२.३ नेपाल
उपत्यकाको उत्पत्ति
लिच्छविकालभन्दा अघिको
प्राचीन इतिहास भरपर्दो स्रोतहरूको अभावमा स्पष्ट हुन सकेको छैन ।
वंशावली र पुराणहरूको आधारमा मात्र यस युगको इतिहास अध्ययन गर्न
सकिन्छ । ती ग्रन्थहरूमा भने नेपाल उपत्यका उत्पत्तिको सम्बन्धमा अनेक रोचक
कथाहरूको वर्णन गरिएको छ । यस्ता स्रोतहरूले उल्लेख गरेअनुसार प्राचीन समयमा
काठमाडौँ उपत्यका घना जङ्गले ढाकिएको थियो र यसको बीच भागमा विशाल
सरोवर थियो । सो सरोवरमा नागहरूको निवासभएकोले यसलाई नागदह भनिन्थ्यो
। यहाँ बेलाबखतमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभू बुद्ध, मञ्जुश्री
बोधिसत्व, क्रकुच्छन्द बुद्ध जस्ता विभिन्न तपस्वीहरू आउने गर्दथे ।
विपश्वी बुद्ध
नेपाल उपत्यकामा आउने
प्रथम महात्मा विपश्वी बुद्ध थिए । यिनी आफ्नो स्थायी निवास बन्धुमती
नगरमा सत्ययुगमा नै यहाँ आएको विश्वास गरिन्छ । यहाँ आएर उनी नागार्जुन
पर्वतमा बसे र केही समयपछि चैत्र शुक्ल पूर्णिमाको दिन नागदहको बीचमा कमलफूलको
बीज रोपे । हिजोआज पनि चैत्र शुक्ल पूर्णिमाका दिन नागार्जुन
पर्वतमा मेला लाग्दछ र यो विपश्वी बुद्धकै सम्झनामा लागेको मेला हो भन्ने विश्वास
गरिन्छ ।
शिखी बुद्ध
विपश्वी बुद्धले रोपेको
बीजबाट छ महिनापछि आश्विन शुक्ल पूर्णिमाको दिन एक अलौकिक फूल
उत्पन्न भयो र त्यस फूलको बीचभागमा ज्योतिर्मय भगवान् स्वयम्भू प्रकट
भए । यसरी मत्र्यलोकमा स्वयम्भू भगवान्को आगमनको खवर सुनेर अरूणपुरका शिखी
बुद्ध यहाँ आएर स्वयम्भूको आराधना गर्दागर्दै केही कालपछि भगवानमा नै मिल्न गए ।
उनी आएर बसेको पर्वतलाई ध्यानोच्व पर्वत भनिन्छ । हरेक माघ १ गते त्यहाँ लाग्ने मेलालाई शिखी बुद्धको संस्मरणमा लगाइएको
मेला मान्ने चलन छ ।
विश्वभू बुद्ध
यिनी त्रेतायुगमा यहाँ
आएका थिए । नेपाल उपत्यकामा आएर धेरै फूल भएको पर्वत छानेर
आफ्नो आश्रम बनाई बसे । उनी बसेको पहाड फूलोच्च नामले प्रसिद्ध भयो ।
यिनले नै पहिलोपल्ट उपत्यकाको पानी बाहिर जाने मार्गको बारेमा आफ्ना चेलाहरूलाई
अवगत गराएका थिए ।
मञ्जुश्री
बोधिसत्व
विश्वभू बुद्ध फर्केको
केही वर्षपछि त्रेतायुगमा नै चीनबाट मञ्जुश्री बोधिसत्वको यहाँ आगमन भयो ।
यी मञ्जुश्री बोधिसत्वको बारेमा वंशावलीहरूले थुप्रै वर्णन गरेका छन् । उनले
यहाँ आएर स्वयम्भूको दर्शन पाएपछि उपत्यकाको पानी बाहिर पठाउने
विचार गरे । सरोवरको सम्पूर्ण भौगोलिक अध्ययन गरेर उनले कटुवाल नामक
स्थानमा उपत्यकाको पानी जाने बाटो बनाई स्वयम्भूदेखि गुह्येश्वरीसम्मको
एक विशाल सहरको निर्माण गराए । त्यसपछि उनले धर्माकर नामक व्यक्तिलाई
नेपालको पहिलो राजा बनाए । मञ्जुश्री फर्केपछि उनका चेलाहरूले यस
सहरको नाम नै मन्जुपतन राखे । मन्जुश्रीको नाममा हिजोआज श्रीपञ्चमीको दिन
स्वयम्भुमा चैत्य मेला लाग्छ ।
क्रकुच्छन्द
बुद्ध
मञ्जुश्री बोधिसत्व
फिर्ता भएपछि क्रकुच्छन्द बुद्ध स्वयम्भू ज्योतिको दर्शनार्थ यहाँ आए । उनी यहाँ
आएको बेला काठमाडौँमा पानीको अभाव देखेर गुह्येश्वरीसँग प्राथना गरे । सो
प्राथना सुनेर गुह्येश्वरीले शिवपुरीबाट बाग्मती पैदा गरिन् भनेर वशांवलीहरूले
उल्लेख गरेको पाइन्छ । यी बुद्धले नेपालका राजा धर्मकार निःसन्तान भएकाले उनीपछि
धर्मपाललाई यहाँको राजा बनाएको कुरा पनि वंशावलीमा उल्लिखित छ ।
राजा धर्मपालपछि उनकै
वंशज सुधन्वाले त्रेतायुगको अन्तसम्म नेपाल उपत्यकामा शासन गरे । उनी
सीताको स्वयंवरमा जनकपुर जाँदा जनकका भाइ कुशध्वजद्वारा मारिएको कथा वंशावलीमा
वर्णित छ । त्यसपछि केही समय
नेपाल मिथिलाको नियन्त्रणमा रह्यो ।
द्वापरयुगको अन्ततिर गौड
देशका राजा प्रचण्डदेव स्वयम्भू र गुह्येश्वरीको दर्शनार्थ नेपाल
आएको बेलामा स्वयम्भूको
समीपमा वसुपुर, अग्निपुर, वायुपुर, नागपुर र शान्तिपुर नामका पाँच कुटीहरूको निमार्ण गरेको तथा कलियुग आएको थाहा पाई कलियुगी
मानव स्वयम्भू ज्योतिको दर्शन गर्न असमर्थ रहनेछन् भन्ने विश्वासमा उनले
स्वयम्भू ज्योतिलाई पत्थरले ढाकी त्यसमाथि एक चैत्य खडा गरेको कथा
वंशावलीमा उल्लेख छ । सो समयमा उपत्यकाको राजगद्दी खाली भएको हुँदा उनै
प्रचण्डदेवका छोरा शक्तिदेवले यहाँ आफ्नो नियन्त्रण कायम गरे । वंशावलीहरूमा
उनीपछि गुणकामदेव, शक्तिदेव तथा सिंहल आदिले यहाँको राजपाट सम्हालेको
कुराको उल्लेख गरिएको छ ।
No comments:
Post a Comment