त्रिभुवन विश्वविद्यालय ७ हजार ८ सय ३८ औँ स्थानमा


मुलुकको जेठो विश्वविद्यालय विश्वका १२ हजार विश्वविद्यालयमध्ये सात हजार ८ सय ३८ औँ स्थानमा झरेको छ । विश्वविद्यालयहरुको सूचि तयार गर्ने गरेको वेवम्याट्रिक्स वेवसाइटले त्रिविलाई त्यतिऔँ स्थानमा राखेको हो ।वेवसाइटले पहिलो स्थानमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयलाई राखेको छ ।आफ्नो साख गुमाउँदै गएपछि अब त्रिविले शैक्षिक सुधार गर्ने प्रतिवद्धताका साथ विश्व बैङ्कसँग करिव एक अर्ब ६३ करोड रुपियाँ ऋण स्वरुप लिएको छ । पाँच वर्षभित्र चुक्ता गर्ने गरि लिइएको यो रकमको व्याजदर एक प्रतिशत छ ।बिश्व बैङ्कका परामर्शदाता डा. राजेन्द्रध्वज जोशीले तुलनात्मक रुपमा नेपालका विश्वविद्यालय राम्रा छैनन् भन्दै थप्नुभयो, “हुन त अमेरिकामा ए प्लसदेखि डीश्रेणीसम्मका विश्वविद्यालयहरु छन् । तर नेपालका सबै विश्वविद्यालय डीश्रेणीका छन् । हाम्रा विश्वविद्यालयमा सुधार गर्न धेरै प्रयास आवश्यक छ ।ताइवानको राष्ट्रिय ताइवान विश्वविद्यालय ३० औँ स्थानमा छ भने चीनको पेकिङ विश्वविद्यालय ४७ औँ स्थानमा छ ।
नेपालको काठमाडौँ विश्वविद्यालय चार हजार ९५० औँ स्थानमा छ । जबकी काठमाडौँ विश्वविद्यालयभन्दा श्रीलङ्का, इथोपिया, फिलिपिन्स, भारत, थाइल्याण्ड लगायतका विश्वविद्यालयहरु धेरै माथि छन् ।


वेवसाइटहरुका अनुसार नेपालको सूचिमा काठमाडौँ विश्वविद्यालय पहिलो स्थानमा छ भने त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान दोस्रो, त्रिवि तेस्रो, नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल चौथो र पोखरा विश्वविद्यालय पाँचौँ स्थानमा छ । नेपालमा पाँचौँ स्थानमा परेको पोखरा विश्वविद्यालय विश्वसूचिमा ११ हजार ५०५ औँ स्थानमा छ ।
शैक्षिक सुधारका लागि ऋण लिएकाले अब त्रिविले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ । उत्तीर्ण दर पनि कम्तीमा पाँच प्रतिशतले बृद्धि गर्नै पर्ने हुन्छ । अहिले त्रिविले परीक्षा सकिएको कम्तीमा १० महिनामा नतिजा प्रकाशन गर्ने गरेको छ भने उत्तीर्ण दर औषतमा ३७ प्रतिशत छ ।
विश्व बैङ्कले तेस्रो परियोजनाका रुपमा उच्च शिक्षा सुधार परियोजना कार्यान्वयनमा ल्याएको छ । बैङ्कका शिक्षाविज्ञ प्रा.डा. मोहनप्रसाद अर्यालले विश्वविद्यालयहरुलाई अब विगतमा जस्तो एकमुष्ठ रकम नदिने स्पष्ट गर्दै भन्नुभयो, “सुधारका वाध्यात्मक प्रावधान तय गरेका छौँ । सुधार गर्दै जाने र त्यसवापत रकम लिँदै जाने व्यवस्था लागू गरेका छौँ । त्यसैले विश्वविद्यालयहरुले सुधार गरेपछिमात्रै ऋण वापतको रकम प्राप्त गर्नेछन् ।
Share:

विश्वकै बृद्ध पुरुष ११२ वर्षको उमेरमा मृत्यु

एजेन्सी / विश्वकै सबैभन्दा बृद्ध पुरुष, ‘साकारी मोमोईको ११२ वर्षको उमेरमा मृत्यु भएको छ । जापानका मोमोईको यहि २०१५ जुलाई ५, आइतबारको दिन मृगौलाले काम गर्न नसकेकोले मृत्यु भएको हो । ‘हानावा फुकुशिमा प्राविधिक उच्च विद्द्यालयका पुर्व प्रमुख र ५ छोराछोरीका पिता मोमोईले गत अगस्टमा विश्वको सबैभन्दा बृद्ध पुरुषको उपाधि गिनिज वर्ल्ड रेकर्ड्सबाट प्राप्त गरेका थिए। उपाधि प्राप्त गरेपछि उनले अझै २ वर्ष बाँच्ने रहर भएको बताएका थिए ।

सन् १९०३, फुकुशिमामा जन्मिएका मोमोईको मृत्युको खबर २०१५ जुलाइ ७ मंगलबार सार्वजनिक गरिएको थियो । मोमोई सुरुमा शिक्षक र पछि हानावा फुकुशिमा प्राविधिक उच्च विद्द्यालयका प्रमुख रहेका थिए । उनि साईतामा विद्द्यालयका पनि प्रधानध्यापक रहेका थिए । उनि धेरैजसो किताब पढ्न र आफ्नो श्रीमतीसँग घुम्न रुचाउथे ।

विश्वको सबैभन्दा बृद्ध महिलाको उपाधि प्राप्त गरेकी मिसाओ ओकावापनि जापानकै थिइन। उनको देहान्त ११७ वर्षको उमेरमा भएको थियो । अहिले यो उपाधि अमेरिकाकी सुजानाह मुशाट जोन्सले प्राप्त गरेकी छिन् । मोमोईको मृत्युपछि गिनिजले हालको सबैभन्दा बृद्ध पुरुष को हो भनेर बताएको नभएपनि जापानकै ११२ वर्षिय यासुतारो कोइदेहुनसक्ने अनुमान गरिएको छ, जो मोमोईभन्दा १ महिनाले कान्छो छन् ।


अहिलेको सबैभन्दा बृद्ध महिला सुजानाहले उनको लामो उमेरको रहस्य अत्याधिक निन्द्रा भएको बताएका छिन् । गिनिज बुकको रेकर्डस् अनुसार अहिलेसम्मकै सबैभन्दा बृद्ध मानिस र महिला भने फ्रान्सका जिन क्यालमेटरहेका छन्। १२२ वर्ष र १६४ दिन बाँचेका जिनको निधन अगस्ट १९९७मा भएको थियो ।
Share:

आर्थिक वर्ष २०७२/७३ को बजेट


सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजारको बजेट प्रस्तुत गरेको छ । 

अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिकासंसद्मा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताए।

यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ । 

प्रस्तुत खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र संशोधित अनुमानको तुलनामा ५६.८ प्रतिशतले बढी हो । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु चार खर्ब ७५ अर्ब एक करोड २१ लाख, साँवा फिर्ता प्राप्तिबाट रु दुई अर्ब, वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ९२ करोड ९४ लाख सात हजार, व्ययभार रु दुई खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार न्यून हुनेछ । 

न्यून बजेट पूर्ति गर्न विदेशी ऋणबाट रु ५४ अर्ब ९६ करोड ४७ लाख चार हजार, राजस्व र वैदेशिक सहायता परिचालनबाट रु एक खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार न्यून हुन जानेछ । 


न्यून बजेट पूर्ति गर्न रु ८८ अर्ब आन्तरिक ऋणबाट र रु ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार चालु खर्चको नगद मौज्दातबाट व्यहोरिनेछ अर्थमन्त्री महतले जानकारी गराए।

पूर्ण बजेटको लागी यहाँ क्लिक गर्नुहोस् । 
Share:

लोक सेवाका गुरु : लोकसेवा पढ्ने मन्त्र

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँचपाँच ठाउँबाट नाम निकाले । विद्यार्थीका लागि उनीहरू 'आइडियल' नै थिए । २०५८ सालतिर यी तीन आइडियललाई लोक सेवामा रुचि राख्नेहरूले टाइटल दिएका थिएलोक सेवा वर्ष पुरुषहरू ।
गृह मन्त्रालयका सहसचिव चुडामणि शर्माका लागि दिइएको यो टाइटल निक्कै फाप्यो । लोक सेवामा उनले पुर्‍याएको योगदान र सफलताले यो पुष्टि गरिसकेको छ । जुन परीक्षा दियो त्यसमै नाम निस्किन्थ्यो । उनी सधैं उत्तीर्णको टप लिस्टमा पर्थे । सुवेदी अहिले अर्थ सचिव र बस्याल ल्हासा महामाणिज्य दूत छन् ।

लोक सेवाका विद्यार्थीबीच प्रख्यात शर्माले अहिलेसम्म ४१ किताब लेखिसकेका छन् । अरू केही पाइप लाइनमा रहेको उनी बताउँछन् ।

२०२६ सालमा स्याङ्जामा जन्मेका शर्माले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेपछि पृथ्वीनाराणण क्याम्पस पोखरा पढ्दै गर्दामात्रै लोक सेवा भन्ने शब्द सुनेका थिए । उनका साथी रमेश ढकाल मुखियाको जागिरे । त्यही बेला उनले शर्मालाई भने 'सहलेखापाल खुलेको छ रे, फर्म भर्ने होइन ?'

अहिले महालेखाको निर्देशक रहेका ढकालसँग लागेर उनले आईकम दोस्रो वर्ष पढ्दै गर्दा सहलेखपालमा फर्म भरे र परीक्षा दिए ।

क्याम्पसको पढाइ सकेर शर्मा स्याङ्जास्थित घरमा त्यत्तिकै बसिरहेका थिए । त्यस बेलै हुलाकबाट उनको नाममा आएको एउटा खामले उनको भविष्यको नयाँ ढोका खोलिदियो । चिठीमा लेखिएको थियो– 'तपाईंले दिनुभएको लिखित परीक्षामा उत्तीण हुनुभएको छ । अब अन्तर्वार्ताको लागि आउनुहोला ।'

उनी अन्तर्वार्ताका लागि पोखरा हान्निए । १३१४ सय जनाबीचको प्रतिस्पर्धामा नाम निकाल्दै २०४५ सालमा सहलेखापाल भई उनी लमजुङबाट सरकारी सेवामा प्रवेश गरे ।

जागिरमा छिरेपछि नियमित अध्ययनमा भने समस्या भयो । उनी प्राइभेट भर्ना भए । उनले बिकमसँगै बिए, बिएड र बिएमा अंग्रेजी विषय लिएर प्राइभेटमा पढे । आफ्नो अध्ययनलाई निरन्तरता दिइरहे ।

स्नातक उत्तीर्ण भएपछि उनी अफिसर (अधिकृत)को तयारीमा लागे । प्रशासन, राजस्व, बैंक, प्रहरी, हुलाक, जहाँ आवेदन खुल्छ त्यहीँ फारम भर्न पुगिहाल्थे । उनको लक्ष्य थियोराम्रो सरकारी जागिर खानु । उनी भन्छन्, 'म सफलता नपाउन्जेल लागिरहेँ ।'

२०५० सालमा दिएको अफिसरको रिजल्ट २०५१ सालमा आयो । ४९ जना अधिकृत मागिएकोमा उनले चौथो नम्बरमा नाम निकाले । काठमाडौंमा भएको अन्तर्वार्तामा सफल भएपछि उनी प्रशासनतर्फ अधिकृत भई पोखरा पोस्टिङ भए । त्यस बेला उनले अन्य परीक्षामा पनि नाम निकालेका थिए । तर उनको रोजाइमा प्रशासन नै प¥यो । शाखा अधिकृतका रूपमा उनी विभिन्न जिल्ला पुगे । यो कार्य २०५८ सालसम्म रह्यो ।

२०५८ सालमा उपसचिवमा आन्तरिक र खुला विज्ञापन खुल्यो । उनी किन पछि हट्थे । प्रतिस्पर्धामा उत्रिए । उनै तीनभाइ सुवेदी, बस्याल र शर्माकै नाम निस्कियो । उनीहरूले प्रशासन र राजस्वमा खुला र आन्तरिकमा धेरै ठाउँबाट एकैपटक परीक्षा दिए । 'त्यो बेला मैले सात ठाउँबाट निकाल्दा सुवेदी र बस्यालले पाँचपाँच ठाउँबाट निकाल्नुभएको थियो,' शर्माले साथीहरूलाई सम्झँदै भने ।

शर्मालाई अरूले सुनाउँथे, 'जताततै तिमीहरूको मात्र नाम छ । तिमीहरू लोक सेवा वर्ष पुरुष नै भयौं ।' लोक सेवाको बुलेटिन होस् वा गोरखापत्रको विज्ञापनमा यी तीन होनाहारको नाम कहिल्यै छुटेन । आवेदन माग गरिएको हरेक सरकारी कोटाका लागि परीक्षा दिन्थे र सबैमा नाम पनि निकाल्थे ।

पछि राजस्वमा एक सिटको लागि खुला प्रतिस्पर्धा भयो । धेरैको प्रतिस्पर्धामा यी तीनले नाम निकाले । अन्तर्वार्तामा शर्माले नाम निकाले । त्यसपछि उनले अर्थ मन्त्रालय हुँदै विभिन्न निकायमा राजस्वको उपसचिव भई सेवा गरे ।

त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन । उनको सफलता यतिमै सीमित भएन । सफलताको सोपानमा उनी चढिरहे । २०६४ मा एक नम्बरमा सहसचिवको नाम निकालेका उनी सामान्य प्रशासन मन्त्रालय, अर्थ, महालेखा नियन्त्रण कार्यालय, गृह मन्त्रालयका साथै सुनसरी, ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदै अहिले गृह मन्त्रालयको सहसचिवमा कार्यरत छन् । आफ्नै कार्यलयमा गफिँदै उनले भने, 'म यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । अध्ययनप्रतिको लगावले नै मलाई यहाँ ल्याइपु¥याएको हो ।'


लोक सेवा पढ्ने मन्त्र

सेभेन 'सी' ( Seven 'C')


लोक सेवा पढ्न सुरु गर्दा 'सेभेन सी'लाई आधार बनाएर अध्ययन गर्नुपर्छ । यो जुन तहको भए पनि, वस्तुगत वा विषयगत जे भए पनि यही सुत्र प्रयोग गर्नुपर्छ ।

कन्टेन्ट (Content)
कन्टेन्ट भनेको पाठ्क्रम हो । पाठ्यक्रममा केके विषयवस्तु पढ्नुपर्छ, त्यसभित्र कस्ता प्रश्न सोधिन्छ; वस्तुगत, विषयगतलाई ख्याल गर्दै कन्टेन्ट ओरेन्टेन्ड भएर गहिराइसम्म जानुपर्छ ।

कन्सेप्ट (Concept)
कन्टेन्ट थाहा भएपछि यसमा रहेका विषयवस्तुको अर्थ के हो ? परिभाषा के हो ? यसको सुरुवात कसरी भयो ? रिभोलुसन कसरी भयो ? त्यसका आयाम केके हुन् ? थाहा पाउनुपर्छ ।

कोर (core)
कुनै पनि विषयवस्तु पढेपछि यसको मुख्य तत्व  के हो भन्ने जान्न जरुरी छ । जुनसुकै विषयमा मियो के हो ? त्यसलाई थाहा पाउनुपर्छ । कोर कुरा थाहा पाइयो भने बढाउने, घटाउने आफ्नै हातमा हुन्छ ।

कभरेज (Coverage)
हामीले जुन विषय पढ्छौं त्यसका विषेशता केके हुन्, सिद्धान्त नीति, सांगठानिक व्यवस्था, कानुनी व्यवस्थाजस्ता अनेक दायरा हुन सक्छन् । पढिरहेको विषयले कुनकुन क्षेत्र ओगट्छ, त्यो थाहा पाउन जरुरी छ । धेरै आयाम, प्रकार, प्रकारमा भिन्नता हुन्छन् । ती थाहा पाउनुपर्छ । परीक्षामा सोधिएका प्रश्न पाठ्यक्रमअनुसार नै आउने हुन् । पाठ्यक्रबाहिरबाट आउँछ भन्ने होइन ।

कन्टेक्ट्स (Context)
यसको अर्थ समयसन्दर्भ हो । जुन विषय छ, त्यो विषयको अहिलेको अवस्था के हो ? आजको इस्यु के हो ? यस्ता कुरा पाठ्यक्रममा हुँदैनन् । आफूलाई बलियो गरी उभ्याउन वर्तमान अवस्थाबारे पनि जानकार भइरहनुपर्छ । जस्तैः निजामती सेवा पढ्यौं भने ग्लोबलाइजेसनमा निजामती, समावेशीमा निजामती सेवा, निजामती सेवा र इगभर्नेसन, निजामती सेवा र अन्य सेवाजस्ता विषय हेर्नुपर्छ । आफ्नो मुलुको सन्दर्भमा मात्र होइन कि, विश्व परिवेशलाई नै केन्द्रमा राखेर अध्ययन गर्नुपर्छ ।

कमेन्ट (Comment) 
सबै विषयवस्तु पढिसकेपछि विद्यार्थी आफैंले त्यो विषयलाई केलाउन जान्नुपर्छ । आफैं विश्लेषण गर्न सक्नुपर्छ । समस्या, चुनौती, कमजोरी पक्ष, बलियो पक्षजस्ता कुरा सांगोपांगो केलाउन जान्नुपर्छ । सैद्धान्तिक, व्यावहारिक पक्षमा पनि अभ्यास गरिरहनुपर्छ । सम्भावनाका कुरा नियाल्नुपर्छ । विषयगत सन्दर्भमा कमेन्ट धेरै महŒवपूर्ण कुरा हो ।

कन्क्लुजन (Conclusion)
यी सबै भएपछि विषयवस्तुको सार के हो भन्ने कुरा थाहा पाउन जरुरी छ । विषयवस्तुको गुदीबारे पत्ता लगाउन सक्नुपर्छ । समस्या थाहा पाइयो तर अब समाधानका उपाय के हुन सक्छन् ? निष्कर्षमा लाग्नुपर्छ । सकारात्मक सोच राखी फोहोरलाई मोहरमा लैजानुपर्छ । समस्या होइन समाधान देख्न सक्नुपर्छ । कमजोरीलाई सबल पक्षमा लैजाने कोसिस गर्नुपर्छ । चुनौतीलाई अवसरमा ढालेर हेर्न सक्नुपर्छ । अबको समाधान या बाटो यो हुनुपर्छ भनेर भन्न सक्नुपर्छ ।

फ्रेस स्टार्ट
अध्ययन गर्न सुरु गर्दा फ्रेस स्टार्टलाई अवलम्बन गर्नुपर्छ ।

फर्ट स्टार्ट (एफ) :
फर्ट स्टार्ट भनेको पढ्न सुरु गर्नुपर्छ भन्नेमात्र होइन । पढ्न सुरु गर्दा नयाँ शैली र नवीनतम तरिकाबाट पढ्नुपर्छ भन्ने हो । नयाँ सन्दर्भ र नयाँ विधिबाट अघि बढ्ने हो । चल्तीको नयाँ शैली के छ त्यसलाई पछ्याउने ।

रुटिन स्टार्ट (आर):

जहिले पनि योजनाबद्ध हिसाबले जानुपर्छ । रुटिन बनाएर पढ्नुपर्छ । समय छ र पाठ्यक्रम हेरेर त्यसअनुरूप योजनाबद्ध हिसाबले जानुपर्छ । जटिल विषयलाई धेरै समय दिने, कतिपय कुरालाई समूहमा पढ्ने गर्नुपर्छ ।

स्पेसिफिक स्टार्ट (ई):

कुनै पनि विषयवस्तु पढ्दा साझा विषयलाई जहिले पनि घोकिरहनुपर्दैन । एकचोटि पढेपछि जता पनि काम लाग्छ । जस्तैः सामान्य ज्ञान पढियो भने खरिदार, सुब्बा, अधिकृत जता पनि काम लाग्छ । साझा कुरालाई एकपटक अध्ययन गर्ने र मुख्य विषयलाई विशेष ध्यान दिने गर्नुपर्छ ।

होलिस्टिक स्टार्ट (एच):

एकएक टपिक पढिसकेपछि सबै विषयवस्तुलाई समेटेर जानुपर्छ । साझा कुरालाई एकातिर र स्पेसिफिक कुरालाई एकातिर राखेर हेर्नुपर्छ । सबै विषयलाई एकैपटक हेर्दा कति सकिन्छ आफैं जाँच्नुपर्छ ।

वस्तुगत


वस्तुगत प्रश्नको तयारी गर्दा कुनै कुरा नछुटुन्, कुनै पनि नदोहोरिऊन् भन्ने सुत्र प्रयोग गर्नुपर्छ । कसैले पनि सबै कुरा जानेको हुँदैन । लोक सेवाले त्यस्तो खोजेको पनि हुँदैन । त्यसैले 'लेस इन अलमा ध्यान दिनुपर्छ । अर्थात् सबै विषयमा थोरैथोरै जानेको हुनैपर्छ । जस्तैः विश्वको भूगोलबाट पाँच प्रश्न आउँछ भने ब्रह्मान्ड नै जान्न सकिँदैन । मुख्य कुरालाई छान्न सक्नुपर्छ । कोर्स धेरै छ भनेर आत्तिनु हुँदैन।

वैकल्पिक विषयवस्तुमा तीन '' लाई ध्यान दिएर पढ्नुपर्छ । यो सुत्र नै सबै होइन तर अध्ययनको आधारचाहिँ हो ।

अघिकोसुरुमा कस्तो थियो ? जस्तो कि, विश्वमा पहिलो र नेपालमा पहिलो थाहा पाउने ।

अहिलेकोअहिले कस्तो छ ? अन्तिम को ? अन्तिम अवस्था के छ थाहा पाउने ।

अद्वितीयबीचमा कस्तो भयो ? बीचमा केके भयो । सामान्य थाहा पाउने ।

समसामयिक विषयलाई अलि बढी फोकस गर्ने । इतिहासका विषयवस्तुलाई हेर्ने । युनिक कुरा, आइक्युका कुरा थाहा पाउने। पढेर मात्र पनि हुँदैन । एक विधिसम्मत भाँतीका हिसाबले पढ्नुपर्छ । सम्झने हिसाबले पढ्नुपर्छ ।

विषयगत


विषयगत प्रश्नको तयारी गर्दा 'सेभेन सी'लाई नै केन्द्रविन्दु बनाएर पढ्ने हो । विषयको अर्थ के हो ? कसरी परिभाषित गरिएको छ ? आयाम केके छन् ? आरम्भ कसरी भयो ? अहिले त्यसका दायरा के कति छन् ? अहिलेको अवस्था के हो ? त्यसमा कमीकमजोरी के छन् ? त्यसमा सुधार गर्नुपर्ने कुरा के छ ? माटोमोटी यही परिवेशमा विषयगत विषयलाई अध्ययन गर्नुपर्छ ।

जहिले पनि मौलिकपनलाई प्राथमिकता दिइएको हुन्छ । सिलसिलेबार तरिकाले आफ्नै शैलीमा उत्तर दिन सक्नुपर्छ ।

गतिलो लेखका लागि 'सेभेन एस' अपनाउनुपर्छ ।
Seven 'S'
स्टक्चर (structure)
छोटो वा लामो उत्तर लेख्दा दायाँबायाँ मार्जिन छोड्ने, राम्रो शीर्षक राख्ने, सब टाइटल राख्ने, प्याराफ्रेज गर्ने, बुलेटमा राख्ने ।

स्टार्ट (Start)
लेखको सुरुवात राम्रो हुनुपर्छ । जर्नालिस्टिक तरिकाबाट, सुरुवातमा मुख्य कुरा लेख्ने गर्नुपर्छ । फस्र्ट इम्प्रेसन राम्रो हुनुपर्छ। यो कुरा पढ्ने बेलामै ध्यान दिनुपर्छ।

स्टाइल (Style)
लेखमा विभिन्न स्टाइल प्रयोग गर्नुपर्छ । जस्तैः बुलेट राख्द सफा र आकर्षक देखिन्छ । राम्रा अक्षर र शुद्धता त हुनैपर्‍यो ।

स्टाटेजी (Strategy)

प्रतिस्पर्धात्मक परीक्षा भएकाले केही स्टाटेजी पनि अपनाउनुपर्छ । जानकारीलाई बक्समा राख्ने, विभिन्न चित्र, ग्राफ बनाउने, कहिलेकाहीँ जार्गन, फ्रेजहरूलाई प्रयोग गर्ने । हाइलाइट गर्ने । लेख पनि एक किसिमको फेसन नै हो । ढाँचा मिलाएर लेख्नुपर्छ ।

स्कोप (Scope)
प्रश्नमा स्कोप लुकेको हुन्छ । प्रश्नमा के लुकेको छ त्यो थाहा पाउनुपर्छ । जस्तैः नेपालमा पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? भन्ने प्रश्नमा अहिले पत्रकारितामा प्रभावकारिता छैन र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने स्कोप लुकेको छ । हामीले जानेकै स्कोप होइन मागेको स्कोप दिनुपर्छ ।

साइज (Size)
साइज भनेको प्रश्नको उत्तर कति लेख्ने भन्ने हो । दिएको समयभित्र अंकभारका आधारमा प्रश्नको उत्तरको साइज हुुनुपर्छ । थोरै अंकलाई धेरै, धेरै अंकलाई थोरै लेखेर हुँदैन।

स्ट्रन्थ (Strength) 
लेख आशावादी हुनुपर्छ । एक्टिभभन्दा पेसिभ भ्वाइस हुनुपर्छ । अप्रत्यक्ष रूपमा बौद्धिक एप्रोज हुनुपर्छ । सकारात्मक निष्कर्ष दिनुपर्छ । तर जे जस्ता सिद्धान्त भए पनि पौडी खेल्न आफैं पोखरीमा हाम फाल्नुपर्छ।

स्रोतः नागरिक न्यूज



Share:

नेपालको जनसंख्या २ करोड ८० लाख

नेपालको जनसंख्‍या करिव ३ करोड नजिक पुगेको छ । विश्व जनसंख्या दिवस (जुलाइ ११) को अवसर पारेर केन्द्रीय तथ्यांक विभागले २०७२ असार २६ (सन् २०१५ जुलाइ ११) सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलब ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । विभागका उप-महानिर्देकक डा. रुद्र सुवालका अनुसार अहिले जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत छ ।
विश्व जनसंख्या दिवस

आपत्कालीन अवस्थामा असुरक्षित जनता भन्ने नारा सहित २०१५ जुलाइ ११ का दिन विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले २६ वर्षअघिदेखि यो दिवस मनाउन शुरु गरेको हो ।
पछिल्लो केही वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ८ करोड जनसंख्या बढिरहे पनि जनसंख्याको वृद्धिदरमा भने कमी आइरहेको छ ।
सन् २०५० मा जनसंख्या वृद्धिदर ० दशमलव ५ मा भन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । तर जनसंख्या वृद्धिदर घटे पनि व्यवस्थापन तथा विभिन्न समस्यामा भने कम हुन नसकेको विज्ञहरु बताउँछन् ।
जनसंख्या दिवसको सन्देश

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले जोखिमका जनसंख्यालाई सहयोग गरौं, विपद्मा नवर्निमाणको उर्जा बनौं नारासहित सहयोगको अपिल गरेको छ । विश्व जनसंख्यादिवस (जुलाई ११)को अवसरमा युएनएफपीएकी नेपाल प्रतिनिधि जुलिया भलिसीले विज्ञप्ति जारी गर्दै अपिल गरेकी हुन् ।
नेपालले भूकम्पको महाविनाशबाट उत्साहजनक रूपबाट पहिलेकै अवस्थामाफर्किने प्रयत्नगरिरहेका बेला विश्व जनसंख्या दिवस २०१५ मुलुकका लागि अझ बढी सान्दर्भिक हुनआएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा ठूलो भूकम्प र त्यसपछिका त्रासदीपूर्ण तथा विध्वंसात्मक पराकम्पनहरूको शृंखलापछि पहिलेकै अवस्थामाफर्किन व्यापक रूपमा प्रयत्न गरिरहेको अवसरमा यो नारा एउटा महत्वपूर्ण अवधारणा हो ।
प्राकृतिक प्रकोपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू सबैभन्दा जोखिममा रहेका जनसंख्यामध्ये पर्ने उल्लेख छ । यो विषयले खास गरी कठिनाईको यो वर्ष नेपालसँग अझ सरोकार राख्छ,’ भूकम्पबाट १४ जिल्लामा ज्यादा असर परेको उल्लेख गर्दै भनिएको छ, ‘त्यहाँमात्रै ८० लाख मानिस प्रभावित छन् जसमध्ये १५ लाख महिला प्रजनन् उमेरका छन् ।प्रजनन् स्वास्थ्यसँग सम्बन्धित जटिलताहरू साधारण अवस्थामै पनि बच्चा पाउने उमेरका महिला विरामी पर्ने र ज्यान गुमाउने प्रमुख कारणका रूपमा रहेको भनिएको छ । त्यसैले मानवीय संकटको यस्तो परिस्थितिमा यस्ता घटना अझ विकराल रूपमा बढ्न सक्ने औल्याइएको छ ।
युएनएफपीएले भूकम्प प्रभावित जिल्लाहरूमा स्वास्थ्य संस्थाहरूमा क्षति र स्वास्थ्य सेवाहरूमा अवरोधले गर्दा गर्भवती र स्तनपान गराइरहेका आमाहरू र वयस्क किशोरीहरूले स्वास्थ्यमा जोखिमहरू सामना गर्नुपरेको उल्लेख गरेको छ । यस्तो आपत्कालीन समयमा लैंगिक हिंसा, यौन शोषण, एचआईभी संक्रमण, मानव बेचविखन, वालविवाहवा अनिच्छित गर्भधारणलगायत विषम परिस्थितिप्रति ध्यानाकर्षण गराएको छ । विश्वव्यापी रूपमा मानवीय संकटका परिस्थितिहरूमा प्रत्येक पाँचमध्ये एक महिला र वयस्क युवती गर्भवती हुन सक्ने अनुमान छ ।
प्राकृतिक विपत्तीलगत्तै पानी, सरसफाई, खाना, पाल र आवास उपलब्ध गराइए पनि महिला र किशोरीहरूका खास अत्यावश्यक आवश्यकताहरूलाई वेवास्ता गरिन्छ । त्यसनिम्ति प्राथमिक राहतमा यौन प्रजनन् स्वास्थ्य सहयोगलाई पनि समावेश गरिनु पर्ने भनेको छ ।

युएनएफपीएले भूकम्प पीडितहरूका जीवनरक्षामा नेपाल सरकारसँगै सहयोग गर्न पाएको जनाएको छ । युएनएफपीएले प्रसूती सम्वन्धी र गर्भनिरोधक सामग्रीहरू, डिग्निटी किट्स, महिलामैत्री स्थल र प्रभावित जिल्लामा कमजोर जनसंख्यालाई लैंगिक हिंसा रोक्न र प्रजनन् स्वास्थ्यको ख्याल राख्न तालिमप्राप्त जनशक्ति उपलब्ध गराउदै आएको छ,’ विज्ञप्तिमा छ, ‘हामी महिला, वयस्क किशोरी र युवाका आवश्यकताहरूमा पुनर्निमाणको चरणभरि नै सहयोग गरिनु पर्छ भन्ने सुनिश्चित गर्न प्रतिवद्ध छौं ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages