मिति २०८२ पौष ९ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयगत प्रश्नोत्तर

 


दिगो विकास लक्ष्य

१.  दिगो विकास लक्ष्यको अवधारणा उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घबाट तयार गरी विश्वव्यापी रूपमा अवलम्बन गरिएका दिगो विकासका लक्ष्यहरूको सूची तयार पार्नुहोस् ।

पृथ्वीको धान्न सक्ने क्षमताभित्र रही मानव जीवनमा समृद्धि र समाजमा शान्ति हासिल गर्न संयुक्त राष्ट्रसङ्घद्वारा तयार पारी विश्वव्यापी रूपमा अवलम्बन गरिएका विकासका साझा कार्यसूचीलाई दिगो विकासका लक्ष्य भनिन्छ । दिगो विकासका लक्ष्यले विश्वव्यापी रूपमा समृद्धिको सिर्जना, वितरण र दिगोपना हासिल गर्ने कुरामा जोड दिन्छन् । दिगो विकास लक्ष्यमा देहायका पाँच स्तम्भ रहेका छन् :

क)  मानव : सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गरी मानवीय मर्यादा एवं समानता कायम गर्ने,

ख)  पृथ्वी : पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोतसाधन र वातावरण भावी पुस्ताले समेत उपभोग गर्न पाउने गरी संरक्षण गर्ने, 

ग)  समृद्धि : प्रकृतिसँग सामञ्जस्यता कायम गरी समृद्ध र समुन्नत जीवनको सुनिश्चितता गर्ने,

घ)  शान्ति : शान्तिपूर्ण, समन्यायिक र समावेशी समाजको निर्माण गर्ने,

ङ)  साझेदारी : सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका कार्यसूचीको कार्यान्वयन गर्ने ।

दिगो विकासका लक्ष्य :

संयुक्त राष्ट्रसङ्घद्वारा तयार पारिएका दिगो विकासका १७ लक्ष्यलाई सङ्क्षिप्तमा देहायबमोजिम प्रस्तुत गरिएको छ ः

क)  गरिबी उन्मूलन,

ख)  शून्य भोकमरी,

ग)  सु–स्वास्थ्य र कल्याण,

घ)  गुणस्तरीय शिक्षा,

ङ)  लैङ्गिक समानता,

च)  स्वच्छ पिउनेपानी र सरसफाइ,

छ)  किफायती र स्वच्छ ऊर्जा,

ज)  मर्यादित रोजगारी र आर्थिक वृद्धि,

झ)  उद्योग, नवप्रवर्तन र पूर्वाधार,

ञ)  असमानताको न्यूनीकरण,

ट)  दिगो सहर र समुदाय,

ठ)  जिम्मेवारपूर्ण उत्पादन र उपभोग,

ड)  जलवायुमा पहल,

ढ)  पानीमुनीको जीवन,

ण)  जमिनमाथिको जीवन,

त)  शान्ति, न्याय र सबल संस्था,

थ)  लक्ष्य प्राप्तिमा साझेदारी ।

अन्त्यमा दिगो विकासका लक्ष्य मानव विकास, मानव अधिकार, पर्यावरणीय दिगोपना, अन्तरपुस्ता समन्याय, समावेशी विकास जस्ता मान्यताबाट निर्देशित छन् । यिनीहरू अन्तरसम्बन्धित र अन्तरनिर्भर पनि छन् । यी लक्ष्य हासिल गर्नका लागि बहुसरोकारवालाबिच ज्ञान, विज्ञता, प्रविधि र स्रोतसाधन परिचालनमा सहकार्य र साझेदारी आवश्यक छ ।


२.  नेपालले लिएको विकासको दीर्घकालीन सोच र दीर्घकालीन राष्ट्रिय लक्ष्य उल्लेख गर्दै दीर्घकालीन सोचका प्रमुख परिमाणात्मक लक्ष्य प्रस्तुत गर्नुहोस् ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको छ । संविधानले अङ्गीकार गरेको विकास केन्द्रित सोचलाई आवधिक योजनाको माध्यमबाट क्रमशः हासिल गर्दै अगाडि बढ्न नेपाल सरकारले २५ बर्से दीर्घकालीन सोच (२०७६–२१००) अगाडि सारेको छ । दीर्घकालीन सोच अनुरूप यस अवधिमा १५ औँ योजनादेखि १९ औँ योजनासम्म पाँच वटा आवधिक योजना कार्यान्वयन गरिनेछन् । समृद्ध नेपाल, सुखी नेपालीको आदर्शबाट निर्देशित दीर्घकालीन सोच यसप्रकार रहेको छ :

दीर्घकालीन सोच : समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक ।

दीर्घकालीन राष्ट्रिय लक्ष्य : 

दीर्घकालीन राष्ट्रिय लक्ष्य अन्तर्गत समृद्धिका चार र सुखका छ वटा लक्ष्य तय गरिएका छन् :

क)  समृद्धितर्फ :

सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता,

मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग,

उच्च र दिगो उत्पादन एवं उत्पादकत्व,

उच्च र समतामूलक राष्ट्रिय आय ।

ख)  सुखतर्फ :

परिष्कृत तथा मर्यादित जीवन,

सुरक्षित, सभ्य र न्यायपूर्ण समाज,

स्वस्थ र सन्तुलित पर्यावरण,

सुशासन,

सबल लोकतन्त्र,

राष्ट्रिय एकता, सुरक्षा र सम्मान ।

दीर्घकालीन सोचका प्रमुख परिमाणात्मक लक्ष्य :

नेपालले लिएको विकासको दीर्घकालीन सोच अनुसार विसं २१०० सम्ममा नेपालमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको क्षेत्रमा देहायबमोजिमको उपलब्धि हासिल हुने छ :

क)  आर्थिक वृद्धिदर १०.५ प्रतिशत पुग्ने,

ख)  प्रतिव्यक्ति राष्ट्रिय आय १२,१०० अमेरिकी डलर पुग्ने,

ग)  गरिबीको रेखामुनी रहेको जनसङ्ख्या –निरपेक्ष गरिबी) शून्यमा झरेको हुने,

घ)  सम्पत्तिमा आधारित गिनी गुणक ०.२५० पुगेको हुने,

ङ)  श्रमशक्ति सहभागिता दर –१५ वर्षमाथि) ७२ प्रतिशत पुगेको हुने,

च)  रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ७० प्रतिशत पुगेको हुने,

छ)  विद्युत् उत्पादन –जडित क्षमता) ४० हजार मेगावाट पुगेको हुने,

ज)  विद्युत्मा पहुँच प्राप्त परिवार १०० प्रतिशत पुगेको हुने,

झ)  ३० मिनेटसम्मको दुरीमा यातायात पहुँच भएको परिवार ९९ प्रतिशत पुगेको हुने,

ञ)  राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग ३६ हजार किलोमिटर पुगेको हुने,

ट)  इन्टरनेटमा पहुँच प्राप्त जनसङ्ख्या १०० प्रतिशत पुगेको हुने,

ठ)  अपेक्षित आयु –जन्म हुँदाको) ८० वर्ष पुगेको हुने,

ड)  मातृ मृत्युदर –प्रतिलाख जीवित जन्ममा) २० जनामा झरेको हुने,

ढ)  पाँच वर्षमुनिको बाल मृत्युदर –प्रतिहजार जीवित जन्ममा) आठ जनामा झरेको हुने,

ण)  साक्षरता दर (पाँच वर्षमाथि) ९९ प्रतिशत पुगेको हुने,

त)  उच्च शिक्षामा कुल भर्नादर ४० प्रतिशत पुगेको हुने,

थ)  उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या ९५ प्रतिशत पुगेको हुने,

द)  आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या १०० प्रतिशत पुगेको हुने,

ध) लैङगिक विकास सूचकाङ्क ०.९९ पुगेको हुने,

न)  मानव विकास सूचकाङ्क ०.७६० पुगेको हुने । 

अन्त्यमा विकासको दीर्घकालीन सोचले मुलुकमा व्याप्त सबै प्रकारका विभेद, बहिष्करण एवं वञ्चितीकरणका अवशेष र विकासका अवरोध समाप्त गरी समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्न जोड दिएको छ । 

नेपाल सरकारले तय गरेको दीर्घकालीन सोचलाई तिनै तहका सरकारले साझा गन्तव्यका रूपमा लिई सङ्घ, प्रदेश तथा स्थानीय तहका नीति, योजना र बजेटले गन्तव्यलाई पछ्याउनु पर्छ । 

सरकार बाहिरका विकास साझेदारको स्रोतसाधनलाई समेत सोही अनुसार परिचालन गराउनु पर्छ ।


३.  नेपालको संविधानमा उल्लेख भएको विकाससम्बन्धी नीति प्रस्तुत गर्दै यस नीतिको कार्यान्वयनका लागि गरिएका प्रयासहरू चर्चा गर्नुहोस् ।

नेपालको संविधानको धारा ५१ मा राज्यका नीति उल्लेख गरिएको छ ।यी नीतिहरूले सरकारको कार्यसम्पादनलाई लागि महत्वपूर्ण आधार प्रदान गर्छन् । संविधानमा उल्लेख भएको विकाससम्बन्धी नीति यस प्रकार रहेको छ ः

क्षेत्रीय सन्तुलनसहितको समावेशी आर्थिक विकासका लागि क्षेत्रीय विकासको योजना अन्तर्गत दिगो सामाजिक आर्थिक विकासका रणनीति र कार्यक्रम तर्जुमा गरी समन्वयात्मक तवरले कार्यान्वयन गर्ने,

विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा भौतिक पूर्वाधारको विकास गर्ने,

विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने,

वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने,

राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरी त्यसमा सर्वसाधारण जनताको सरल र सहज पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने,

विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिँदै आमजनताले न्यायोचित रूपमा पाउने व्यवस्था गर्ने,

एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरण एकीकृत रूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने,

जनसाङ्ख्यिक तथ्याङ्कलाई अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने ।

संविधानमा उल्लेख भएको विकाससम्बन्धी नीति कार्यान्वयनका लागि गरिएका प्रयास :

नेपालको संविधानमा उल्लेख भएको विकाससम्बन्धी नीति कार्यान्वयनका लागि कानुनी, संस्थागत तथा कार्यक्रमगत प्रयास गरिएको छ । केही मुख्य प्रयास यस प्रकार छन् ।

क)  नेपाल सरकार कार्यविभाजन नियमावलीले विषयगत मन्त्रालय र तिनका कार्यजिम्मेवारी निर्धारण गरी मुलुकको समग्र विकासको लागि विषयगत नीति, कानुन, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि जिम्मेवार बनाइएको छ । नीतिगत समन्वयका लागि राष्ट्रिय योजना आयोगलाई जिम्मेवार बनाइएको छ,

ख)  सुशासन –सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ ले प्रशासनिक कार्य सञ्चालन गर्दा जनसहभागिता र स्थानीय स्रोतको अधिकतम प्रयोग गर्ने कुरामा जोड दिएको छ,

ग)  सार्वजनिक खरिद ऐन, २०६३ मा लाभग्राही समुदाय वा उपभोक्ता समितिबाट निर्माणसम्बन्धी काम गराउन वा सेवा लिन सकिने व्यवस्था रहेको छ,

घ)  अनुगमन तथा मूल्याङ्कन ऐन, २०८० ले अनुगमन तथा मूल्याङ्कनको आधार र विधि निर्धारण गरेको छ । तेस्रो पक्षबाट समेत अनुगमन वा मूल्याङ्कन गर्न सकिने व्यवस्था गरी जनसहभागितामा जोड दिएको छ । राष्ट्रिय विकास समस्या समाधान समिति, मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति जस्ता संयन्त्रको व्यवस्था गरी यी संयन्त्रलाई विकास नीति, योजना तथा सोको प्रगति समीक्षा, समस्याको समाधानलगायतका विषयमा जिम्मेवार बनाइएको छ, 

ङ)  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय बुद्धिजीवी, विषयविज्ञ, पेसाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदायलगायतका सरोकारवालाको अधिकतम सहभागितामा गर्नुपर्ने तथा सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती र टोलस्तरबाट योजनाको माग सङ्कलन, 

छनोट एवं प्राथमिकीकरण गर्नुपर्ने कुरामा जोड दिएको छ,

च)  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी राज्य सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने कानुनी व्यवस्था गरेको छ,

छ)  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले आयोजना बैङ्क, आयोजना वर्गीकरण, मध्यमकालीन खर्च संरचनालगायत अन्य कार्यविधिगत प्रबन्धमार्फत स्रोतसाधन परिचालन र सोको नतिजामूलक व्यवस्थापन एवं वित्तीय जवाफदेहितामा जोड दिएको छ,

ज)  दिगो विकास लक्ष्य र सूचकहरू निर्धारण 

गरी तहगत सरकारको जिम्मेवारी किटान गरिएको छ,

झ)  वार्षिक बजेटलाई दिगो विकास, लैङ्गिक उत्तरदायित्व, गरिबी निवारण, जलवायु परिवर्तनलगायतका दृष्टिले कोडिङ गरी स्रोत विनियोजन र खर्चको अनुगमन गर्ने गरिएको छ,

ञ)  बृहत् आर्थिक तथा सामाजिक प्रभाव पार्ने ठुला प्रकृतिका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा तथा आर्थिक सामाजिक रूपान्तरणमा सहयोग गर्ने आयोजनालाई रूपान्तरणकारी आयोजनाको रूपमा पहिचान गरी भौतिक पूर्वाधार विकासलाई प्रयासलाई गति दिइएको छ, 

ट)  तिनै तहका सरकारले दीर्घकालीन सोचसँग आबद्ध हुने गरी आवधिक योजना तर्जुमा र कार्यान्वयन गर्दै आएका छन् । आवधिक योजनासँग तादात्म्यता कायम गर्दै वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरी क्षेत्रीय सन्तुलन र समावेशी आर्थिक विकासमा जोड दिने गरिएको छ,

ठ) अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटको माध्यमबाट प्रदेश तथा स्थानीय तहमा स्रोत हस्तान्तरण गर्ने व्यवस्थासँगै सन्तुलित र समन्यायिक विकासको प्रयास गरिएको छ, 

ड)  समाजमा जोखिममा परेका वर्ग, क्षेत्र र समुदायका मानिसलाई सामाजिक सुरक्षाका कार्यक्रमको माध्यमबाट संरक्षण गरी सामाजिक न्याय प्रदान गर्न विभिन्न कार्यक्रम लागु गरिएको छ, 

ढ)  विद्युतीय सुशासन आयोग, सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्रलगायतका निकाय विद्युतीय सुशासन सुनिश्चित गर्ने र विकास प्रक्रियामा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने वातावरण तयार गर्न निरन्तर रूपमा क्रियाशील रहेका छन्, 

ण)  प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना तथा आवधिक रूपमा क्षेत्रगत गणनाबाट प्राप्त हुने तथ्याङ्कलाई राष्ट्रिय विकास प्रयासमा उपयोग गर्न राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय योजना आयोगको भूमिका रहने गरेको छ । 

अन्त्यमा राज्यका नीति कार्यान्वयन तिनै तहका सरकारको साझा जिम्मेवारी हो । संविधानप्रदत्त अधिकारको सीमाभित्र रही तिनै तहका सरकारले आफ्ना क्षेत्राधिकारभित्रका विषयमा नीति, कानुन, योजना तथा कार्यक्रम तर्जुमा गरी राज्यका नीति कार्यान्वयनमा योगदान गर्छन् । राज्यका नीतिको कार्यान्वयनको सम्बन्धमा संसदीय समितिमार्फत वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन हुन जरुरी छ । 

४.  प्रदेश तथा स्थानीय तहहरूले नेपाल सरकारबाट प्राप्त गर्ने अनुदान र राजस्व बाँडफाँटको मुख्य उद्देश्य र कानुनी आधारबारे चर्चा गर्नुहोस् ।

नेपाल सरकारबाट अनुदान र राजस्व बाँडफाँट गरी दुई तरिकाले प्रदेश तथा स्थानीय तहहरूले वित्तीय स्रोत प्राप्त गर्छन् । अनुदान अन्तर्गत समानीकरण अनुदान, ससर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान पर्छन् । आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क र मूल्य अभिवृद्धि कर तर्फ नेपाल सरकारले सङ्कलन गरेको राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहले निश्चित हिस्सा प्राप्त गर्छन् । प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँटबाट पनि सम्बन्धित प्रदेश र स्थानीय तहले निश्चित रकमप्राप्त गर्छन् । नेपाल सरकारबाट प्राप्त गर्ने अनुदान र राजश्व बाँडफाँटको उद्देश्य तथा कानुनी आधार यस प्रकार छन् :

अनुदान र राजस्व बाँडफाँटको उद्देश्य :

समानीकरण अनुदान प्रदेश तथा स्थानीय तहको खर्च आवश्यकता पूरा गर्न प्रदान गरिने,

ससर्त अनुदान राष्ट्रिय नीति, मानक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र साझा अधिकारक्षेत्र भित्रका कार्य सम्पादन गर्न प्रदान गरिने,

प्रदेश तथा स्थानीय तहले आफैँले पहिचान गरी कार्यान्वयन गर्न खोजेका कार्यक्रम तथा आयोजनाका लागि अपुग स्रोतको प्रबन्ध समपूरक अनुदानको माध्यमबाट गरिने,

प्रदेश तथा स्थानीय तहको विशेष आवश्यकता पूरा गर्न आयोजना तथा कार्यक्रममा आधारित भई विशेष अनुदान प्रदान गरिने,

राजस्व बाँडफाँट र रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम प्रदेश तथा स्थानीय तहले प्रशासनिक खर्च, साँवा ब्याज भुक्तानी र विकास वित्तमा परिचालन गर्न सक्ने ।

कानुनी आधार :

प्रदेश तथा स्थानीय तहले नेपाल सरकारबाट प्राप्त गर्ने अनुदान र राजस्व बाँडफाँटका मुख्य कानुनी आधार यस प्रकार छन् :

क)  नेपालको संविधानको धारा ६०

ख)  अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४

ग)  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ र नियमावली, २०७६

घ)  सालबसाली विनियोजन ऐन

ङ)  समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१

च)  विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१

छ)  प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८

अन्त्यमा नेपाल सरकारबाट अनुदान र राजस्व बाँडफाँटस्वरूप वित्तीय स्रोत प्राप्त गर्नु प्रदेश तथा स्थानीय तहको संवैधानिक अधिकार हो । 

नेपाल सरकारबाट प्राप्त स्रोतलाई घोषित उद्देश्य अनुरूप खर्च गर्नु उनीहरूको दायित्व हो । 

यसै मान्यता अन्तर्गत रहेर प्रदेश र स्थानीय तहले गर्ने खर्चको वित्तीय जवाफदेहिता परीक्षण गर्ने गरिन्छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्रदान गरिने सुझाव र सिफारिस कार्यान्वयनले प्रदेश तथा स्थानीय तहको कानुन अनुपालनास्तर अभिवृद्धिमा सहयोग गर्छ ।  

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Share:

मिति २०८२ साल पौष ९ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत सामग्री

 


१.  सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् ? 

पुरुषतर्फ : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती (स्पेन/बार्सिलोना) 

स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी । 

द बेस्ट फिफा अवार्ड, २०२५

उत्कृष्ट प्रशिक्षक (पुरुष) : लुइस एन्रिक (पिएसजी)

उत्कृष्ट प्रशिक्षक (महिला) : सरिना विगम्यान (इङ्ल्यान्ड) 

उत्कृष्ट गोलरक्षक (पुरुष) : जियानलुइजी डोनारुम्मा 

उत्कृष्ट गोलरक्षक (महिला) : हान्ना ह्याम्पटन 

फिफा पुस्कास अवार्ड : सान्टियागो मोन्टिएल 

फिफा मार्टा अवार्ड : लिजवेथ ओभाले

फिफा फ्यान अवार्ड : फ्यान अफ जाखो एससी

फिफा फेयर प्ले अवार्ड : डा. हार्लास–न्युकिङ, एसएसभी जाहन रेगेन्सबर्ग 


२. पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गर ताल कुन जिल्लामा अवस्थित छ ? 

मनाङ (चामे गाँउपालिका–४) 

काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको । 

ताल समुद्र सतहबाट करिब ५,२०० मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको । 

सो तालको क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको ।

उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गरखर्क भनिने हुँदा सो ताललाई ‘सिङ्गर ताल’ नामले पनि चिनिने । 

हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक 

मापनबाट देखिएको ।


३. विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

७२ औँ

नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किएर ७२ औँ स्थानमा झरेको । 

यस वर्ष नेपालको जिएचआई अङ्क १४.८ रहेको । यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख ।

नेपालले विगत दुई दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुड्कोपन (स्टन्टिङ) को समस्या अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख ।

सन् २००० मा जिएचआई अङ्क ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा पथ्र्यो । दुई दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरी १४.८ को अवस्थामा आइपुगेको । 

अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसङ्ख्या नेपालमा ५.३ प्रतिशत रहेको उल्लेख ।

पाँच वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपना (चाइल्ड स्टन्टिङ) २६ प्रतिशत रहेको । बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना (चाइल्ड वेस्टिङ) ७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको ।

प्रतिवेदन अनुसार श्रीलङ्काबाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको । भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका ।


४. फिफा अरब कप २०२५ को उपाधि विजेता टोली कुन हो ?

मोरक्को (उपविजेता : जोर्डन)

सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १–१८ 

आयोजक राष्ट्र : कतार 

सहभागी राष्ट्र : १६ 

डिसेम्बर १८ मा भएको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको ।

खेल अन्त्यतिर मोरक्कोका लागि अब्देर्राजाक हम्दल्लाह नायक बने । उनले ८८ औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०० औँ मिनेटमा हम्दल्लाहले फेरि गोल गर्दै मोरक्कोलाई ३–२ को जित दिलाए ।

यस जितसँगै मोरक्कोले आफ्नो पाँचौँ सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न पुगेको । यसअघि मोरक्कोले सन् २०१२ मा यो उपाधि जितेको थियो ।


५. हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन् ? 

एलन मस्क

टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका । उनको रकेट कम्पनी स्पेस एक्सको बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मस्क ६०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका ।

फोब्र्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति ५०० अर्ब डलरको सीमा नाघेको थिएन । मस्कले ६०० अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका ।


६. चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो ? 

बुमी 

ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको । ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल नौ हजार ९९८ युआन (करिब एक हजार ४०० अमेरिकी डलर) तोकिएको ।

यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सिकाउन डिजाइन गरिएको । चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको ।

महँगा ह्युमानोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूका लागि बुमीले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको ।

बुमीको व्यावसायिक कारोबार सन् २०२६ जनवरीबाट सुरु हुने कम्पनीले जनाएको । 


७. कृषि गणना २०७८ अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो ? 

कोशी प्रदेश (जिल्ला : झापा)

८. हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो ? 

सुपरम्यासिभ ब्ल्याक होल 

सूर्यभन्दा तीन करोड गुणा ठुलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको ।

विस्फोटपछि एक्स–रे ज्वाला देखिएको र पदार्थ प्रतिसेकेन्ड ६० हजार किमिको गतिमा बाहिर निस्किएको वैज्ञानिकले जनाएका ।

ब्ल्याक होलबाट निस्किने आँधी सूर्यमा हुने ज्वाला (कोरनल मास इजेक्सन–सिएमई ) जस्तै रहेको तर धेरै ठुलो र शक्तिशाली रहेको । 

यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लिअस (एजिएन) मा चुम्बकीय ऊर्जा अचानक मुक्त हुँदा हुने ।

यस खोजले आकाशगङ्गाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको । 

अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिमाणमा खाँदिएको पदार्थ हो । नाममा ‘होल’ भए पनि त्यो ‘छिद्र’ वा ‘प्वाल’ चाहिँ होइन ।

ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठुलो परिमाणमा पदार्थ खाँदिएर बनेको यस्तो खगोलीय वस्तु हो, जसको गुरुत्वाकर्षण अति नै शक्तिशाली (प्रकाशसमेत बाहिर निस्कन नसक्ने) हुन्छ । नाममा ‘होल’ भए पनि यो वास्तवमा प्वाल होइन, अत्यधिक घनत्व भएको वस्तु हो ।


९. एसिसी यु–१९ एसिया कप, २०२५ को उपाधि विजेता राष्ट्र कुन हो ?  

पाकिस्तान 

उपविजेता : भारत 

सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १२–२१

आयोजक राष्ट्र : युएई

सहभागी राष्ट्र : ८ 

सेमिफाइनलमा पुग्ने राष्ट्र : भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश

सर्वाधिक रन बनाउने : समीर मिन्हास, पाकिस्तान (४७१ रन)

सर्वाधिक विकेट लिने : दिपेश देवेन्द्रन, भारत (१४ विकेट) 

प्लेयर अफ दी टुर्नामेन्ट : समीर मिन्हास, पाकिस्तान 

प्लेयर अफ द म्याच (फाइनल) : समीर मिन्हास, पाकिस्तान 


१०. हुन त दुनिया दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ । भन्ने भनाइ कसको हो ? 

हेलन केलर


११. कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट टाँस्नैपर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो ? 

विसं २०८२ मङ्सिर २९ 

प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य टाँस गर्नुपर्ने प्रचलन हटाउने 

निर्णय भएको ।


१२. राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बिच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? 

विसं २०८२ मङ्सिर २९ (सन् २०२५ डिसेम्बर १५)

राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबिच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरीस्मिथद्वारा हस्ताक्षर गरिएको । 

परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको । सो परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुने छ ।


१३. १६ वर्षमुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो ? 

अस्ट्रेलिया (सन् २०२५ डिसेम्बर १० देखि लागु)


१४. विश्व ध्यान दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर २१

सन् २०२५ (दोस्रो) को नारा : इनर पिस–आउटर पिस–वल्र्ड पिस । 

नेपाली आदर्श वाक्य : विश्व शान्ति र सद्भावका लागि ध्यान । 

सन् २०२४ डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको । 


१५. साफ महिला क्लब फुटबल च्याम्पियनसिप, २०२५ को उपाधि विजेता टोली कुन हो ? 

इस्ट बङ्गाल क्लब 

उपविजेता : एपिएफ (नेपाल) 

आयोजना : काठमाडौँ 

सहभागी टिम : ५, इस्ट बङ्गाल क्लब (भारत), एपिएफ (नेपाल), कराँची सिटी एएफसी (पाकिस्तान), नासिर स्पोर्ट्स एकेडेमी (बङ्गलादेश), ट्रान्सपोर्ट युनाइटेड (भुटान) 

पुरस्कार राशि : प्रथम – १० हजार डलर, द्वितीय – ५ हजार डलर 

इस्ट बङ्गालले एपिएफलाई ३–० ले हराएर साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियनको गौरव हासिल गरेको । 

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा पाँच टिम सहभागी थिए । 


१६. टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?

  भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) 


१७.  विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर १०

सन् २०२५ को नारा : ह्युमान राइट्स, आवर एभ्रिडे इसेन्सियल्स ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार घोषणापत्र सन् १९४८ डिसेम्बर १० मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

मिति २०८२ मंसिर १० गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयगत प्रश्नोत्तर

 


आर्थिक उदारीकरण

 १.  आर्थिक उदारीकरण भनेको के हो ? आर्थिक उदारीकरणको नीतिबाट नेपालले अधिकतम लाभ लिन नसक्नुका कारण पहिचान गर्नुहोस् ।

अर्थतन्त्रमा सरकारको भूमिका र नियन्त्रणलाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिने र प्रवर्धन गर्दै जाने नीतिलाई आर्थिक उदारीकरण भनिन्छ । आर्थिक उदारीकरणले अर्थतन्त्रमा सरकारको भूमिकालाई नियमन र सहजीकरणमा सीमित राखी निजी क्षेत्रको विकास र सहभागितामार्फत निजी क्षेत्रको भूमिका विस्तार गर्न जोड दिन्छ । यस नीतिले व्यापार, लगानी, वित्त, श्रम, उद्योग, विनिमय, भन्सार प्रणालीलाई खुला र सरल बनाउँदै उत्पादन र वितरण प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी बनाउन जोड दिन्छ ।

आर्थिक उदारीकरणबाट अपेक्षाकृत लाभ लिन नसक्नुका कारण :

आर्थिक उदारीकरणको विश्वव्यापी लहरसँगै सन् १९९० पश्चात् नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिले सुरुवाती वर्षहरूमा सकारात्मक प्रभाव पारेको देखिए पनि राजनीतिक द्वन्द्व, नीतिगत अस्थिरता, ऊर्जा सङ्कट, पूर्वाधारको कमी, प्राकृतिक प्रकोप, निजी क्षेत्रको कमजोर क्षमतालगायतका कारणले अपेक्षाकृत नतिजा ल्याउन सकेको देखिँदैन । आर्थिक उदारीकरणबाट नेपालले अपेक्षाकृत लाभ लिन नसक्नुका कारणलाई देहायबमोजिम थप प्रस्ट पारी उल्लेख गरिएको छ ।

राजनीतिक द्वन्द्व र अस्थिरतासँगै नीतिगत अस्थिरता सिर्जना हुनु,

आर्थिक उदारीकरणको सवालमा राजनीतिक दलहरूबिच साझा बुझाइ निर्माण हुन नसक्नु, 

निजी क्षेत्रप्रतिको आमबुझाइ र दृष्टिकोण सकारात्मक बन्न नसक्नु, 

निजी क्षेत्रको क्षमता विकास हुन नसक्नु, मनोबल कमजोर रहनु,

निजी क्षेत्रको जोखिम मोल्ने क्षमता न्यून रहनु, तुलनात्मक रूपमा बढी सुरक्षित ठानिएको क्षेत्रमा मात्र निजी क्षेत्र आकर्षित हुनु,

लगानी सुरक्षाको प्रत्याभूति नहुँदा स्वदेशी पुँजी पलायन हुनु,

भ्रष्टाचार न्यूनीकरण, कर प्रशासन सुधार, सुशासन प्रवर्धनका पहल अपेक्षाकृत रूपमा प्रभावकारी बन्न नसक्नु,

विभिन्न समूहबाट आर्थिक सहायताको लागि दबाब आउनु तथा चन्दा आतङ्क कायम रहनु, 

उच्च गुणस्तरको सडक, यातायात, विद्युत्, डिजिटल पूर्वाधार, औद्योगिक तथा व्यापारिक पूर्वाधार विकास हुन नसक्दा उत्पादन र वितरण लागत उच्च हुनु र उत्पादित वस्तु तथा सेवा प्रतिस्पर्धी बन्न नसक्नु,

उत्पादन र वितरणका ढाँचामा नवप्रवर्तन ल्याउन नसक्नु,

औद्योगिक विकासका लागि सिपयुक्त जनशक्ति तयार हुन नसक्नुका साथै बौद्धिक पलायन नियन्त्रण नहुनु,

पुरानो प्रविधिमा निर्भरता कायम रहनु, स्वदेशमा नवीन प्रविधि विकास गर्न नसकिनु,

लगानीका लागि आवश्यक पर्ने सहुलियतपूर्ण र दिगो वित्तीय स्रोत सहज रूपमा उपलब्ध हुन नसक्नु,

भूमि, वन तथा वातावरणसम्बन्धी कानुनी र प्रक्रियागत विषय जटिल हुनु, 

आर्थिक कुटनीति प्रभावकारी बन्न नसक्नु,

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी सरकारी खर्च वृद्धि गरी आर्थिक गतिशीलता बढाउन सरकारी प्रयास प्रभावकारी बन्न नसक्नु,

अन्त्यमा अर्थतन्त्रमा निजी क्षेत्रको स्वामित्व र नियन्त्रण स्थापित गर्दै आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने मान्यता नै आर्थिक उदारीकरण हो । आर्थिक उदारीकरणलाई सफल बनाउन सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण हुन्छ । बजार संयन्त्रको संरक्षण र विकासका लागि बलियो कानुनी र नियमनकारी ढाँचा तयार गर्नुका साथै वस्तु तथा सेवाको उत्पादन, वितरण र उपभोगको लागि आवश्यक पर्ने पूर्वाधार संरचनाको विकासमा सरकारले सहजीकरण गर्नु पर्छ । स्वच्छ व्यावसायिक प्रतिस्पर्धा, नवप्रवर्तन, क्षमता विकास, विदेशी लगानीकर्तासँगको सहकार्य र सहयोग जस्ता कार्यमा निजी क्षेत्रले जोड दिनु पर्छ ।


२.  योग्यतातन्त्र भनेको के हो ? निजामती सेवालाई योग्यतातन्त्रमा आधारित बनाउनु पर्नाका कारण चर्चा गर्दै नेपालको निजामती सेवामा योग्यतातन्त्रको अभ्यास कस्तो छ ? लेखाजोखा गर्नुहोस् ।

व्यक्तिको योग्यता, क्षमता, सिप, दक्षता तथा कार्यसम्पादनको आधारमा पद, जिम्मेवारी तथा अवसर प्रदान गर्ने पद्धतिलाई योग्यतातन्त्र भनिन्छ । यस पद्धतिमा नातावाद, कृपावाद, भनसुन, व्यक्तिगत सम्बन्ध, पूर्वाग्रह, प्रभाव, दबाब जस्ता गैरयोग्यतामूलक मापदण्डलाई पद, जिम्मेवारी र अवसर प्रदान गर्ने सन्दर्भमा पूर्ण रूपमा अस्वीकार गरिन्छ । योग्यतातन्त्रलाई सक्षमको जमातले गर्ने शासनको रूपमा समेत बुझिन्छ । विधिसम्मत रूपमा सक्षमता परीक्षण गरी नियुक्त गरिएका व्यक्तिबाट राज्यका नीति कार्यान्वयन गर्दा पारदर्शिता, जवाफदेहिता, समानता जस्ता मूल्य प्रवर्धन भई नागरिक सन्तुष्टिस्तर वृद्धि हुने हुँदा सार्वजनिक प्रशासनमा योग्यतातन्त्रलाई महत्वपूर्ण सिद्धान्तको रूपमा स्वीकार गरिएको पाइन्छ ।

निजामती सेवालाई योग्यतातन्त्रमा आधारित बनाउनु पर्नाका कारण :

देहायका आधार र कारणबाट निजामती सेवालाई योग्यतातन्त्रमा आधारित बनाउन जोड दिइन्छ ।

सार्वजनिक सेवामा योग्य व्यक्ति प्रवेश गराई व्यावसायिकता प्रवर्धन गर्न,

निजामती सेवालाई सक्षम संयन्त्रको रूपमा विकास गरी राज्यको क्षमता वृद्धि गर्न,

निजामती सेवामा राजनीतिक तटस्थताको मान्यता स्थापित गर्न,

कर्मचारी प्रशासनमा निष्पक्षता कायम राख्दै सबैका लागि समान अवसर प्रदान गर्न,

कर्मचारीको मनोबल उच्च बनाई कामप्रति उत्प्रेरित गर्न,

सङ्गठनमा उपलब्ध योग्य मानव स्रोत परिचालनबाट अधिकतम लाभ हासिल गर्न,

सार्वजनिक प्रशासनमा कार्यसम्पादनमुखी संस्कृति विकास गर्न,

कर्मचारीलाई कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न अग्रसर गराउँदै नतिजाप्रतिको जवाफदेहिता वृद्धि गर्न,

कर्मचारीको व्यावसायिकता प्रवर्धन गर्दै वृत्ति विकासका लागि प्रोत्साहित गर्न,

सार्वजनिक प्रशासनमा स्थायित्व कायम गर्न,

सार्वजनिक प्रशासनमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न,

सरकारप्रतिको नागरिक विश्वास कायम राख्न ।

नेपालको निजामती सेवामा योग्यतातन्त्रको मान्यता कार्यान्वयनको लेखाजोखा :

क)  भर्ना र छनोट : निजामती सेवामा योग्य व्यक्ति छनोट गरी सिफारिस गर्ने काम लोक सेवा आयोगबाट हुने गर्छ । आयोगले कर्मचारी भर्ना र छनोटमा योग्यता, निष्पक्षता र स्वच्छतालाई जोड दिएको छ । यद्यपि लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यव्रmमले संज्ञानात्मक योग्यतालाई बढी भार प्रदान गरेको देखिन्छ । व्यक्तिको संज्ञानात्मक पक्षको अलावा अन्य पक्षलाई समेत योग्यताको आधारको रूपमा लिन पाठ्यव्रmममा सुधार गर्नु पर्छ । नेपाल जस्तो विविधतापूर्ण समाजमा सेवा गर्ने कर्मचारीतन्त्रलाई सांस्कृतिक रूपमा सक्षम कर्मचारीतन्त्रको रूपमा विकास गर्न योग्यताका आधार र मापदण्ड पुनर्परिभाषित गर्नुपर्ने दिशामा बहस हुन थालेको छ ।

ख)  पदस्थापना र सरुवा : निजामती कर्मचारीको पदस्थापना र सरुवामा सेवा, समूह सञ्चालन गर्ने मन्त्रालय वा निकायको भूमिका रहने गर्छ । उच्चपदस्थको सरुवा मन्त्रीपरिषद्ले गर्छ । कर्मचारी पदस्थापना र सरुवामा राजनीतिक हस्तक्षेप, व्यक्तिगत प्रभाव र पूर्वाग्रहका कारण उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा पदस्थापना गर्न सकिएको छैन । सरुवालाई व्यवस्थित गर्न सुधारका पहल गरिए तापनि विगतदेखि मौलाएको विकृतिले योग्यतातन्त्रको धज्जी उडाएको छ । कर्मचारी पदस्थापना र सरुवालाई विद्यमान निजामती सेवा ऐन र नियमावलीबमोजिम गर्न सकिएमा मात्रै पनि धेरै हदसम्म योग्यतातन्त्र स्थापित गर्न सकिन्छ । 

ग)  बढुवा : प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट हुने बढुवा योग्यतातन्त्रमा आधारित मानिन्छ । कार्यक्षमताको आधारमा हुने बढुवा तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवामा मूलतः ज्येष्ठ कर्मचारी बढुवा हुने सम्भावना रहन्छ । वस्तुनिष्ठ कार्यसम्पादन मूल्याङ्कनको अभावमा बढुवा र कार्यसम्पादनबिच सम्बन्ध स्थापित गर्न सकिएको छैन । साथै, सेवा समूह र उपसमूह अनुसार बढुवाका अवसर पनि फरक फरक रहेका छन् । बढुवा अवसर योग्यतातन्त्रको मान्यता अनुकूल प्रदान हुने अवस्था देखिँदैन । कार्यकुशलता मापनका लागि वस्तुगत आधारसमेत तयार छैनन् । अपवादबाहेक उच्चपदस्थको बढुवा विवादमा पर्ने गरेका छन् ।

घ)  तलब सुविधा : निजामती कर्मचारीको तलब सुविधालाई हाजिरीसँग आबद्ध गरिएको छ । खाइपाई आएको तलब सुविधा नघट्ने कानुनी प्रत्याभूति गरिएको छ । आधारभूत तलब र कार्यसम्पादनमा आधारित तलब गरी छुट्याएर हेर्न सकिएको छैन । कार्यसम्पादन मूल्याङ्कन वस्तुनिष्ठ नहुने तथा कार्यालयमा हाजिर भएकै आधारमा तलब पाउने अवस्थाले तलब सुविधाको विषय योग्यतातन्त्रमा आधारित बन्न सकेको छैन । सीमित निकायमा लागु गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधामा पनि हाजिरीलाई प्राथमिकता दिने गरिएकाले प्रभावकारी बन्न सकेको छैन । स्पष्ट कार्यविवरण, कार्यसम्पादन सूचक तथा वस्तुनिष्ठ कार्यसम्पादन मूल्याङ्कनका आधारमा तलब घटबढ गर्न सक्ने व्यवस्था गर्न सकिएमा योग्यतातन्त्रको मान्यता स्थापित हुन सक्छ ।

ङ)  कार्यसम्पादन मूल्याङ्कन : सङ्गठनमा कार्यविवरण र कार्यसम्पादन सूचकसहित जिम्मेवारी प्रदान गर्ने अभ्यास कमजोर छ । कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया वस्तुनिष्ठ र वैज्ञानिक हुन नसक्दा कर्मचारीको वास्तविक कार्यसम्पादन स्तर पहिचान हुन सकेको छैन । यसबाट कामचोर र अयोग्य व्यक्तिको कदर हुन सक्ने जोखिम बढेको छ । यस प्रकारको अभ्यासले योग्यतातन्त्रको मान्यतालाई कमजोर बनाउँछ ।

च)  तालिम र वैदेशिक अध्ययन : बढुवा प्रयोजनका लागि सेवाकालीन तालिम अनिवार्य गरिएको छ । सेवाकालीन तालिममा छनोटका निश्चित आधार निर्धारण गरिए पनि कर्मचारीको कार्यसम्पादनस्तर र तालिमबिच सम्बन्ध स्थापित गर्न सकिएको छैन । तालिमको आवश्यकता पहिचान गर्ने तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा तालिम अवसर प्रदान गर्ने काम हुन सकेको छैन । वैदेशिक अध्ययनका अवसरलाई मन्त्रालय तथा निकायगत रूपमा वितरण गर्ने अभ्यास रहेता पनि सीमित व्यक्ति पटक पटक यस्ता अवसरबाट लाभ लिएको देखिन्छ । वैदेशिक अध्ययन र भ्रमणका अवसर प्राप्त गर्न गैरयोग्यतामूलक आधारसमेत निर्धारक हुने गरेका उदाहरण भेटिन्छन् । वैदेशिक अध्ययन र तालिम प्राप्त व्यक्तिको ज्ञान र सिपलाई कार्यसम्पादनमा प्रयोग गर्ने वातावरण बन्न सकेको छैन । वैदेशिक अध्ययन तथा तालिमका स्पष्ट आधार र मापदण्ड तयार गरी लागु गर्ने तथा सरुवा र पदस्थापनालाई योग्यतामा आधारित बनाई वैदेशिक अध्ययन तथा तालिम हासिल गरेकाहरूलाई अवसर दिन सकेमा निजामती सेवामा योग्यतातन्त्रको मान्यतालाई थप बलियो गरी स्थापित गर्न सकिन्छ ।

छ)  प्रोत्साहन तथा पुरस्कार : निजामती कर्मचारीले प्राप्त गर्ने विभूषण तथा पुरस्कार वितरणलाई कार्यसम्पादन मूल्याङ्कनसँग आबद्ध गर्न सकिएको छैन । योग्यता, क्षमता, दक्षता, सिप, कार्यसम्पादन जस्ता विषयभन्दा अन्य गैरयोग्यतामूलक मापदण्डका आधारबाट पुरस्कार र प्रोत्साहन मिल्ने गरेको विगतका उदाहरण भेटाउन सकिन्छ । 

अन्त्यमा योग्यतातन्त्रको मान्यताले सक्षमलाई सार्वजनिक जिम्मेवारीलाई पु¥याइ उच्चस्तरको कार्यसम्पादन नतिजा हासिल गर्न जोड दिन्छ । नेपालको निजामती सेवामा भर्ना र छनोट प्रव्रिmयालाई योग्यतातन्त्रमा आधारित बनाइए तापनि कर्मचारी प्रशासनका अन्य कार्य योग्यतातन्त्रको मान्यता अनुरूप सञ्चालन हुन सकेका छैनन् । निजामती सेवालाई स्वच्छ, सक्षम, नतिजामूलक, उत्तरदायी र व्यावसायिक संयन्त्रको रूपमा स्थापित गर्न योग्यतातन्त्रको मान्यता अनुरूप सञ्चालन गरिनु पर्छ ।


३.  नेपालमा कम्पनी संस्थापनासम्बन्धी कानुनी व्यवस्था उल्लेख गर्दै कम्पनीको दर्ता गर्न इन्कार गर्न सकिने अवस्था जानकारी गराउनुहोस् ।

नेपालमा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कार्यलाई सरल र पारदर्शी बनाउन कम्पनी ऐन, २०६३ जारी भई कार्यान्वयनमा आएको छ । यस ऐनमा कम्पनी संस्थापनासम्बन्धी मुख्य प्रावधान यस प्रकार छन् ।

मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबद्ध भई प्रबन्धपत्रमा उल्लेख भएबमोजिम एक वा एकभन्दा बढी उद्देश्य प्राप्तिका लागि कम्पनी संस्थापना गर्न सक्ने,

पब्लिक कम्पनीको संस्थापनाका लागि कम्तीमा सात जना संस्थापक हुनुपर्ने तर कुनै पब्लिक कम्पनीले अर्को पब्लिक कम्पनी संस्थापना गर्दा सो सङ्ख्या आवश्यक नपर्ने,

मुनाफा वितरण नगर्ने कम्पनीसमेत संस्थापना गर्न सकिने,

सामान्यतया प्राइभेट कम्पनीको सेयरधनीको सङ्ख्या एक सय एकभन्दा बढी हुन नहुने,

पब्लिक कम्पनीको सेयरधनीको सङ्ख्या कम्तीमा सात जना र बढीमा जतिसुकै पनि हुन सक्ने,

केही खास कारोबार गर्न पब्लिक कम्पनी नै हुनुपर्ने,

प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुन सक्ने र पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीमा परिणत हुन सक्ने,

कम्पनी संस्थापनाका लागि आवश्यक कागजातसहित निवेदन दिनुपर्ने र सोको जाँचबुझ गरी कम्पनी दर्ता हुने ।

कम्पनी दर्ता गर्न इन्कार गर्न सकिने अवस्था :

देहायको कुनै अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता गर्न इन्कार गर्न सक्छ ।

क)  प्रस्तावित कम्पनीको नाम यस अघि दर्ता भई कायम रहेको कुनै कम्पनीको नाम वा ट्रेडमार्कको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी मिल्दोजुल्दो भएमा,

ख)  प्रस्तावित कम्पनीको नाम वा उद्देश्य,

प्रचलित कानुनविपरीत भएमा वा,

सार्वजनिक हित, नैतिकता, शिष्टाचार आदि कुनै दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय देखिएमा वा,

फौजदारी आशय झल्कने देखिएमा,

ग)  खारेजी वा दामासाहीमा परेको कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी मिल्दोजुल्दो भएमा र त्यसरी खारेजी वा दामासाहीमा परेको अवधि पाँच वर्ष पूरा भइनसकेको भएमा,

घ)  ऐनबमोजिम कम्पनी संस्थापन हुनका लागि आवश्यक सर्त पूरा नगरेमा ।

अन्त्यमा मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन उद्योग, व्यापार र व्यावसायका क्षेत्रमा लगानी प्रवर्धन गर्न आवश्यक छ । यसका लागि कम्पनी संस्थापना, सञ्चालनलगायत कम्पनी प्रशासनसम्बन्धी कार्यलाई सहज र सरल बनाउँदै लैजानु पर्छ ।


४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाले अन्य पालिकासँग साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने विषयको सूची तयार गर्नुहोस् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले लागत न्यूनीकरण, स्रोतसाधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको दृष्टिले उपयुक्त देखिएमा गाउँपालिका तथा नगरपालिकाले साझेदारी वा संयुक्त व्यवस्थापनमा काम गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले गरेको व्यवस्था अनुसार त्यस्ता विषय निम्न छन् ः

बृहत् पूर्वाधार निर्माण, ठुला मेसिन तथा औजार खरिद र व्यवस्थापन,

विपत् व्यवस्थापन,

यातायातको सञ्चालन तथा व्यवस्थापन,

फोहोरमैला विसर्जन स्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन,

दमकल तथा एम्बुलेन्स सेवाको सञ्चालन,

बस्ती विकास तथा भूउपयोग योजना,

पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवर्धन र विकास,

संयुक्त उद्यम,

आधारभूत तथा माध्यमिक तहको प्राविधिक शिक्षाको सञ्चालन, प्रवर्धन र विकास,

स्थानीय बजार व्यवस्थापन र वातावरण संरक्षण,

अन्तरस्थानीय तह भगिनी सम्बन्ध,

असल अभ्यास र अनुभवको आदानप्रदान,

भौतिक तथा आर्थिक सहयोग,

स्थानीय तहले उपयुक्त ठानेका अन्य विषय ।

अन्त्यमा तहगत सरकारबिच कार्य जिम्मेवारी बाँडफाँट गर्दा आयतनको अर्थ लाभ (इकोनिमिज अफ स्केल) लाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । नेपालमा स्थानीय तहबिचको साझेदारी वा संयुक्त व्यवस्थापनमा केही कार्य भए तापनि यस मोडेल अवलम्बन गरी अपेक्षाकृत कार्यसम्पादन गर्न सकिएको छैन । सङ्घ तथा प्रदेश सरकारबाट वित्तीय प्रोत्साहन गर्ने नीति लिन सकिएमा यस्ता प्रयासलाई तीव्र पार्न सकिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा 

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages