मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर
भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण
पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा
आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर
गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति
बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो
शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक
जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस
देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल
आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो
धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म
भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे
नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर
औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत
तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या
एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको
जस्तै थियो ।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि
उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ
रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए
। तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई
उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी
लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर
भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर
मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि
भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको
तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै
कन आज यस्तो !
यस सिलोकको चौथो
हरफमा प्रयुक्त 'मो' शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि
रचनामा 'म' लाई 'मो' लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा 'म'को साटो जताततै 'मो' लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक
जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली
भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई
आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा
भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे
।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने
होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी
भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई
देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार
गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत
गरे होलान् :
गजाधर्सोतीका घर
बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित
बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा
तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा
अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले ।
भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए ।
मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए ।
त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर
रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर
भानुभक्तले'बधुशिक्षा' लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे ।
साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर
मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले
लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न
मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन्
जहानहरू ता लड्न्या रह्या छन् अती ।
०
सारै झोक उठयो मलाई
र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।
भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको
जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई
कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच
महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद
गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला
संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका
घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान
रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन
थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले
देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका
छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम
राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन
प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा
त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको
भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि
भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो
वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक
रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन्
। त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा
नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली
भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर
कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू
हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय
बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो ।
सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको
आग्रहमा रामायण उत्तर काण्डको 'रामगीता'को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस
बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना
भौतिक आँखा चिम्ले।
प्रस्तुति
नरेन्द्रराज प्रसाई
साभार
नइ प्रकाशन
यहाँ पनि पढ्नुहोस् ..................................................................................................................
नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत
एकीकरण गरेका थिए ।
वि.सं. १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक
सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ
भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
'वधुशिक्षा' उनको प्रसिद्ध कृति हो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र 'भोलिवाद'का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए-
'भोलि भोलि भन्दैमा सब घर बितिगो
बक्सियोस् आज झोली' ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनामा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको 'रामायण'मार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । रामायण अहिले पनि नेपालीहरूको घर-घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानु जयन्तीका दिन भानुभक्तको फोटोलाई रथारोहण गराई राजधानीका विभिन्न ठाउँमा प्रभातफेरिको आयोजना वि. सं. २०३४ देखि गर्ने गरिएको छ ।
आदिकवि आचार्यको जन्मस्थल तनहुँ चुँदीरम्घास्थित ऐतिहासिक घर २०६० साल वैशाख ११ गतेदेखि तीन दिनसम्म लगातार जङ्गलमा लागेको आगोका कारण जलेर पूर्णरूपमा ध्वस्त भयो । त्यसको पुनःनिर्माण हुन सकेको छैन । डुम्रे-बेसीशहर सडकलाई भानुभक्त आचार्य मार्ग नाम दिइएको छ । उक्त मार्ग ४२.७७ कि.मि. लामो छ ।