नेपालमा जलश्रोत अवस्था

१.३.४ जलश्रोत   
नेपाल समुद्री सुविधाबाट बञ्चित भए पनि जलसम्पदाको दृष्टिले ब्राजिलपछि विश्वको दोश्रो सबैभन्दा संवृद्ध र एसियाको पहिलो राष्ट्र मानिन्छ । नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् । नेपालका तीन ठूला नदीहरू कोशी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार क्युविक मिटर अर्थात कूल जलभण्डार क्षमताको ७४ प्रतिशत रहेको छ । कूल जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको छ । नेपालका साना ठुला नदीहरूको प्रवाह, जलभण्डार र उपयोगिताका दृष्टिले नदीहरूलाई निम्नानुसार ३ श्रेणीमा वर्गीकरण गर्न सकिन्छ ।

(क) पहिलोस्तरका नदी

हिमालको हिउँ पग्लेर वा हिमालयबाट उत्पत्ति भई निरन्तर रूपमा ठूला जलराशिका साथ प्रवाहित हुने सप्तकोशी, सप्तगण्डकी र कर्णालीजस्ता ठूला नदीहरू पहिलो स्तरका नदी हुन् । यस्ता नदी ठूला जलविद्युत् र सिँचाइ आयोजनाहरूका लागि उपयोगी मानिन्छन् ।

(ख) दोश्रोस्तरका नदी


हिमालय पर्वतभन्दा तलको महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भई कहिल्यै नसुक्ने निरन्तर रूपमा जलप्रवाहित हुने भएता पनि वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको मात्रा निक्कै घट्ने मेची, कनकाई, त्रिजुगा, कमला, बाग्मती, वाणगङ्गा, तिनाऊ, राप्ती, बबई, मोहना आदि दोश्रो स्तरका नदीहरू हुन् ।

(ग) तेश्रोस्तरका नदी


महाभारत पर्वत शृङ्खलाभन्दा तलको शिवालिक पर्वतमाला चुरेपहाडबाट उत्पत्ति भई मनसुनमा निकै ठूलो रूप लिए पनि हिउँदमा निकै कम पानी हुने वा सुक्ने अस्थायी प्रकृतिका नदीहरू तेश्रो स्तरका नदी हुन् । यस्ता नदीहरूमा सिर्सिया, तिवाले, जमुनी, हर्दिनाथ, डुण्डुवा, सुनसरी, अजुर्न खोला आदि पर्दछन् । यस्ता नदीहरू वर्षे खेतीका लागि सिँचाइ गर्न उपयोगी हुन्छन् ।
Share:

नेपालमा उपलब्ध खनिज पदार्थहरु

१.३.३ खनिज
खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरू, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । आर्थिक वर्ष २०६५/२०६६ मा यस क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा ०.५४ प्रतिशत योगदान रहेको छ । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।

Share:

संशोधित निजामतीसेवा ऐनका महत्वपूर्ण व्यवस्थाहरु

   
       वि.सं. २०७२ असार २९ गते प्रमाणीकरण गरी चौथो संसोधन भएको निजामती सेवा ऐनका महत्वपूर्ण व्यवस्थाहरु निम्न छनः-
-    स्थायी आवासीय अनुमतिको परिभाषा गरिएको‚ जसअनुसार विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डिभी)‚ परमानेन्ट रेजिडेन्ट भिसा (पीआर) वा ग्रिन कार्डलाई जनाउने‚ सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउने व्यवस्था‚
-    राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवसम्म सेवा विशिष्टीकरण गर्ने प्रयोजनका लागि निम्न सेवा समूहीकरण गरिएको :
(१) नेपाली इन्जिनियरिङ सेवा
(२) नेपाल कृषि र वन सेवा
(३) नेपाल न्यास सेवा
(४) नेपाल परराष्ट्र सेवा
(५) नेपाल प्रशासन सेवा
(६) नेपाल लेखा परीक्षण सेवा
-    आन्तरिक प्रतियोगितात्मक परीक्षणद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवसम्मको पदमा तोकिएको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन’ २०४९‚ व्यवस्थापिका संसद सचिवालयसम्बन्धी ऐन‚ २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन‚ २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भाव्य उम्मेदवार हुने व्यवस्था ।
-    उपरोक्त सेवाको विशिष्ट श्रेणी सचिव पदमा कार्यरत कर्मचारी सोही सेवाको विशिष्ट श्रेणी सचिव पदमा मात्र सरुवा वा काज हुन सक्ने व्यवस्था‚
-    राजपत्र अनङ्कित निजमती कर्मचारीलाई लोक सेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो‚ सोही अञ्चलभित्रका कार्यालयहरु बाहेक पाँच वर्षसम्म अन्यत्र सरुवा नगरिने व्यवस्था‚
-    राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव पदमा निम्न सेवाका कर्मचारीहरुबाट बढुवा गरिने व्यवस्था :
(क) नेपाल कृषि तथा वन सेवाको सचिव पदमा नेपाल कृषि सेवा र वन सेवाका सचिवहर‚
(ख) नेपाल प्रशासन सेवाको सचिव पदमा नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा‚ नेपाल प्रशासन सेवा‚ नेपाल विविध सेवा र नेपाल शिक्षा सेवाका सहसचिवहरु‚
-    निजामति सेवाको विशिष्ट श्रेणी सचिव पद रिक्त भएको मितिले १५ दिनभित्र सम्भाव्य उम्मेदवारको सिफारिस गर्नुपर्ने र सिफारिस भएको मितिले १५ दिन भित्र रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था‚
-    निजामती कर्मचारीले अन्यत्र नोकरी गर्ने‚ आर्थिक लाभ वा सुविधा प्राप्त गर्ने गरी परामर्शदाता‚ सल्लाहकार‚ विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्न नहुने व्यवस्था तर अख्तियारवालाको पूर्व स्वीकृति लिई कार्यालय समयबाहेकको समयमा शैक्षिक‚ प्राज्ञिक वा प्रशिक्षण संस्थामा प्रशिक्षण वा अनुसन्धान गर्न सकिने व्यवस्था‚
-    लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने परीक्षाको प्रकृयामा संलग्न हुने कर्मचारीले त्यस्तो प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन नपाउने तथा त्यस्तो प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिएको व्यक्तिले एक वर्षसम्म सञ्चालन हुने त्यस्तो परीक्षाको प्रक्रियामा संलग्न हुन नपाउने व्यवस्था‚
-    निजामती कर्मचारीले स्थायी आवासीय अनुमति दिन तथा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन दिन नहुने व्यवस्था‚
-    देहायको कुनै अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने व्यवस्था :
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा‚
(ख) भ्रष्टाचार गरेमा‚
(ग) स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि आवेदन दिएमा‚
(घ) निजामती सेवामा नियुक्त हुने वा वहाल रहने उद्देश्यले नागरिकता‚ उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा‚
-    उपरोक्त बमोजिम निजामती सेवाबाट बर्खास्त भएको कर्मचारीले सञ्चयकोष र बिमाबाहेक अन्य कुनै सुविधा नपाउने व्यवस्था‚
-    स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको प्रत्येक कर्मचारीले ३० दिनभित्र सोको विवरण स्वयं घोषणा गरी आफू कार्यरत कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था‚ सम्बन्धित कार्यालयले यससम्बन्धी प्राप्त विवरण १५ दिनभित्र सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था‚

-    यस अघि स्थायी आवासीय अनुमति लिएको वा सोका लागि आवेदन दिएको निजामती कर्मचारीले सो कुरा स्वीकार गरी ६० दिनभित्र स्थायी आवासीय अनुमति त्यागेको वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि दिएको आवेदन रद्द गर्नका लागि सम्बन्धित मुलुकमा लिखित अनुरोध गरेको प्रमाणसहित निवेदन दिएमा त्यस्तो कर्मचारीलाई सजाय नहुने व्यवस्था । 
Share:

नेपालमा उपलब्ध माटोका प्रकार

(क) पाँगो माटो
तराई प्रदेश र बेसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदिखनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यको लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ ।
(ख) बलौटे पत्थरिलो माटो
भाँवर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कन्कड, पत्थरजस्ता खुकूला खस्रा पदार्थ मिली बनेको हुन्छ । मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ । यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ । यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ ।
(ग) रातो फुस्रो माटो
महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ । किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुने हुँदा यस क्षेत्रको माटोको रङ्ग रातो फुस्रो वा पहेँलो हुन्छ । चून, नाइट्रोजन र फोस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती आदि खेती प्रायः गरिँदैन । तर यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुने हुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न यो उपयोगी हुन्छ ।
(घ) तलैया माटो
उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ । माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुने हुदाँ तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन् । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।
(ङ) हिमाली माटो

हिमनदीले थुपारेको माटो, बालुवा, कङ्गड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ । खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ । हावापानी ठण्डा र शुष्क हुने तथा माटोको गहिराइ एवं जैविक पदार्थ कम हुने हुदाँ यसको उर्वरा शक्ति न्यून हुन्छ । यो माटोमा मकै, जौ, आलु, फापरजस्ता बाली मात्र लगाइन्छ ।
Share:

भूमि विभाजन

१.३ नेपालको प्राकृतिक श्रोत र साधनहरू
१.३.१ भूमि
नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपूर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource Mapping Project (१९७८/ ७९) का अनुसार नेपालमा खेतीयोग्य भूभाग १८ प्रतिशत रहेको उल्लेख गरिएको छ । नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था
रैकर भूमि
रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो । रैभन्ने शब्दले राज्य र करभनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको भूमिलाई भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ ।
विर्ता भूमि
कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई बृत्तिस्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ । नेपालमा विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश विर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्ता, युद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवटविर्ता भनिन्थ्यो । राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा वितरण भएको थियो । वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो ।
गुठी भूमि
कुनै विषेश सार्वजनिक वा सामुहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको गोष्ठीबाट भएको हो । यसको अर्थ परिषद्भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा
गुठीको रूपमा रहेका छन् । नेपालमा विशेष गरी पशुपतिनाथ, जयबागेश्वरी, रामजानकी मन्दिर जस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा निर्देशन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ ।
किपट भूमि

नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान गर्नुपर्दथ्यो । यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.स. २०२१ मा भूमिसुधार लागू भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो ।
Share:

हावापानीको आधारमा नेपालको विभाजन

१.२.३ हावापानीको आधारमा नेपालको विभाजन
नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।
(क) उष्ण मनसुनी हावापानी (Sub Tropical Monsoon Climate)
अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाँवर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ्ग, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
(ख) न्यानो समशीतोष्ण हावापानी (Warm Temperate Climate)
चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ । गृष्म ऋतुमा तापक्रम २४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठण्डा समशीतोष्ण हावापानी (Cool Temperate Climate)
महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भएपनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ) लेकाली हावापानी (Alpine Climate)
नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत, वैशाख, जेठमा १०० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतिपाती हुदैन तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) ध्रुवीय वा हिमाली हावापानी (Tundra Climate)

हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मि.(१६०००फिट) भन्दा माथिको भूभागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहुदाँ यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages