यमान कानुनी व्यवस्था अनुसार निजामती सेवाको पदमा उम्मेदवार हुन अयोग्य हुने अवस्थाहरू उल्लेख गर्नुहोस् ।

नेपालमा निजामती सेवा अन्तर्गत विभिन्न सेवाहरू रहेका छन् । ती सेवाका विभिन्न श्रेणीमा प्रशासनिक, प्राविधिक र विशेषज्ञ पदहरू रहेका छन् । श्रेणीविहीन पद पनि रहेका छन् । नेपालको संविधानको धारा २४३ ले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐनबमोजिम तोकिएको अन्य सेवाको पदबाहेक नेपाल सरकारका अरू सबै सेवाको पदलाई निजामती सेवाको पद भनी परिभाषित गरेको छ ।

निजामती सेवा ऐन, २०४९ अनुसार देहायका व्यक्ति निजामती सेवाको पदमा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था रहेको छ :

राजपत्र अनङ्कित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा नभएको,

राजपत्राङ्कित पदमा २१ वर्ष उमेर पूरा नभएको,

पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा भएको तर भूतपूर्व सैनिक वा प्रहरी नियुक्त हुने पदमा ४० वर्ष ननाघेका, तोकिएका अपाङ्गता भएका व्यक्तिको हकमा चालिस वर्ष ननाघेका, राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको खुला प्रतियोगितामा ४५ वर्ष ननाघेका व्यक्ति उम्मेदवार हुन सक्छन् । त्यस्तै स्थायी बहालवाला कर्मचारीको हकमा र विकास योजनातर्फ पाँच वर्ष अस्थायी पदमा कार्यरत महिलाका लागि खुला प्रतियोगिताको हकमा उमेर हद नलाग्ने व्यवस्था रहेको छ ।

भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका,

गैरनेपाली नागरिक,

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको । 

अतः निजामती सेवालाई सक्षम, प्रतिस्पर्धी र नैतिकवान् व्यक्तिको सेवाको रूपमा स्थापित गर्न उल्लिखित व्यवस्था गरिएको छ । निजामती सेवालाई समावेशी बनाउन सेवा प्रवेश उमेरमा महिला र अपाङ्गता भएका व्यक्तिलाई विशेष सहुलियत प्रदान गरिएको छ ।


३.  रोजगार सेवा केन्द्रका काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् । 

नेपालको संविधानमा सङ्घ र प्रदेशको साझा सूचीमा रोजगारी तथा बेरोजगार सहायतासम्बन्धी विषय र स्थानीय तहको एकल अधिकारको सूचीमा बेरोजगारको तथ्याङ्क सङ्कलनसम्बन्धी विषय उल्लेख गरिएको छ । यी जिम्मेवारी सम्पादन गर्न तहगत सरकारबिच समन्वय र सहकार्य आवश्यक पर्छ । रोजगारीको हकसम्बन्धी ऐन र नियमावलीले रोजगार सेवा केन्द्रको स्थापना, सञ्चालन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरेका छन्, जस अनुसार प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहन्छ र सोको सञ्चालन गर्न नेपाल सरकारले रोजगार संयोजकको व्यवस्था गर्छ । केन्द्रको सञ्चालन गर्न स्थानीय तहले कामकाज गर्ने गरी आवश्यक कर्मचारी खटाउन सक्छ । 

रोजगार सेवा केन्द्रका काम, कर्तव्य र अधिकार :

स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अध्यावधिक गर्ने,

सूचीकृतलाई परिचयपत्र वितरण गर्ने,

स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरको पहिचान गरी सूचना प्रवाह गर्ने,

रोजगारीको सम्भाव्य स्थितिको विश्लेषण गरी तथ्याङ्क सङ्कलन, रोजगार नक्साङ्कन, र रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने,

रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने,

रोजगारदाताबाट माग भएबमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,

बेरोजगार व्यक्तिको ज्ञान, सिप, योग्यता, अनुभव र बजार मागको आधारमा सिप विकास तालिमको पहिचान गरी तालिम केन्द्रमा सिफारिस गर्ने,

आफ्ना कामकारबाहीको गाउँ कार्यपालिका तथा नगरकार्यपालिकामा नियमित प्रतिवेदन गर्ने,

आफूले गरेको कामकारबाहीको सङ्घ र प्रदेशमा तोकिएको ढाँचामा प्रतिवेदन गर्ने,

आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि सूचना सम्प्रेषण गर्ने,

वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण कार्यमा सहयोग गर्ने,

बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने, रोजगार सम्बन्धमा सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने, नेपाल सरकारबाट निर्देशित अन्य कार्य गर्ने ।

अन्त्यमा संविधानमा उल्लेख भएका मौलिक हकको कार्यान्वयन गर्ने जिम्मेवारी तीन वटै तहका सरकारमा रहेको छ । सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रको क्षमता विकास र कामकारबाहीबारे प्रचारप्रसार गरी केन्द्रको प्रभावकारी कार्यसञ्चालनमार्फत रोजगारीको हक कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।


४.  राष्ट्रिय मानव अधिकार आयोगको छैटौँ रणनीतिक योजनाले तय गरेबमोजिम आयोगका मूल्यमान्यता र रणनीतिक उद्देश्य उल्लेख गर्नुहोस् । 

राष्ट्रिय मानव अधिकार आयोग नेपालका संवैधानिक निकायमध्ये एक महìवपूर्ण संवैधानिक निकाय हो । नेपालमा मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु आयोगको प्रमुख कर्तव्य हो । आयोगले आफ्ना काम, कर्तव्य र अधिकारलाई संवैधानिक मर्म अनुरूप सञ्चालित गर्दै नेपालमा मानव अधिकारको संरक्षण र संवर्धनका लागि काम गर्दै आएको छ । हाल कार्यान्वयनमा रहेको आयोगको छैटौँ रणनीतिक योजनामा उल्लेख भएका मूल्य, मान्यता र रणनीतिक उद्देश्य यस प्रकार छन् :

क)  मूल्य मान्यता :

स्वतन्त्रता,

समानता र विभेदको अन्त्य,

निष्पक्षता,

मर्यादा,

विधिको शासन,

पहुँच, सहभागिता र समावेशीकरण,

जवाफदेहिता,

लैङ्गिक समानता,

पारदर्शिता,

विविधताको सम्मान,

सदाचारिता ।

ख)  रणनीतिक उद्देश्य :

मानव अधिकार उल्लङ्घनका उजुरी व्यवस्थापन, अनुसन्धान तथा सिफारिस÷निर्णय कार्यान्वयनको सुनिश्चितता गर्नु,

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय कानुन कार्यान्वयन अवस्थाको अनुगमन गरी मानव अधिकार अवस्थामा सुधार ल्याउनु,

मानव अधिकारको चेतना अभिवृद्धि गर्न प्रवर्धनात्मक कार्य गर्नु,

सीमान्तकृत तथा वञ्चितीकरणमा पारिएका समुदायका हक अधिकारहरूको उपभोग गर्ने वातावरण बनाउनु,

मानव अधिकारसम्बन्धी कानुन पुनरवलोकन र मानव अधिकारका विविध विषयमा खोजमूलक अध्ययन अनुसन्धान गर्नु,

सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकार, संवैधानिक अङ्गहरू, नागरिक समाज तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै जानु,

आयोगको संस्थागत सुदृढीकरण, प्रविधिको उच्चतम प्रयोग तथा मानव संसाधनको क्षमता अभिवृद्धि गर्नु । 

अतः नेपालमा मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न माथि उल्लेख भएका मूल्य मान्यता र रणनीतिक उद्देश्यहरूले आयोगलाई रणनीतिक मार्गदर्शन गरेका छन् ।


५.  सुशासन व्यवस्थापन तथा सञ्चालन) ऐन र नियामावलीले व्यवस्था गरेबमोजिम शासकीय सुधार एकाइका जिम्मेवारी उल्लेख गर्नुहोस् ।

सरकारका कामकारबाहीलाई शासकीय सुधारको मान्यता अनुरूप सञ्चालन गर्न सुशासन 

व्यवस्थापन तथा सञ्चालन) ऐनले प्रत्येक मन्त्रालयमा शासकीय सुधार एकाइ गठन गरिने कुरा उल्लेख गरिएको छ । यस एकाइको प्रमुख काम नेपाल सरकारका विभिन्न मन्त्रालयबाट सम्पादन हुने कार्यलाई शासकीय सुधारको मान्यता अनुरूप निरन्तर रूपमा सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन र सञ्चालन गर्न अभिप्रेरित गर्नु हो । सुशासन नियमावलीमा उल्लेख भएबमोजिम यस एकाइका जिम्मेवारी यस प्रकार छन् ः

मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने,

मन्त्रालयसम्बन्धी कार्य प्रक्रिया र कार्यविधि सुधारका लागि निरन्तर क्रियाशील रहने,

सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताहरूको प्रयोगबाट कार्यालयको कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने,

शासकीय सुधारको सम्बन्धमा तालिम, गोष्ठी र अन्तर्क्रिया सञ्चालन गर्ने, गराउने,

शासकीय सुधारलाई शासन व्यवस्थाको अभिन्न अङ्गको रूपमा विकास गर्ने,

सार्वजनिक सेवा वितरण र शासकीय सुधारको सम्बन्धमा अवलोकन र अनुगमन गरी मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई मितव्ययी, दक्ष र जनमुखी बनाउने,

सूचना प्रविधिको उपयोगका बहुपक्षीय क्षेत्रको खोजी गर्ने । अन्त्यमा मुलुकको शासकीय प्रबन्धमा विद्यमान नीति, कानुन, संरचना, कार्यप्रणाली र व्यवहारमा देखिएका कमीकमजोरी सुधार गर्दै सार्वजनिक निकायलाई दक्ष, मितव्ययी, पारदर्शी र जनउत्तरदायी बनाई नागरिकमा सुशासनको अनुभूति दिलाउने प्रयासको रूपमा शासकीय सुधारलाई बुझ्न सकिन्छ । यो राजनीति, प्रशासन र नागरिक सबैको साझा मुद्दा हो । शासकीय सुधारका लागि राजनीतिक नेतृत्व, प्रशासनिक प्रतिबद्धता र नागरिक दबाब भएमा शासकीय सुधार प्रयासलाई निष्कर्षमा पु¥याउन सकिन्छ ।


६.  वातावरणमैत्री स्थानीय शासनले समेट्ने प्रमुख विषय क्षेत्र उल्लेख गर्नुहोस् ।

दिगो विकास र पर्यावरणीय सन्तुलनप्रति केन्द्रित भई स्थानीयस्तरमा नीति, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने अवधारणा नै वातावरणमैत्री स्थानीय शासन हो । स्थानीय सरकार, समुदाय र स्थानीय नागरिकको सव्रिmय सहभागितामा वातावरणमैत्री स्थानीय शासन प्रवर्धन गर्न सकिन्छ । स्थानीय सरकारले समुदायसँगको सहकार्यमा वातावरणीय प्रभाव न्यूनीकरण गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग गर्न र पर्यावरणीय सन्तुलन कायम राख्न यस अवधारणाले जोड दिएको छ । 

वातावरणमैत्री स्थानीय शासनमा समावेश हुने विषय क्षेत्र :

फोहोरमैला व्यवस्थापन, हरियाली र सहरी सौन्दर्य प्रवर्धन,

स्वच्छ ऊर्जा र वातावरणमैत्री यातायात प्रणाली प्रवर्धन,

भूउपयोग तथा सहरी बसोबास व्यवस्थापन,

स्वच्छ खानेपानी र सरसफाइको प्रबन्ध,

वन तथा भूसंरक्षण,

जलस्रोत र जलाधारको संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र विपत् व्यवस्थापन,

प्रदूषण रोकथाम, नियन्त्रण र न्यूनीकरण,

प्राङ्गारिक कृषि पद्धतिको अवलम्बन,

वातावरणीय शिक्षा र सचेतना अभिवृद्धि,

वातावरणीय न्याय प्राप्ति,

सरोकारवालाबिचको सहकार्य र साझेदारी विस्तार ।

अन्त्यमा वातावरणमैत्री स्थानीय शासनको अभ्यासमार्फत नागरिकका लागि बस्न र बाँच्न सकिने वातावरणको सुनिश्चित गर्न सकिन्छ । यसैबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । संविधान प्रदत्त नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न स्थानीयस्तरदेखि नै वातावरणमैत्री व्रिmयाकलाप सञ्चालन गर्नु आवश्यक छ । स्थानीय सरकारहरूले वातावरणमैत्री स्थानीय शासन प्रवर्धनका लागि सकारात्मक पहलकदमी लिनु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा  

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages