नेपालमा उपलब्ध माटोका प्रकार

(क) पाँगो माटो
तराई प्रदेश र बेसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदिखनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यको लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ ।
(ख) बलौटे पत्थरिलो माटो
भाँवर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कन्कड, पत्थरजस्ता खुकूला खस्रा पदार्थ मिली बनेको हुन्छ । मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ । यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ । यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ ।
(ग) रातो फुस्रो माटो
महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ । किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुने हुँदा यस क्षेत्रको माटोको रङ्ग रातो फुस्रो वा पहेँलो हुन्छ । चून, नाइट्रोजन र फोस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती आदि खेती प्रायः गरिँदैन । तर यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुने हुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न यो उपयोगी हुन्छ ।
(घ) तलैया माटो
उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ । माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुने हुदाँ तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन् । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।
(ङ) हिमाली माटो

हिमनदीले थुपारेको माटो, बालुवा, कङ्गड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ । खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ । हावापानी ठण्डा र शुष्क हुने तथा माटोको गहिराइ एवं जैविक पदार्थ कम हुने हुदाँ यसको उर्वरा शक्ति न्यून हुन्छ । यो माटोमा मकै, जौ, आलु, फापरजस्ता बाली मात्र लगाइन्छ ।
Share:

भूमि विभाजन

१.३ नेपालको प्राकृतिक श्रोत र साधनहरू
१.३.१ भूमि
नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपूर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource Mapping Project (१९७८/ ७९) का अनुसार नेपालमा खेतीयोग्य भूभाग १८ प्रतिशत रहेको उल्लेख गरिएको छ । नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था
रैकर भूमि
रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो । रैभन्ने शब्दले राज्य र करभनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको भूमिलाई भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ ।
विर्ता भूमि
कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई बृत्तिस्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ । नेपालमा विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश विर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्ता, युद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवटविर्ता भनिन्थ्यो । राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा वितरण भएको थियो । वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो ।
गुठी भूमि
कुनै विषेश सार्वजनिक वा सामुहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको गोष्ठीबाट भएको हो । यसको अर्थ परिषद्भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा
गुठीको रूपमा रहेका छन् । नेपालमा विशेष गरी पशुपतिनाथ, जयबागेश्वरी, रामजानकी मन्दिर जस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा निर्देशन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ ।
किपट भूमि

नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान गर्नुपर्दथ्यो । यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.स. २०२१ मा भूमिसुधार लागू भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो ।
Share:

हावापानीको आधारमा नेपालको विभाजन

१.२.३ हावापानीको आधारमा नेपालको विभाजन
नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।
(क) उष्ण मनसुनी हावापानी (Sub Tropical Monsoon Climate)
अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाँवर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ्ग, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
(ख) न्यानो समशीतोष्ण हावापानी (Warm Temperate Climate)
चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ । गृष्म ऋतुमा तापक्रम २४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठण्डा समशीतोष्ण हावापानी (Cool Temperate Climate)
महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भएपनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ) लेकाली हावापानी (Alpine Climate)
नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत, वैशाख, जेठमा १०० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतिपाती हुदैन तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) ध्रुवीय वा हिमाली हावापानी (Tundra Climate)

हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मि.(१६०००फिट) भन्दा माथिको भूभागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहुदाँ यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।
Share:

नेपालमा वन तथा जङ्गलको विभाजन

१.३.२ वन
कुनै ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ । यद्यपि विगत केही दशकयता वन सम्पदामा व्यापक ह्रास आएको छ । सन् १९५४ को तथ्याङ्कअनुसार देशको ४५ प्रतिशतभन्दा बढी भूभाग वन जङ्गलले ढाकेको थियो तर सन् १९७९ तिर ४३ प्रतिशत, सन् १९८६ मा ३७.४ प्रतिशत र सन् १९९८ मा गरिएको एक सर्वेक्षणले वन क्षेत्र केवल ३९.६ प्रतिशत रहन गएको तथ्य खुलासा गरेको छ । यही अध्ययनले नेपालको तराई क्षेत्रको वन प्रति वर्ष १.३ प्रतिशतले विनास हुँदै गएको देखाएको छ । विगतका दशकहरूमा आवास तथा पुनर्वासका लागि धेरै ठाँउहरूमा वन फडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो ।
नेपालको भूधरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्न ५ समूहमा वर्गीकरण गर्न सकिन्छः
(क) उष्णप्रदेशीय सदाबहार जङ्गल (Sub Tropical Evergreen Forest)
तराई, भावर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरियाभरिया हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ । यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुदाँ यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
(ख) समशितोष्ण पतझर जङ्गल (Temperate Deciduous Forest)
नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागमा पाइने समशितोष्ण पतझर जङ्गलमा पाइने रूख अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारू, चाँप, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाँकुरी, चाँप प्रमुख छन् । यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।
(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल (Coniferous Forest)
महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भैरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् । यँहाको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ । यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन् ।
(घ) लेकाली वनस्पति वा घाँसे मैदान (Alpine Forest)
नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन् । लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि घाँसका ठुला ठुला फाँटहरू पाइन्छन् । माथिल्लो गुराँस भागमा रङ्गविरङ्गका बुकी फूल, जडिबुटीहरू पाइन्छन् ।
(ङ) शीत मरूभूमिको वनस्पति (Tundra Vegetaion)

नेपालमा ५००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाँउमा काई र लेउ मात्र पाइन्छन् । उम्रिन र हुर्कन नसक्ने यस्तो ठाँउमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरूभूमिको वनस्पति भनिन्छ ।
Share:

खरिदारबाट मुख्य सचिव : सोमलाल सुवेदी मुख्य सचिव

सरकारले स्थानीय विकास मन्त्रालयका सचिव डा.सोमलाल सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ । २०७२ साउन २० गते बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले उनीलाई नियुक्त गरेको हो । निजामति प्रशासनको सबैभन्दा तल्लो तह खरिदारबाट जागिर शुरु गरेका डा.सोमलाल सुवेदी निजामति प्रशासनकै सबैभन्दा माथिल्लो तह मुख्य सचिव बन्न सफल भएका छन् ।
आजभन्दा ३२ वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका सुवेदीले शाखा अधिकृत, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाटै नाम निकालेर ०६७ चैतमा उनी सचिवमा बढुवा भएका हुन् ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages