१.३.२ वन
कुनै ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको
वनस्पतिलाई प्रभावित गर्दछन्
। हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीच अन्योन्याश्रित सम्बन्ध
रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण
स्थान छ । यद्यपि विगत केही दशकयता वन सम्पदामा व्यापक ह्रास आएको छ ।
सन् १९५४ को तथ्याङ्कअनुसार देशको ४५ प्रतिशतभन्दा बढी भू–भाग वन जङ्गलले
ढाकेको थियो तर सन् १९७९ तिर ४३ प्रतिशत, सन् १९८६ मा ३७.४ प्रतिशत र
सन् १९९८ मा गरिएको एक सर्वेक्षणले वन क्षेत्र केवल ३९.६ प्रतिशत रहन
गएको तथ्य खुलासा गरेको छ । यही अध्ययनले नेपालको तराई क्षेत्रको वन प्रति वर्ष १.३
प्रतिशतले विनास हुँदै गएको देखाएको छ । विगतका दशकहरूमा आवास तथा पुनर्वासका लागि धेरै
ठाँउहरूमा वन फडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो ।
नेपालको भू–धरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्न ५
समूहमा वर्गीकरण गर्न सकिन्छः
(क) उष्णप्रदेशीय सदाबहार जङ्गल (Sub Tropical
Evergreen Forest)
तराई, भावर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको
उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा
हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरियाभरिया
हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म
फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ । यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै
साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने
हुदाँ यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ
।
(ख) समशितोष्ण पतझर जङ्गल (Temperate Deciduous Forest)
नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र
महाभारत पर्वतको तल्लो भागमा पाइने समशितोष्ण पतझर जङ्गलमा पाइने रूख
अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो
हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर
भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल
पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी
रूखमध्ये साल, सल्ला, देवदारू, चाँप, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाँकुरी, चाँप प्रमुख छन्
। यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।
(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल (Coniferous Forest)
महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको
उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भैरहने हुँदा रूख
र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् । यँहाको माटो सेपिलो हुनेहुँदा
सदाबहार जङ्गल हुन्छ । यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि
उल्लेख्य मात्रामा रहेका छन् ।
(घ) लेकाली वनस्पति वा घाँसे मैदान (Alpine Forest)
नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी
तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो
र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू
सप्रिन सक्दैनन् । लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही
झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने
त्योभन्दामाथि घाँसका ठुला ठुला फाँटहरू पाइन्छन् । माथिल्लो गुराँस भागमा
रङ्गविरङ्गका बुकी फूल, जडिबुटीहरू पाइन्छन् ।
(ङ) शीत मरूभूमिको वनस्पति (Tundra Vegetaion)
नेपालमा ५००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले
हिउँ नअड्ने भिरालो ठाँउमा काई र लेउ मात्र पाइन्छन् । उम्रिन र हुर्कन नसक्ने
यस्तो ठाँउमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरूभूमिको
वनस्पति भनिन्छ ।










