नेपालमा उपलब्ध माटोका प्रकार

(क) पाँगो माटो
तराई प्रदेश र बेसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदिखनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यको लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ ।
(ख) बलौटे पत्थरिलो माटो
भाँवर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कन्कड, पत्थरजस्ता खुकूला खस्रा पदार्थ मिली बनेको हुन्छ । मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ । यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ । यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ ।
(ग) रातो फुस्रो माटो
महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ । किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुने हुँदा यस क्षेत्रको माटोको रङ्ग रातो फुस्रो वा पहेँलो हुन्छ । चून, नाइट्रोजन र फोस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती आदि खेती प्रायः गरिँदैन । तर यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुने हुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न यो उपयोगी हुन्छ ।
(घ) तलैया माटो
उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ । माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुने हुदाँ तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन् । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।
(ङ) हिमाली माटो

हिमनदीले थुपारेको माटो, बालुवा, कङ्गड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ । खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ । हावापानी ठण्डा र शुष्क हुने तथा माटोको गहिराइ एवं जैविक पदार्थ कम हुने हुदाँ यसको उर्वरा शक्ति न्यून हुन्छ । यो माटोमा मकै, जौ, आलु, फापरजस्ता बाली मात्र लगाइन्छ ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages