कुसुन्डा भाषा बोल्ने एक मात्र ब्यक्ति - राजामामा

आमा ज्युँदो हुँदा पहिले हामी हाम्रै भाषामा कुराकानी गर्थ्यौँ । अहिले एक्लै बोलौँ भने सबैले पागल भयो भन्लान् । आमा खसेपछि बोल्ने कोही छैनन्,’ व्यास ५ डिहिगाउँमा बस्दै आएका मुलुककै एक्ला कुसुन्डा भाषी ७० वर्षीय राजामामाले भने, ‘जस्तो सुकै नियम बने पनि हामीलाई खान दिनपर्‍यो । मेरो भाषा बोल्ने कोही छैनन् । त्यो पनि बचाउनुपर्‍यो ।
कुसुन्डा भाषा बोल्ने मुलुकमै दोस्रो कोही नहुँदा भाषा मर्ला कि भन्ने चिन्ताले आफूलाई सताएको उनले बताए । आमा विष्णुमायाको करिब २७ वर्ष पहिले मृत्यु भएपछि भाषा समेत विर्संदै गएको र संरक्षणका लागि कसैले चासो नदिएको उनले बताए । ३९ वर्षीया श्रीमती इन्द्रमायासमेत तामाङकी छोरी भएकाले ६ वर्षीया छोरी सिमान्तालाई कुसुन्डा भाषा सिकाउने चाहना भए पनि एक्लैले सम्भव नभएको उनले बताए । नयाँ संविधानबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । संविधानको प्रारम्भिक मस्यौदा हातैमा राखिदिएपछि उनले आफू लेखपढ गर्न नजान्ने बताए ।
नयाँ संविधान भनेको यो हो भनेर कसैले भनेका छैनन् । त्यसैले मलाई केही थाहा छैन,’ उनले मस्यौदा हेर्दै भने, ‘मेरा लागि त कालो अक्षर भैंसी बराबर । माथिका नाइकेहरूलाई सबै कुरा थाहा होला । मलाई केही थाहा छैन ।आफूले टेलिभिजनमा समाचार समेत नहेर्ने भएकाले मुलुकका बारेमा आफू अनभिज्ञ रहेको उनले जानकारी दिए । आफ्नो भाषालाई राज्यले संरक्षण गर्नुपर्छ भन्दै आए पनि राज्यले वास्तै नगर्दा दु:ख लागेको र संरक्षणका गर्नुपर्‍यो भन्नसमेत छाडेको उनले बताए । केही वर्ष पहिले विदेशीले बरु सोधखोज गरेर गए,’ उनले भने, ‘तर यहाँका नाइकेहरूलाई हाम्रो भाषाको केको चिन्ता छ र ? उनीहरू आउने र जानेमात्र हुन् ।
नेपालको दाङमा रहेका कुसुन्डाहरूले आफूलाई करिब दुई वर्ष पहिले घरमा नै आएर भेटेको र भेटमा आफूले भाषा बारे सोध्दा उनीहरू बेखवर रहेको उनले जानकारी दिए । कुसुन्डा हुँ भन्नेलाई नै भाषाको वास्ता छैन भने अरूलाई केको वास्ता,’ उनले भने, ‘कुसुन्डा हुँ भन्नेलाई भाषा सिकाउने मन छ । नाइकेहरूले त्यो मिलाइदिनपर्‍यो ।
कुसुन्डा भाषामा चासो राखेर आफूले सिक्ने प्रयास गरे पनि राजामामाले झर्को मान्ने गरेकाले सिक्न नसकेको श्रीमती इन्द्रामायाले बताइन् ।


 स्रोतः इ कान्तिपुर
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages