वर्षका राष्ट्रिय युवा प्रतिभा

युवा नीति, २०६६ अनुसार राष्ट्रले युवाका काम गर्दै आएका र युवाले नेतृत्व गरेका संस्थालाई प्रत्येक वर्ष राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित गर्दै आएको छ । यस वर्ष पनि सात व्यक्ति र दुई संस्था सम्मानित भएका छन् । सम्मानित युवा र युवा संस्थाबारे छोटो जानकारी ।







सुस्मिता मास्के                                
   
   सातै महादेशका सर्वोच्च शिखरहरु आरोहरण गर्नुभएकी पहिलो नेपाली महिला मास्केले सन् २००८ मा सगरमाथा समावेशी महिला आरोहण दल को नेतृत्व पनि गर्नुभएको थियो । तिनपटक सगरमाथा आरोहण गर्नुभएकी उहाँले सन् २००५ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो ।
सुस्मिताले युरोपको एल्ब्ब्रस (,६४२ मि.), अफ्रिकाको किलिमन्जरो (५,८६ मि.), अस्ट्रेलियाको काजिएस्को (२,२२८ मि.), दक्षिण अमेरिकाको अकोंकागुआ (,९६१ मि.), उत्तर अमेरिकाको म्याक्किन्ले (,१९४ मि.) र अन्टार्टिकाको भिन्सोन मासेफ (,८९२ मि.) आरोहण गर्नुभएको हो । उहाँले सन् २०१३ जुन २६ मा आरोहण सुरु गरी सन् २०१४ को डिसेम्बर ६ मा पुरा गर्नुभएको थियो ।
      काठमाडौंको बसन्तपुरमा जन्मनुभएकी मास्केले प्रेरक वक्ता (मोटिमेसनल स्पिकर) का रुपमा आफूले गरेकव कामका बारेमा विभिन्न ठाउँमा मन्तव्य दिँदै आउनुभएको छ ।

प्रदीप परियार (३३)                                              
     
युवा सशक्तीकरण, विकास, शान्ति र सामाजिक रुपान्तरणका लागि निरन्तर क्रियाशील युवा नामक रुपमा परियारले सामाजिक संघ/संस्था तथा सञजालमा रहेर १२ वर्षदेखि योगदान पुर्‍याउँदै आउनुभएको छ । सन् २००६ मा नेपाल युथ फोरम नामक संस्था स्थापना गरी अधिकारलगायत युवाका विभिन्न सवालमा वहस, पैरवी थाल्नुभएका उहाँ राष्ट्रिय युवा नीति, २०६६ पुनरावलोकन तथा युथ भिजन- २०२५ कार्यदलको सदस्य हुनुहुन्थ्यो । उहाँ युवा संस्थाहरुको छाता सङ्गठन नेपाल युवा संस्था सञ्जाल (आयोन) को अध्यक्ष भइसक्नुभएको छ ।
      सन् २०११ मा विश्व वैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको युथ फलो २०११ का लागि ‍विश्वभरिबाट छानिएका १२ युवामध्ये एकमा पर्नुभएका उहाँले छनौटमा परेपछि विश्व वैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको नीतिलाई युवामैत्री बनाउन उहाँले योगदान गर्नुभएको थियो ।
      द्वन्द्व व्यवस्थापनमा अमेरिकाबाट स्नाकोत्तर गरेका परियारले देश र विदेशमा नेतृत्व विकास,, सशक्तिकरण, उद्यमशिलता र जीवनउपयोगी सिपजस्ता विषयमा प्रशिक्षण दिँदै आउनुभएको छ ।

गोमावती पुन सिर्जना(३५)                              

      द्वन्द्वका बेला घरमा बस्न गाह्रो भएपछि सुरक्षा खोज्दै काठमाण्डौं पुग्नुभएकी पुनले सुरुमा क्याबिन बारको व्यवस्थापक भए पनि दोहोरीमा काम गर्न थाल्नुभयो । त्यस क्रममा उहाँले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिक हिंसा र शोषणको चक्रव्युहमा फसेको अनुभव गर्नुभयो र उक्त स्थिति सहन नहुने ठहरसहित उहाँ महिलाको निम्ति महिला मञ्च नेपाल नामक संस्था खोलेर श्रमिक महिलाको हक हितका लागि समर्पित हुनुभयो । उहाँ सो संस्थाको अध्यक्ष हुनुहुन्छ । संस्थामा मनोरञ्जन क्षेत्रमा कार्यरत ३८४ महिला श्रमिक आवद्ध छन् ।
      उहाँले संस्थाले आठ वर्षदेखि डान्स, रेष्टुराँ, मसाज सेन्टरलगायत क्षेत्रका महिलाको मानव अधिकार र त्यहाँभित्र भएको हिंसा र शोषणका विरुद्धमा काम गरिरहेको छ ।
      आन्तरिक वेचविखनतर्फ कानुन कार्यान्वयनकर्ताद्वारा चाहिँदो ध्यान नपुर्‍याइँदा महिलाहरुले भोग्नुपरेको कष्टकर जीवनलाई सहज बनाउन उहाँ निरन्तर लागिपर्नु भएको छ । उहाँ अहिले मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय समितिको सदस्य हुनुहुन्छ 

डा. बिन्दु शर्मा (३८)                            

      नेपाली साहित्य समालोचनाको क्षेत्रमा पुर्‍याएको योगदानबापत राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित शर्माले नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली गीति नाटकका प्रवृत्ति शीर्षकमा विद्यावारिधि गर्नुभएको छ । नेपाली गीति नाटकमा भएको यो नै पहिलो विद्यावारिधि हो । उहाँले वि.सं. २०६२ सालमा रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नाकोत्तर तहमा नेपाली विषयमा प्रथम श्रेणीमा प्रथम भएर स्वर्णपदक प्राप्त गर्नुभएको थियो ।
      शर्मा गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे (२०६२), आधारभूत नेपाली समालोचना (२०६५), भीमनिधि तिवारी : सिर्जना र धरातल (२०७०), आदिकवि भानुभक्त : समसामयिक आकलन (२०७१), विश्वेश्वरप्रसाद कोइराला : समीक्षा र सम्झना (२०७२) प्रकाशित कृति हुन् ।
      रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नाकोत्तर तहको प्राध्यापकमा संलग्न शर्मा तन्नेरी साहित्यिक पत्रिकामा सहसम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । लेखनको मूल क्षेत्र समालोचना भए पनि उहाँका कविता, गीत, गजल, निबन्ध र कथा पनि प्रकाशित भइसकेका छन् । त्रिविको साहित्य कुञ्जद्वारा आयोजित खुल्ला राष्ट्रिय गजल प्रतियोगितामा प्रथम स्थान प्राप्त शर्माले त्रिमूर्ति निकेतन, काठमाण्डौंद्वारा विश्वनारी साहित्य पदक, २०७० पनि प्राप्त गर्नुभएको छ ।

राजन खतिवडा (३५)                        

     
मण्डला थियटरका संस्थापक तथा दुई दशकदेखी नेपाली रङ्गमञ्चका क्रियाशील खतिवडालाई रङ्गमञ्चका माध्यमबाट नेपाली कला/संस्कृतिको जगेर्ना र संरक्षण गरेबापत सो विधाको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो ।
      दुई दर्जन नाटकमा अभिनय र एक दर्जन नाटकको निर्देशन गरिसक्नु भएका उहाँले ठूलव पर्दाका चलचित्रमा कला निर्देशन, कास्टिङ् निर्देशन र अभिनेताका रुपमा काम गर्नुभएको छ । उहाँले ठुल्दिदी, बिबिसी वर्ल्ड सर्भिस ट्रष्टको कथा मिठो सारङ्गीजस्ता नाटकहरुमा पनि अभिनय गर्नुभएको छ ।
      जर्मनी, डेनमार्क, नर्वे, रुस, स्विडेन, बङ्गलादेश, कतार र भारतलगायतका मुलुकमा रङ्गमञ्चसँग सम्बन्धित कार्यक्रममा सहभागी उहाँ रङ्ग स्रष्टा सम्मान २०११सामान्य कला सम्मान २०१३ बाट पनि सम्मानित भइसक्नुभएको छ ।

भवेश खनाल (२८)                             

     
खनाल विश्वसामु नेपालको फरक खालको राष्ट्रिय झन्डाको प्रचार र राष्ट्रिय एकताको सन्देश सबैभन्दा ठूलो मानवनिर्मित राष्ट्रिय झण्डा बनाउने आयोजक संस्था ह्युमन भ्यालु फर पिस एन्ड पस्पिरिटीका अध्यक्ष हुनुहुन्छ । वि.सं. २०७१ भदौ ५ गते टुँडिखेलमा ३५ हजार ९०७ जना युवा उमेर एक लाख १० हजार वर्गफुटभन्दा भन्दा ठुलो आकारको मानव निर्मित राष्ट्रिय झन्डा बनाएका थिए । सोही कामको कदर गर्दै उहाँलाई राष्ट्रिय प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो ।
      जीवनको अर्थ खोज्न आध्यात्मिक बाटो रोजेका भवेशलाई नेपालको आध्यात्मिकतालाई संसारमा फैलाउने र नेपालमा संसारकै ठुलो आश्रम बनाएर विश्वभरका मान्छे यहाँ ल्याउने इच्छा छ । सात वर्षअघि आफूमा आध्यात्मिक चेतना आएपछि उहाँले विभिन्न धार्मिक पुस्तक पढ्न र धर्मगुरुहरुलाई भेट्न थाल्नुभएको थियो । उहाँ अहिले धार्मिक संस्थाहरुमा गएर जीवनको सत्यको खोजी गर्ने यात्रामा हुनुहुन्छ । गत वर्ष उहाँको शान्ति र समृद्धिका लागि मानव मूल्य नामक कृति सार्वजनिक भएको थियो ।

डा. राजीव झा (३६)                        

     
चीनको सियान मेडिकल युनिभर्सिटिमा कार्यरत नेपाली प्रोफेसर डा. राजीवकुमार झा चीनमा गएको वर्ष हन्ड्रेड ट्यालेन्ट्स मा छनौट हुनुभएको थियो । युवा वैज्ञानिक डा. झा चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानबाट अनुसन्धानकर्तामा छनौट हुनुका साथै उहँले युवा अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानकर्ताको उपाधि प्राप्त गर्नुभएको थियो । चीनमा युवा वैज्ञानिक पुरस्कार प्राप्त गर्ने उहाँ पहिलो नेपाली युवा हुनुहुन्छ । युवा वैज्ञानिक विधामा उहाँ राष्ट्रिय प्रतिभा सम्मानबाट स्मानित हुनुभएको हो ।
      चीनको सान्सी प्रान्तीय सरकारले ३५ वर्षीय राजीवलाई सातौं एक सय प्रतिभा योजना अन्तर्गत छानेको ही । यसलाई चीनमा युवालाई प्रदान गरिने सर्वाधिक प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ । उहाँले आधुनिक चिकित्सा र स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आउनुभएको योगदानबापत सो पुरस्कार प्रदान गरिएको हो । धनुषा जिल्लाको देउरी परवाहा घर भएका राजीव झण्डै १७ वर्षअघि एमबिबिएस अध्ययनको सिलसिलामा चीन जानुभएको थियो ।

नेपाल अपाङ्ग महिला सङ्घ (नेअमसं)                      

      अपाङ्गता भएका महिलाको मानव अधिकार रक्षा गर्दै सामाजिक, आर्थिक र राजनीतिक रुपमा उनीहरुलाई सबल बनाउन १८ वर्ष अघि नेअमसको स्थापना भएको हो । अपाङ्गता भएका महिलाको सशक्तिकरण, पुनःस्थापना र मानव अधिकार सुनिश्चितताका लागि सङ्घले विभिन्न कार्यक्रम गरिरहेको छ ।
      बत्तिस जिल्लामा कार्यक्रम विस्तार गरिसकेको नेअमसंले अपाङ्गता भएका महिलाई सङ्गठित गरी शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनालगायतका अधिकार हासिल गर्न क्षमता विकास र वकालत गर्न सक्ने बनाउन राज्यका हरेक निकाय र नीतिनिर्माण तहमा अपाङ्गता भएका महिलाको अर्थपूर्ण सहभागिताका लागि पैरवी, समन्वय तथा सहकार्य गरिरहेको छ । हिंसा प्रभावित, अभिभावक एवं घरबारविहिन र दुर्गम क्षेत्रका अपाङ्गता भएका महिलाका लागि शिक्षा, तालिमसहित पुनःस्थापनागृह सञ्चालन पनि गरेको छ ।

नेपाल युवा संस्था सञ्जाल (आयोन)               

      युवा अधिकार र युवाका सवालमा १० वर्षदेखि कार्यरत नेपाल युवा संस्था सञ्जाल (आयोन) देशभर छरिएर रहेका ९२ वटा युवा संस्थाको छाता सङ्गठन हो । विकासमा युवा सहभागिता, युवा संस्था र युवा क्षमता अभिबृद्धिका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा संयुक्त राष्ट्रसङ्घसँग साझेदारीमा यसले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

      राष्ट्रिय युवा नीति, २०६६ को मस्यौदा, राष्ट्रिय युवा रोजगार रणनीति, राष्ट्रिय योजना आयोगको युवाका लागि नीति निर्माण, युवा साझेदारी कार्यक्रमको सुरुवात जस्ता क्षेत्रमा आयोनले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । भूकम्पको दोस्रो दिनदेखि नै आयोनले कमन युथ स्ट्यान्ड अप संस्थासँग मिलेर युवाले नेतृत्व गरेको मुलुककै सबैभन्दा ठूलो राहत अभियान सम्पन्न गरेको थियो, जसमा १६ हजार परिवारका साथै विभिन्न जिल्लाका ३० वटा विद्यालयलाई पुर्‍याइएको थियो । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages